+
+
सूर्य दर्शन सहकारी प्रकरण :

महेन्द्र भोटे र भविश्वर कारागार चलान

अमृत सुवेदी अमृत सुवेदी
२०८० पुष १८ गते १७:२६

१८ पुस, पोखरा । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका थिए ।

मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

पोखरामा गितेन्द्र (जीबी) राईको समूहले खोलेको सूर्य दर्शन सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटे सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेको सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पनि सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिकाको प्रवक्ता समेत रहेका र वडा नम्बर ७ मा माओवादीबाट निर्वाचित अध्यक्ष समेत हुन् । जीबीको समूहले पोखरामा २०६५ साल असार १ गते तदर्थ समिति गठन गरी सूर्य दर्शन सहकारी खोलेका थिए ।

सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापक समेत रहेका थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ अझै फरार छन् । लेखा अधिकृत सृष्टि मानन्धर, लोन अधिकृत बुद्धि गुरुङ पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।

महेन्द्र भोटे एक कार्यकाल सञ्चालक समिति सदस्य र एक कार्यकाल लेखा समिति सदस्य थिए । अर्याल पनि एक कार्यकाल लेखा समिति सदस्य थिए । महेन्द्र र जीबीको समूहले पोखरामा व्यावसायिक साझेदारी समेत गरेका छन् । उनीहरुको लगानीमा पोखरामा डिस्को समेत खोलेका थिए । उनीहरुकै साझेदारीमा पोखरामा अर्को डिस्को खोल्ने तयारी थियो।

भविश्वरको ठूलो कारोबार नदेखिए पनि शिवबहादुर (महेन्द्र)ले कर्मचारी पेस्कीका नाममा करिब ५ करोड रुपैयाँ र सहकारीको भवन समेत उनकै नाममा रहेको खुलेको छ ।

महेन्द्र अहिले एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव हुन् भने गत स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीति र व्यवसायमा छिरेका महेन्द्रले पछिल्लो समय राजनीति र व्यवसायलाई सँगसँगै लगिरहेका थिए ।

महेन्द्रले पोखरामा ओजन डिस्कोपछि ट्रेजर बार हुँदै होटल र रेस्टुरेन्टमा समेत लगानी गरेका छन् । महेन्द्र पोखराको चर्चित ग्रुप लालीगुराँस (एलजी ग्रुप)मार्फत गुण्डागर्दीमा सक्रिय थिए । उनलाई प्रहरीले माेस्ट वान्टेड सूचीमा समेत राखेको थियो ।

युवा संघको तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय उपमहासचिव बनेका महेन्द्रलाई एमालेका नेताहरुको साथ छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीदेखि महेश बस्नेत, राजीव पहारीसम्मको संरक्षण पाएका महेन्द्रलाई पक्राउ पुर्जी जारी नगर्न युवा संघका नेता बस्नेत नै पोखरा आएका थिए ।

उनले कास्की प्रहरी प्रमुख एसपीलाई समेत भेट गरी सहजीकरण गरिदिन भनेका थिए तर प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि महेन्द्र फरार थिए । उनलाई एमालेकै नेताहरुले लुकाएको बचतकर्ताहरुले आरोप लगाए पनि कास्की प्रहरी प्रमुख एसपी थापाले भने उनी फरार भएर भारतबाट लुक्दै कास्की आएर उपस्थित भएको बताए ।

२०७१ फागुन २२ गते जिल्ला कास्की पोखरा ६ लेकसाइडस्थित महेन्द्र भोटे आफैंले सञ्चालन गरेको ओजन कम्प्लेक्स एण्ड डान्स बारमा झै-झगडा र कुटपिट भएको थियो । सोही क्रममा डिउटीमा खटिएका प्रहरी जवान भीमबहादुर रानामाथि टाउकोमा रड प्रहार गरी घाइते भएको प्रहरीले नै उपलब्ध गराएको सूचनामा छ ।

त्यतिबेला बाउन्सरलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो भने डान्स बार सञ्चालक भोटेलाई सार्वजनिक अपराध मुद्दामा केही दिन हिरासत बसेपछि छुटेका थिए । जीवी समूह पोखरा आएदेखि नै उनीहरुको उठबस सुरु भएर व्यावसायिक साझेदारी सुरु गरेका उनी निकटहरु बताउँछन् ।

जिल्ला अदातलमा दर्ता भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ऐनको दफा १२२ (घ), (ङ), (च), (छ), (ज) र (त) अनुसारको कसूरमा दफा १२४ (घ) र घ (६) अनुसार बिगो बमोजिम जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्य दर्शनबाट जीबी समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको छ । प्रहरीले गत साउन ३२ गते सूचना जारी गरेपछि भदौ १५ गतेसम्म १ हजार ३६ जना बचतकर्ताले उनीहरु विरुद्ध जाहेरी दिएका थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?