+
+

सातामा ३ दिन सदन र ३ दिन संसदीय समिति चलाउने सभामुखको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १८:२६

१९ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय क्यालेण्डर बनाउने गृहकार्य अघि बढाएका छन् ।

प्रारम्भिक क्यालेण्डर बनाएरै सभामुख घिमिरेले बुधबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका थिए । बिहीबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग छलफल गरेका छन् ।

हप्तामा तीन दिन प्रतिनिधिसभाको बैठक र तीन दिन संसदीय समितिको बैठक गर्नेलगायतको प्रस्ताव गरिएको छ । बढीमा एक महिनाको क्यालेण्डर बनाउने र त्यसपछि आवश्यकता अनुसार परिमार्जन गरेर जान सकिने गरी संसदीय क्यालेण्डर बनाउने गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ । शून्य समय, विशेष समयलाई व्यवस्थित गर्नेदेखि विधेयकमाथिको छलफलको विषयलाई पनि क्यालेण्डरमै राख्ने तयारी छ ।

प्रतिनिधि सभा नियमावली २०८० मा संसदीय क्यालेन्डरको विषय समावेश छ । नियमावलीको नियम २५५ मा यससम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘सभाले सुव्यवस्थित ढंगले कार्यसम्पादन गर्ने सम्बन्धमा कार्यतालिका बनाई लागू गर्न सक्नेछ ।’

यसअघि संसदको वर्षे अधिवेशन अन्त्य हुने अघिल्लो दिन १४ वैशाख २०८० मा पनि सभामुखले संसदीय क्यालेण्डरको विषयमा राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार त्यसबेला सभामुख घिमिरेले संसदको चालू अधिवेशन अन्त्य हुनु अघिल्लो दिन सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा समेत बजेट अधिवेशनदेखि संसदीय क्यालेण्डर लागू गर्नुपर्ने बताएका थिए ।

संसद सचिवालयका अनुसार सभामुख घिमिरेले सुरुदेखि संसदीय क्यालेण्डर लागू गर्ने विषयमा चासो राख्दै आएका छन् । सुरुवात गर्ने र अभ्यासमा गएपछि त्यसका सफ्ठेरा र अफ्ठेराहरु विषयहरु पहिचान गरी सुधार गर्दै लैजाने सभामुख घिमिरेको भनाइ रहँदै आएको छ ।

राजनीतिक दलहरुका बीचमा हुने बेमेलले संसदीय क्यालेण्डर लागू गर्न हुन सक्ने अवरोध र त्यसलाई चिर्न अपनाउन सकिने उपायका विषयमा समेत सभामुख घिमिरेको चासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?