
२० पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लिबहादुर चौधरीले केन्द्र सरकारको कारण संघीयता कार्यान्वयनमा ढिलाई भएको गुनासो गरेका छन् ।
बुटवलको ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजित समारोहमा बोल्दै मुख्यमन्त्रीले संविधानका संरक्षक राष्ट्रपति भएको दोहोर्याउंदै संविधान अनुसार संघीयता पूर्ण कार्यान्वयन नभएको गुनासो गरे ।
‘केन्द्र सरकारले संघीय कानून नबनाउने,प्रदेशको अधिकार दिनै नखोज्ने प्रवृत्तिले संघीयताप्रति वितृष्णा पैदा भएको छ’ मुख्यमन्त्री चौधरीले भने, ‘संविधानको संरक्षकको काम संविधान कार्यान्वयन गराउने पनि भएकाले राष्ट्रपति ज्यूको ध्यान जाओस् ।’
चौधरीले जितगढी किल्लाको संरक्षणका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताए । किल्ला हस्तान्तरणपश्चात नगर प्रमुख खेलराज पाण्डेयले जितगढीलाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रुपमा विकास गर्ने बताए ।
उनले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पूरातत्व विभागको थप सहयोगको खाँचो रहेको बताए ।
समारोहमा इतिहासविद निर्मल श्रेष्ठले जितगढी किल्लाको इतिहासबारे जानकारी गराएका थिए । त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले जितगढीको विकासका लागि थालेका प्रयासबारे जानकारी गराएकी थिइन् ।
बुटवल नगरपालिकाको वडा नं १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ । जितगढीमा विसं १८७२ बैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो ।
सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका रुपमा मनाउँदै आएको छ ।
प्रतिक्रिया 4