
२० पुस, बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले बुटवलको जितगढी किल्ला राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल रहेको बताएका छन् । ठूला साम्राज्यसँग नेपाली सेनाको बहादुरीले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी जीतगढी किल्ला भएको राष्ट्रपतिले उल्लेख गरे ।
जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो किल्लालाई आगामी दिनमा नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको संरक्षण र प्रवद्र्धनमा चासो बढाउन बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई आग्रह गरे ।
जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र मानेर आसपासका पर्यटकीय क्षेत्रलाई एउटै सर्किटमा जोड्न आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।
जीतगढीलाई नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको राष्ट्रपति पौडेलले औंल्याए ।
‘तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिनेछ’ राष्ट्रपति पौडेललेले भने,’यसका लागि अब बुटवल उपमहानगरपालिकाको विशेष भूमिका निर्वाह गर्नेछ ।’
तिनाउ नदीको तटमाअवस्थित चुरे पहाडको काखमा पहाड र तराईको सङ्गमस्थल तथा प्रसिद्ध व्यापारिक केन्द्रको रुपमा रहेको बुटवललाई आर्थिक केन्द्रका रुपमा विकसित गर्ने र बुटवलसहितका नगरहरूलाई जोडेर मेघासिटी बनाउने चाहना पूरा हो भन्ने शुभकामना राष्ट्रपति पौडेलले व्यक्त गरे ।
किल्लाको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि बुटवल उपमहानगरले योजना बनाएको भन्दै राष्ट्रपतिले प्रशंसा गरे ।
प्रतिक्रिया 4