+
+
शब्द-श्रद्धाञ्जली :

सम्झनामा गोकुल सर

पोखरेलसँगै छुटाउनु नहुने अर्को नाम हो, भारतदत्त कोइराला । पोखरेल र कोइरालाको यो जोडी नै नेपाली पत्रकारिता विकासको बाँझो फोर्ने एक हल हो ।

भवानी बराल भवानी बराल
२०८० पुष २१ गते २०:१५

नेपाली पत्रकारिताका मूर्धन्य हस्ताक्षर गोकुल पोखरेलको पुस १६ गते ८७ वर्षको उमेरमा निधन भयो । नेपाली पत्रकारितामा छुट्टै छाप छोड्न सफल पोखरेल निधनको खबर सनसनीपूर्ण भने थिएन, भएन ।

पोखरेलले कुनै समय नेतृत्व गरेको सरकारी र मूलधार भनिएका सञ्चारमाध्यमले निधनको खबरलाई औपचारिकता दियो तर प्राथमिकता दिएको पाइएन । एक त उमेरको हदले पनि मृत्युको खबरले समाचारीय मूल्य नबोकेको हुनसक्छ । मृत्युको खबर ‘स्तब्ध’ वा ‘असामयिक’ हुने हदको थिएन । दोस्रो नयाँ मिडिया सञ्चालक र सञ्चारकर्मीले पोखरेलको योगदान र मूल्य नबुझेको हुनसक्छ । तेस्रो पोखरेल कुनै दलविशेषको आज्ञाकारी समर्थक पनि थिएनन् । चौथो नेपाली समाजको समवेदनाले कतातिर छलाङ हान्दैछ भन्ने कुराले पनि घर गरेको हुनसक्छ ।

नेपाली पत्रकारिताको विकासमा निरन्तर, कठोर, मिहिनेत र दृढता प्रस्तुत गरेका पोखरेलको ऐतिहासिक योगदानको अभिलेख सञ्चारमाध्यममा छायाँमा परेको महसुस हुन्छ ।

पोखरेल प्रवृत्ति

नेपाली पत्रकारको साङ्गोपाङ्गो अध्ययन गर्ने हो भने अनेक प्रवृत्ति बीच पोखरेलको फरक प्रवृत्ति भेटिन्छ । हुनत, हरेक विधामा धेरैले आफ्नो छुट्टै पन वा हर्कत गरेर एकल प्रवृत्ति बनाएका हुन्छन् । नेपाली पत्रकार र पत्रकारिता यो मामिलामा अछुतो रहने कुरै भएन ।

पोखरेलले पत्रकारिता प्रवेश गरेको कालखण्डको हिसाबले बन्द समाज थियो । विचार अभिव्यक्तिको स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रता बन्दाबन्दीको समयमा सरकारी छापामाध्यममा गरिएको पत्रकारिता र खुल्ला आकाशमा गरिएको पत्रकारितामा अवश्य भिन्नता हुन्छ ।

यद्यपि पोखरेलले गोरखापत्रमा छँदा बीपी कोइरालाको मृत्यु प्रकरणमा देखाएको साहसिकता प्रवृत्तिगत मिसाल हो । पत्रकारितामा इमान र जवाफदेहिता पाठकको सत्य-तथ्य सूचना पाउने हकसँग अन्तरसम्बन्धित हुन्छ । यही प्रतिनिधिमूलक घटनालाई उद्धरण गर्दा पनि उनी अब्बल पत्रकार थिए र मूल्याङ्कन, अभिलेखनयोग्य थिए ।

गोरखापत्रको यतिका वर्ष सम्पादक रहेकाको नाम कुनै पत्रकारिताको विद्यार्थीलाई खरर्र लिन कठिन हुन्छ । तर गोरखापत्रका पूर्व सम्पादकहरूको नाम हाजिरीजवाफमा सोधियो भने गोकुल पोखरेल र भारतदत्त कोइरालाको नाम चैं मुखाग्र आउँछ । यही नै फरक प्रवृत्तिको मानक हो ।

पोखरेलसँगै छुटाउनु नहुने अर्को नाम हो, भारतदत्त कोइराला । पोखरेल र कोइरालाको यो जोडी नै नेपाली पत्रकारिता विकासको बाँझो फोर्ने एक हल हो । मोफसलको छापामाध्यमलाई उच्च प्रविधिसँग जोड्ने, एकाकार र अभ्यस्त बनाउने श्रेय यो एक हल जोडीलाई जान्छ ।

पोखरेल र कोइराला नेतृत्वको संस्था ‘नेपाल प्रेस इन्स्टिच्युट’ले नेपाली पत्रकारिताको विकासमा देखाएको भूमिका नै आजको पत्रकारिताको प्रस्थानविन्दु थियो । यसमानेमा मोफसलीय पत्रकारिताको विकासमा पोखरेल र कोइरालालाई चाहेर पनि नजरअन्दाज गर्न सकिन्न । तर आजको पत्रकारितामा मोफसलले पनि पोखरेलको योगदानलाई दिल खोलेर सम्झन सकेन । यसले पत्रकारिताको पुराना नयाँ पुस्तान्तरणका छिद्र पनि टाढिएको थाहा लाग्छ ।

पत्रकारितामा जीवन
२६ वर्षको लक्का तन्नेरी उमेरबाट पत्रकारितामा प्रवेश गरेका पोखरेल जीवनपर्यन्त पत्रकारिताको उन्नयनमा लागे । करिब ३० वर्ष सरकारी सञ्चारमाध्यमको नेतृत्व गरे । सरकारी छापामाध्यम गोरखापत्र (नेपाली) र राइजिङ नेपाल (अंग्रेजी) पत्रिकाको सम्पादन गरे । नेपाली र अंग्रेजी भाषामा उत्तिकै कलम चलाउने पोखरेल पत्रकारिता शिक्षाका संस्थापक अध्यापक पनि हुन् । राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र, राइजिङ नेपाल, मधुपर्क, मुना पत्रिकाको सम्पादनमा नेतृत्वदायी खुबी देखाए ।

