+

हेयरिङ एड : दुई हजारदेखि साढे १२ लाख रुपैयाँसम्म, कसलाई कुन उपयुक्त ? (भिडियो)

२०८० पुष  २३ गते १७:११ २०८० पुष २३ गते १७:११
हेयरिङ एड : दुई हजारदेखि साढे १२ लाख रुपैयाँसम्म, कसलाई कुन उपयुक्त ? (भिडियो)

मान्छेको कानमा आधारभूत भाग हुन्छन्, जसले बाह्य वातावरणबाट आउने आवाजलाई भित्र पठाउँछ र त्यो आवाजलाई सन्तुलित रूपमा कानले सुन्ने गर्छ । तर केही व्यक्तिमा भन्ने कान कम सुन्ने समस्या हुन्छ ।

जसरी आँखा कमजोर हुँदा चश्मा प्रयोग गरिन्छ । यस्तै श्रवणशक्ति कमजोर हुँदा ‘हेयरिङ एड’ श्रवणयन्त्रको प्रयोग गरिन्छ ।

के हो हेयरिङ एड ?

हेयरिङ एड एउटा सानो इलेक्ट्रिक उपकरण हो । यसले वरपरको परिवेशको आवाजलाई बढाएर श्रवणशक्ति कम भएका मानिसलाई आवाज सुनाउन सहयोग गर्छ ।

कसरी काम गर्छ यसले ?

यो मेसिनले बाहिरको आवाजलाई चर्को बनाएर कानभित्र फाल्ने काम गर्छ र सजिलो तथा प्रष्टसँग कुरा सुन्न र बुझ्न सहयोग गर्छ ।

कस्तो अवस्थामा प्रयोग गर्नुपर्छ ?

कोही व्यक्तिको कान कमजोर छ, उसले अरूले बोलेको आवाज राम्ररी सुन्दैन, बुझ्दैन भने के कारणले त्यो समस्या निम्तिएको हो भन्ने कुरा पत्ता लगाउनुपर्छ । त्यसका लागि नाक, कान, घाँटीरोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

हाम्रो कानमा विशेषगरी तीन भाग हुन्छ । बाहिरी भाग, मध्यम भाग र भित्री भाग । यो तीन भागको समन्वयबाट नै हामीले कुनै पनि कुरा सुन्ने गर्छौं । कानको मध्यम भागमा तथा जालीमा समस्या भने पहिले शल्यक्रिया गरिन्छ । शल्यक्रियापछि पनि कम सुनियो भने यसको प्रयोग गर्न सकिन्छ ।

वृद्धावस्थामा कानको भित्री भागका नसाहरू खिइँदै गएर श्रवण शक्ति कम भएको छ, कानको भित्री भागको नसामा समस्या छ भने पनि हेयरिङ एडको प्रयोग गर्ने सल्लाह दिइन्छ ।

जन्मजात कान नसुन्नेलाई पनि उपयोगी हुन्छ ?

जन्मजात फिटिक्कै कान नसुन्ने व्यक्तिका लागि यो उपयोगी नहुन सक्छ । तर अलिअलि मात्र सुन्नेहरूको लागि भने यो उपयोगी हुन्छ । फिटिक्कै कान नसुन्ने व्यक्तिका लागि शल्यक्रिया गरेर नै भित्र र बाहिर नै मेसिन राख्नुपर्ने हुन्छ ।

श्रवणयन्त्र भनेको कान पूरै नसुन्ने र अपांगता भएका व्यक्तिले मात्र लगाउने हो भन्ने गलत बुझाइका कारण मानिसले यसको प्रयोगमा हिच्किचाउने गरेको पाइन्छ । साथै कान नसुन्ने समस्यालाई मान्छेहरू सामान्य रूपमा लिन्छन् जसले गर्दा पनि उनीहरु यसको प्रयोग खासै गर्न खोज्दैनन् ।

श्रवण शक्ति कमजोर हुने समस्या सामान्य होइन । त्यसको कारण उसको दिनचर्या प्रभावित हुन्छ । साथै श्रवण शक्ति कम हुँदा मान्छे एक्लोपनको सिकार हुन्छ र बिर्सने समस्याले पनि सताउँछ ।

