
२० पुस, काठमाडौं । नेकपा एमालेले भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले भारतसँग गरेका सहमति र सम्झौताबारे स्पष्ट पार्नुपर्ने माग गरेको छ ।
एमाले सचिवालयको शुक्रबार बसेको बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टी महासचिव शंकर पोखरेलले के विषयमा छलफल भयो र सम्झौता भए भन्ने सत्ता पक्षले प्रतिपक्षसँग परामर्श नगरेको कुराप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको बताए ।
‘राष्ट्रियतका प्रश्नहरूमा सत्ता पक्षले प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै काम गर्नुपर्नेमा कुनै परामर्श नगरिएको र सम्झौताबारे पनि स्पष्ट नभएकाले आलोचना गर्दै सहमतिका विषय स्पष्ट गर्न माग गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने ।
नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने गरी कुनै काम गर्ननहुने उल्लेख गर्दै उनले भने, ‘वैदेशिक सहायता नेपालको बजेटरी प्रणालीभित्र हुनुपर्छ भन्ने एमालेको मान्यता छ ।’
प्रतिक्रिया 4