२३ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले उत्सव ढुंगालनालाई जनरल म्यानेजर नियुक्त गरेको छ । क्यानले सोमबार ढुंगानालाई नयाँ जनरल म्यानेजर नियुक्त गरेको जनाएको छ ।
यसअघिका जनरल म्यानेजर वृतान्त खनालले राजीनामा दिएपछि जनरल म्यानेजर पद खाली थियो ।
जनरल म्यानेजर पदका लागि क्यानले दुई पटक विज्ञापन खुलाएको थियो । जसमा अन्तिम सर्टलिस्टमा परेका ७ जनाबाट ढुंगानालाई नियुक्त गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
पहिलो पटक विज्ञापन खुल्ला गर्दा जनरल म्यानेजरका लागि ७ जनाको नाम सर्टलिस्ट भइसकेको थियो । तर क्यानलेको निर्वाचन पश्चात नयाँ कमिटी आएपछि पुन: उक्त पदका लागि विज्ञापन आह्वान गरिएको हो ।
पहिलो पटकको अन्तिम ७ जना र दोस्रो पटक आवेदन गर्दा ६१ जना गरी कुल ६८ जनाको आवेदन परेको थियो । त्यसपछि १४ जनाको नाम सर्ट लिस्ट गरिएको थियो ।
१४ बाट ११ जना छनोट गरी परिक्षा लिइएको थियो भने त्यसबाट अन्तिम ७ जनाको नाम सर्टलिस्ट गरिएको अध्यक्ष चन्दले जानकारी दिए । ‘हामी काम गर्न सक्ने योग्य व्यक्तित हेरेर छनोट गरेका हौं, राम्रो काम गर्ने विश्वास छ,’ अध्यक्ष चन्दले भने ।
प्रतिक्रिया 4