
काठमाडौं । सितारवादक तथा सुकर्म सांगीतिक ब्याण्डका अध्यक्ष प्रा. डा. ध्रुवेशचन्द्र रेग्मीको खोज, अनुसन्धान र लेखनका दुई पुस्तक ‘नेपाली संगीत दरबार’ र ‘म्युजिक, मिफ एण्ड मेलोडी’ सार्वजनिक भएका छन् ।
काठमाडौंमा आयोजित समारोहमा प्राध्यापक डा. अभि सुवेदी, वरिष्ठ संगीतकार प्रा. दीपक जंगम, प्राध्यापक डा. वीणा पौड्याल र गायक डा. लोचन रिजालले संयुक्त रूपमा लोकार्पण गरे ।
‘संगीतको उत्पत्ति, सामवेददेखि लिएर राजामहाराजाहरू हुँदै संगीत कसरी आजको समयसम्म आइपुग्यो भन्ने इतिहास पुस्तकमा छ,’ विमोचनपछि बोल्दै प्रा. डा. अभि सुवेदीले भने, ‘त्यति मात्रै होइन, हाम्रो संस्कृति, धर्म, समाज र व्यवहारिकतासँग जोडिएको विषय संगीतलाई यसरी अभिलेखीकरण गर्नु हाम्रो ठूलो प्राप्ति हो ।’
संगीतकार दीपक जंगमले भने, ‘संगीत विषयको अभिलेखीकरणले पाठक, अनुसन्धाता र संगीत तथा संस्कृतिको विषयमा अभिरुचि राख्नेलाई सहयोग पुग्नेछ । राज्यबाट कोरा मनोरञ्जनका रूपमा मात्रै हेरिंदै आएको विषयमा विषद पुस्तक लेखिनु आफैंमा गौरवको कुरा हो ।’
गायक लोचन रिजालले छिमेकी मुलुकले संगीतबाट राष्ट्रिय आएमा ठूलो योगदान दिइरहेको अवस्थामा नेपाली कलाकार अझै पेशागत रूपमा सम्मानित हुन नसकेको बताए । ‘यो पुस्तकले संगीतसँग जोडिएको हाम्रो इतिहास मात्रै भन्दैन । हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक र कलाका वैभवका बारेमा पनि जानकारी दिन्छ र हामी कलामा कति सम्वृद्द थियौं भन्ने दृष्टान्त प्रस्तुत गर्छ ।’
दुवै पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।
प्रतिक्रिया 4