हेयरिङ एडका प्रकार

श्रवण यन्त्र ब्याट्रीबाट र चार्ज सिस्टम गरी दुवै विधिबाट चल्ने हुन्छ । श्रवण यन्त्रलाई खास गरी दुई प्रकारमा विभाजन गरिएको छ, एनालग श्रवण यन्त्र र डिजिटल श्रवण यन्त्र ।

एनालग हेयरिङ एडले बाहिरको आवाज चर्को बनाएर सुन्न सहयोग गर्छ । डिजिटल हेयरिङ एडले बिरामीको सुनाइको प्रकार र डिग्रीअनुसार काम गर्छ । यसले सुन्ने क्षमतासँगै कुरा बुझ्न पनि सहज बनाउँछ । कानको पछाडि झुन्ड्याउने, कानमा राख्ने, नदेखिने गरी कानको प्वालभित्रै राख्ने श्रवण यन्त्र पनि पाइन्छ ।

कस्तो हेयरिङ एड प्रयोग गर्ने भन्ने कुरा सुन्ने क्षमता, गम्भीरता, आवश्यकता र जीवनशैलीमा निर्धारित हुन्छ ।

कुनै साइड इफेक्ट ?

एनालग हेयरिङ एडले बाहिरको आवाज चर्को बनाएर सुन्न सहयोग गर्छ । त्यसैले यस्तो यन्त्र प्रयोग गर्ने खासै सल्लाह दिइँदैन । यसले आवाज चर्को बनाएर सुनाउने भएकाले लामो समय प्रयोग गर्दा यसले कानको कोषहरूलाई हानि गर्छ ।

डिजिटल हेयरिङ मेसिनले बिरामीको सुनाइको प्रकार र डिग्रीअनुसार काम गर्छ, त्यसैले यसको केही साइड इफेक्ट हुँदैन । कानको नसा सुक्दै गएका कारण श्रवण शक्ति कमजोर भएको हो भने डिजिटल मेसिनले आवाज दिएर ती नसाहरूलाई सक्रिय पार्छ ।

उदाहरणका लागि जस्तै हाम्रो घरमा स्कुटर छ, त्यसलाई हामीले नचलाइराख्छौं भने त्यसमा खिया लाग्छ, तर चलाइराखियो भने खिया लाग्दैन राम्ररी चल्छ । त्यस्तै कानको नसा कमजोर भएर कम सुनिन्छ, त्यसका लागि केही उपाय अपनाइएन भने त्यो अझै कमजोर हुन्छ । त्यस्तोमा डिजिटल हेयरिङ एडले त्यसलाई चलाएर सक्रिय राख्छ ।

हेयरिङ एडको फाइदा

हेयरिङ एडले कुरा सुन्न र बुझ्न सहयोग गर्छ । यसले भीडभाडमा कुरा बुझ्न समेत सहयोग गर्छ । जन्मजात सुनाइको समस्या भएका बच्चामा श्रवण यन्त्र लगाएर ‘स्पीच थेरापी’ गर्दा भाषा विकास हुन्छ । साथै बुढेसकालमा पनि राम्ररी सुन्न र कुराकानी गर्न सकिन्छ ।

हेयरिङ एड राख्न कति लाग्छ खर्च ?

हेयरिङ एड दुई हजार रुपैयाँदेखि साढे १२ लाखसम्मको हुन्छ । कति मूल्यको हेयरिङ प्रयोग गर्ने भन्ने कुरा सुन्ने क्षमता, गम्भीरता, आवश्यकता र जीवनशैलीमा निर्धारित हुन्छ ।

बजारमा एनालग हेयरिङ एड दुई हजारदेखि १५ हजारमा पाइन्छ भने डिजिटल हेयरिङ एड ३५ हजारदेखि साढे १२ लाख रुपैयाँसम्मको हुन्छ ।

कान सुनाइ हेयरिङ एड
प्रीति चौधरी
लेखक
प्रीति चौधरी
अडियोलोजिस्ट तथा स्पीच ल्याङ्ग्वेज प्याथोलोजिस्ट

चौधरी हाल काठमाडौं नयाँ बानेश्वरस्थित ईएनटी केयर सेन्टरमा कार्यरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय