+
+

डेढ वर्ष बित्दा पनि सुरू भएन बस बिसौनीमा ‘फल्चा’ बनाउने बालेनको योजना

अमृत चिमरिया अमृत चिमरिया
२०८० पुष २० गते १७:५४

२० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘स्टन्ट’ का काम गर्न औधी रुचाउँछन् । क्षणभरमै ‘वाहवाही बटुल्ने’ तर दिगो नहुने काममा उनको बढी ध्यान जाने गरेको छ ।

तर, आफैंले बनाएको बजेटमा उल्लेख भएका विकास निर्माणका काम सुरु गर्न भने मेयर बालेनलाई खासै तातो लागेको देखिँदैन । यद्यपि, ती महानगरवासीको सुविधाको विषय किन नहोस् ।

चुनाव जितेर आएपछि सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९/८० को पहिलो नीति तथा कार्यक्रममा उनले काठमाडौं महानगरभित्रका बस स्टपहरूमा प्रतिक्षालयका रुपमा ‘फल्चा’ निर्माण गर्न विभिन्न संघसंस्थालाई प्रोत्साहित गर्ने उल्लेख छ ।

‘काठमाडौंका बस स्टपहरूमा फल्चा निर्माण गर्न महानगर आफैंले पनि लगानी गर्नेछ,’ त्यसबेला मेयर बालेनले घोषणा गरेका थिए, ‘बस स्टपहरूमा परम्परागत फल्चा निर्माण गर्ने छौं ।’

उनले जे घोषणा गरे पनि गत आर्थिक वर्षको बजेटमा ‘वडा नम्बर २२ मा ५० लाख रुपैयाँ बराबर लगानीमा बस बिसौनी राख्ने’ भन्ने अनुच्छेद मात्रै परेको थियो । तर, निर्माणको काम भने अहिलेसम्म सुरु हुन सकेको छैन ।

बस स्टपहरूमा परम्परागत शैलीका फल्चा निर्माण गर्ने योजनासहित कतिपय ‘चर्चित’ कार्यक्रमलाई यति र उति बजेट विनियोजन गरिएको छ भनेका बालेनले हालसम्म त्यस्ता अधिकांश योजना कार्यान्वयनमा लान सकेका छैनन् ।

फल्चा निर्माणमात्र होइन, मेयर बालेनले गत आर्थिक वर्षको बजेटमा एम्पी थिएटर निर्माण गर्ने र डबलीहरू पुनः निर्माण गर्ने घोषणा पनि गर्न भ्याएका थिए । ती पनि घोषणामै सीमित छन् ।

काठमाडौं महानगरले २०७९/८० मा कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । तर, काठमाडौंले आर्थिक वर्ष सकिँदा ९ अर्ब १६ करोड ३३ लाख ७२ हजार रुपैयाँ मात्रै खर्च गर्न सकेको थियो ।

गत वर्ष बजेट निर्माण परम्परागत शैलीमा भएको महानगरले जनाएको थियो । नयाँ जनप्रतिनिधि आइसकेपछि बजेटका लागि पर्याप्त समय नपाएको गुनासो गरेका महानगर प्रमुख बालेनले चालु आर्थिक वर्ष २०८०÷८१ मा पुराना योजनालाई कार्यान्वयनमा लैजाने तयारी गरेर बजेट विनियोजन गरेको बताएका छन् ।

फल्चा बनाउन चालु वर्ष ५ करोड बजेट

मेयर बालेनले बस स्टपमा परम्परागत फल्चा निर्माण गनै चालु आर्थिक वर्ष आन्तरिक स्रोतबाट खर्च गर्ने गरी सम्पदा तथा पर्यटन विभागअन्तर्गत सम्पदा पूर्वाधार शीर्षकमा ५ करोड बजेट विनियोजन गरेका छन् ।

तर, फल्चा निर्माणका काम कहिलेबाट सुरु हुन्छ भन्ने यकिन मिति सायद मेयर बालेनलाई पनि छैन ।

काठमाडौं महानगरपालिका सार्वजनिक निर्माण महाशाखाका अनुसार अहिले फल्चा डिजाइन अन्तिम चरणमा पुगेको छ ।

‘परम्परागत पाटी, सत्तल वा फल्चा जे भन्दा पनि हुन्छ । अहिले डिजाइन फाइनल भइसकेको छैन, तर लगभग तयारी अन्तिम चरणमा छ,’ महाशाखाका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘बस बिसौनीको फल्चामा इन्टरनेट सेवासमेत उपलब्ध हुने भौतिक पूर्वाधार बनाउँछौं ।’

महानगर सम्पदा तथा विकास समिति संयोजक रहेका वडा नम्बर ८ अध्यक्ष आशमान संगतले फल्चा निर्माण सुरुवातको कामको अन्तिम तयारीमा रहेको बताए ।

‘स्थान र आवश्यकता हेरेर फल्चा बनाउने विषयको अन्तिम तयारी भइसकेको छ । यतिन्जेल किन सुरु नभएको भन्दा पनि यसपटक बजेट कार्यान्वयनकै चरणमा रहेकाले अब सुरु हुन्छ,’ संगतले भने ।

झिंगटीको छानो राखेर फल्चा बनाइने भएकाले स्थान हेरेर आकार तय हुने उनको भनाइ छ । ‘काठको पेटीजस्तो हुन्छ, यसमा केही इँटा पनि प्रयोग हुन्छ । परम्परागत शैलीमा निर्माण गर्ने छौं,’ उनले भने ।

महानगर सडक पूर्वाधारमा काम गरिरहेका इन्जिनियर प्रशान्त पोखरेलले यो वर्ष बजेटअनुसार काम सुरु हुने दाबी गरे ।

महानगरपालिकाले फल्चा डिजाइन गरेर अन्तिम बनाइसकेको उनको भनाइ छ । चालु आर्थिक वर्षभित्रै महानगरका १३ बस स्टपमा परम्परागत फल्चा बन्ने उनले बताए ।

‘यसपालिको बजेटअनुसार फल्चा बनाउने अन्तिम तयारी गरिसकेका छौं । एउटा बनाउन औसत ५० लाख रुपैयाँ लाग्छ । सोहीअनुसार बनाउने छौं,’ पोखरेलले भने ।

उनका अनुसार यो वर्ष मुख्य भीड हुने र प्रमुख स्थान छनौट गरेर फल्चा निर्माण सुरु हुनेछ । ‘महानगरअन्तर्गतका केही प्रमुख ठाउँमा यसै वर्ष फल्चा बनाउँछौं,’ पोखरेलले भने, ‘कतिपय फल्चा चक्रपथ (रिङरोड) क्षेत्रमा पर्छ, चक्रपथ विस्तार नहुँदा त्यता तत्काल बनाउन सक्ने अवस्था छैन ।’

महानगरले गरेको अध्ययनअनुसार २ सय ६४ स्थानमा बस बिसौनी छन् । ‘महानगरको योजना त भएजति बस बिसौनीमा फल्चा बनाउने हो, तर व्यावहारिक रूपमा कति ठाउँमा आवश्यक पर्छ त्यहाँमात्र फल्चा बन्छ,’ उनले भने, ‘फल्चाको बाहिरी भागमा काष्ठकला रहने छ भने भित्री भागमा यात्रुले सवारीसाधन कुर्दा बस्ने मेच, डेस्क, उभिने ठाउँ हुनेछन् ।’

बस बिसौनीको भौतिक पूर्वाधारबाहेक सडक सुरक्षामा भने महानगरपालिकाले धेरै योजना तत्काल लागू हुने जनाएको छ ।

‘भौतिक पूर्वाधारमा फल्चासहित धेरै योजना छन्, तर तत्काल बस बिसौनीमा मार्किङ, आवश्यक पर्ने ट्राफिक चिह्न राख्ने तयारी छ,’ काठमाडौं महानगरपालिका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले भने ।

महानगरले फल्चा निर्माण छिट्टै सुरु गर्नुपर्छ : टण्डन

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा. गोविन्द टण्डन महानगरले ल्याएका राम्रा योजनामध्ये बस बिसौनीमा फल्चा निर्माण एक भएकाले छिटै सुरु गर्नुपर्ने बताउँछन् ।

‘काठमाडौं महानगरले ल्याएको बस बिसौनीमा फल्चा बनाउने योजना तत्काल सबैतिर बनाउन नसके पनि केही नमूना बनाएर सुरु गर्नुपर्छ,’ टण्डनले भने, ‘यसले मानिसहरूको प्रतिक्रिया पनि थाहा हुन्छ र अर्को उपयोगिता कति हुन्छ भन्ने पनि देखाउँछ ।’

उनका अनुसार फल्चा ऐतिहासिक र बहुउपयोगी भौतिक संरचना हुन् । ‘फल्चा भनेको घाम पानि छेक्ने, विश्राम स्थल, वृद्धवृद्धा जमघट भएर गफ गर्ने स्थानका रूपमा बुझिन्छ,’ उनले भने, ‘यसलाई काष्ठकलाले भरेर बस बिसौनी बनायो भने धेरै कुरामा लाभ प्राप्त हुन्छ ।’

टण्डनका अनुसार महानगरले फल्चा निर्माण गर्दा बस बिसौनीमा कुर्ने स्थान, ऐतिहासिक धरोहर संरक्षण हुनेछ ।

काठमाडौंमा सडकछेउ ओत लाग्ने स्थानकै कमी भएका बेला यस्ता फल्चाले ठूलो मद्दत गर्ने टण्डनले बताए ।

‘अहिले फाइबर हालेर बनाएको कुचुक्क ठाउँ छ, त्यो पनि बस्ने स्थान छैन । यस्तोमा फल्चा बनाउँदा दैनिक हजारौंलाई सेवाको अनुभूति हुन्छ,’ उनले भने ।

पाटन, कीर्तिपुर र भक्तपुरमा अझै जीवन्त रहेका फल्चाको दैनिक आवश्यकताअनुसार प्रयोगसहित संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?