फ्रान्सिसी समाचार संस्था, प्रेस ट्रष्ट अफ इण्डिया -पीटीआई) लगायतको न्युज एजेन्सीको अध्ययन अनुभव बटुले । यसकारण पोखरेल नेपाली पत्रकारिता विकासको सन्दर्भ सामग्री हुन् । २०४१ सालमा नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) स्थापना गरेर दक्ष पत्रकारको उत्पादनमा भूमिका खेले । डेनिस सहायता निगमबाट प्राप्त आर्थिक सहयोगलाई ‘मिडिया विकास कोष’ बनाएर संस्थागत गरे । चाहेको भए यो कोष आफ्नै प्रेस इन्स्टिच्युटमा राख्न सक्थे तर उनले यो कोषको स्थायित्वको लागि सरकारी स्वामित्वको प्रेस काउन्सिलको जिम्मा लगाए ।

प्रेस इन्स्टिच्युटलाई सञ्चार केन्द्रको नाममा पूर्वाञ्चल र पश्चिमाञ्चलमा विस्तार गरे । यिनै सञ्चार केन्द्र मातहत मोफसलको पत्रकारितामा सेवा विस्तार भयो । पत्रकारको सीप, दक्षता, क्षमता अभिवृद्धिका अनेकानेक कार्यक्रम केन्द्रमार्फत सञ्चालित भए । क्षेत्रीय र स्थानीयस्तरमा अनगिन्ती आधारभूत, एड्भान्स पत्रकारिता तालिम, गोष्ठी, सेमिनारहरू भए । फिचर लेखमाला उत्पादन र वितरण गरियो ।
समग्रमा राज्यस्तरबाट हुने पत्रकारिताको विकासमा भन्दा कता हो कता बढी योगदान दिने संस्था नेपाल प्रेस इन्स्टिच्युट हो । कुनै समय यस्तो थियो विश्वविद्यालयमा पत्रकारिता पढेका विद्यार्थी भन्दा प्रेस इन्स्टिच्युटमा तालिम लिएका पत्रकारहरू दक्ष त हुन्थे नै, तत्कालीन पत्रकारितामा छाएका पनि थिए ।

गोकुल सर : छविलाल गुरु

धनकुटा जिल्ला सदरमुकामबाट बिब्ल्याँटो फर्कियो भने कचिंडे भन्ने गाउँ आउँछ । त्यही कचिंडे गाउँमा विसं १९९३ मा जन्मेका गोकुल पोखरेलले पत्रकारितामा उल्लेख्य योगदान गरे । पूर्वीय दर्शनका प्रख्यात विद्वान् तथा समाज सुधारक पण्डित छविलाल पोखेरलका आधा दर्जन बढी छोराछोरी मध्ये गोकुल माइला छोरा हुन् । तर यिनको कद भने छविलालका बाँकी छोराछोरी भन्दा अग्लो छ ।

यसो त सानो कचिंडे गाउँमा जन्मेका धेरै पोखरेलहरूले जीवनमा केही न केही राम्रो योगदान देशलाई गरेका छन् । डा. रामप्रसाद (वरिष्ठ आँखा रोग विशेषज्ञ), उमानाथ (विद्वान् पण्डित), डा. शिवप्रसाद (आयुर्वेद), जगन्नाथ -जुनार खेती विशेषज्ञ), कृष्ण र राजेन्द्र (कृषि), शिक्षणमा विद्यानाथ, उपेन्द्र, दिवाकर, राजनीतिमा दुर्गा, मोहन लगायत कचिंडेका प्रतिनिधिमूलक पोखरेलहरूमा उल्लेख्य नाम हो ।

खुदै पण्डित छविलालका आधा दर्जन बढी छोराछोरीमा डा. गोविन्द, स्वयम् गोकुल, इन्जिनियर गणेश र अलग धार्मिक अभियानका रुद्राक्ष बाबा मुकुन्द पोखरेल पनि छन् । बाहुनको पोखरेल थरमा पानी र दूध पोखरेल नाममा अलग गोत्र छ । दुई पोखरेलबीच कुटुम्बेरी पनि चल्छ । कचिंडेका पोखरेलहरू पानी पोखरेल हुन् । नाम अनुसार नै यिनले धेरै विधामा पानी-पानी बनाएका छन् । त्यसको छुट्टै चर्चा गर्नु मनासिब हुन्छ ।

छविलाल पोखरेल पूर्वीय दर्शनका ज्ञाता समाज सुधारक त हुँदै हुन् । संस्कृत साहित्य, दर्शनका प्राध्यापक तथा प्रजातान्त्रिक आन्दोलनका सेनानी पनि हुन् । पूर्वाञ्चलको शैक्षिक अभियानमा पण्डित छविलाल बिर्सन नसकिने पात्र हुन् । छुवाछूत विरुद्धको समाज सुधारमा नलिई नहुने नाम हो ।

बाहुनलाई लसुन, प्याज, टमाटर उपयोग गर्न तर तास, जुवा छोड्ने असल सल्लाह दिने उनै हुन् । डा. स्वामी प्रपन्नाचार्य (काले राई) को सहयोगमा प्रकृतिपूजक किरातीहरूलाई जनै भिराउने काम बाहेक यिनले जीवनमा अन्यथा गलत गरेनन् । समाज सुधारका अनेकानेक काम गरेर पण्डित छविलाल गुरु भएर प्रख्यात भए । यता उनका माइला छोरा पत्रकारिताका गोकुल सर भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?