
२५ पुस, काठमाडौं । सेयर बजारमा यतिबेला धेरै चर्चा हुने कम्पनीमध्ये एक हो– हाथवे इन्भेस्टमेन्ट कम्पनी । यो कम्पनी बढी चर्चामा आउनुको मुख्य कारण हो– अस्वाभाविक मूल्य । अंकित मूल्य ५० रुपैयाँका दरले भदौको तेस्रो साता मात्रै कम्पनीले सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो ।
४ महिनापछि यस कम्पनीको बजार मूल्य १०४० रुपैयाँ पुगेको छ । अझ यो मूल्य १० प्रतिशत बोनस सेयरपछि समायोजित मूल्य हो । अर्थात् ४ महिनाको अवधिमा अंकित मूल्यबाट २०.८ गुणाले बढेको छ । मूल्य बढ्ने क्रमले निरन्तरता पाइरहेको छ ।
आईपीओ सूचीकृतपछि मूल्य ट्रेन्ड
कम्पनीको मूल्य बढ्नुमा मुख्यतः तीन कारण देख्छन् सेयर बजारका जानकार रामहरि नेपाल । फेस भ्यालू ५० रुपैयाँ भए पनि लगानीकर्ताले १ सय नै ठान्ने गरेको र त्यसले लाभांशमा पर्ने असरबारे जानकारी नहुनु एउटा कारण रहेको उनले बताए ।
अर्को कम्पनीमा ‘भीडतन्त्र’ बढेको उनको भनाइ छ । ‘१-२ दिन उच्च दरले मूल्य बढेपछि भीड नै त्यतातिर लाग्छ, भीडले जोखिम र प्रतिफलभन्दा पनि मूल्यवृद्धिलाई हेर्छ, भीड बढेपछि फेरि मूल्य बढ्छ, त्यहीं चक्रमा यो कम्पनी परेको छ ।’
समग्र बजार बढ्दा कमजोर स्तरका कम्पनीको मूल्य पनि बढ्ने गरेको उनले बताए । ‘यहाँ अध्ययनभन्दा पनि फलानो कम्पनीको मूल्य यति धेरै बढिरहेको छ, यहीं कम्पनी किन्यो भने छोटो अवधिमै नाफा कमाइन्छ भन्ने सोच भीडले बोक्ने गरेको छ’ उनले भने ।
कम्पनीको कारोबारमा आउने सेयर संख्या न्यून हुनुले पनि मूल्यमा असर परेको उनले बताए । कम्पनीले सर्वसाधारण समूहमा जम्मा २९ लाख २५ हजार कित्ता मात्रै सेयर जारी गरेको हो । यसमध्ये पनि धेरै सेयर कारोबारमा आउँदैन । सामान्यत दैनिक १ लाख कित्ता हाराहारीमा कम्पनीको सेयर कारोबारमा आउने गरेको छ । मंगलबार जम्मा ८६ हजार ६३४ कित्ता सेयर मात्रै किनबेच भएको छ । कम्पनीको कुल सूचीकृत सेयर संख्या २ करोड ५७ लाख ४० हजार रहे पनि संस्थापक समूहको सेयरमा लकइन अवधि छ ।
मूल्य उचालिँदै जाँदा कम्पनीको सेयर जोखिमपूर्ण बनेको छ । बजार बढ्दा त्यसले कमजोर स्तरका कम्पनीको मूल्य स्वाभाविक रुपमा बढ्ने गर्दा जोखिम पनि बढ्ने गर्छ । कम्पनीको सेयरमा ठूला कारोबारीको समेत चलखेल देखिन्छ । मंगलबार ब्रोकर नम्बर २५ र ५९ बाट अधिक खरिद भएको देखिन्छ भने ६९ र २८ नम्बरबाट बढी बिक्री गरिएको छ ।
ठूलो परिमाणको आधारमा मंगलबारको कारोबार फ्लोरसिट
वित्तीय स्थितिले सपोर्ट गर्दैन मूल्य :
कम्पनीको वित्तीय स्थिति भने मूल्यलाई सुहाउँदो मजबुत छैन । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ २४ पैसा छ । गत वर्षको सोही अवधिमा यस्तो नेटवर्थ ९१ रुपैयाँ ७६ पैसा थियो । त्यस्तै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी जम्मा २ रुपैयाँ ७० पैसा मात्रै छ । हालको मूल्यसँग मूल्य आम्दानी अनुपात हेर्ने हो भने ३८५ गुणा ज्यादा छ ।
कम्पनीले विभिन्न कम्पनीका धितोपत्रमा लगानी गर्ने र सोहीबाट नाफा लिने मुख्य उद्देश्य हो । असोज मसान्तसम्म यस कम्पनीले जम्मा २ अर्ब ५ करोड रुपैयाँ विभिन्न धितोपत्रहरुमा लगानी गरेको छ ।
यो कम्पनीले चन्द्रागिरी हिल्स, डिस मिडिया नेटवर्क, लुम्बिनी केबलकार, नेपाल वायरहाजिङ कम्पनी, सानिमा मिडिल तमोर हाइड्रोपावर, हाइलाइफ एग्रो एन्ड फूड इन्डष्ट्रिज लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेड, मिड सोलु हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र हाथवे स्टक डिलरलगायतको संस्थापक सेयरमा लगानी रहेको छ ।
यीमध्ये करीब १४ लाख कित्ता सेयर भएको चन्द्रागिरी हिल्स कम्पनीको संस्थापक सेयरको लक इन खुल्ने बेला भएकाले यो सेयर बेचेर नाफा कमाउने भन्दै हाथवेकाे सेयर मूल्यमा कर्नरिङ भइरहेको जानकारहरु बताउँछन् । चन्द्रागिरीको सेयर मूल्य हाल ९ सय ४३ रुपैयाँ छ ।
यसबाहेक नेपाल वायरहाउजिङ कम्पनी, सानिमा मिडिल तमोर, मिड सोलु, सिटिजन लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स पनि नेप्सेमा सूचीकृत भएर कारोबार भइरहेको छ । यी कम्पनीको दोस्रो बजारको मूल्य देखाउँदै लगानीकर्तालाई प्रभावित बनाइएकाे एक ब्रोकर कम्पनीका सञ्चालकले बताए ।
सर्वोत्तम र डिस मिडिया नेटवर्क पनि आईपीओ जारी गर्ने प्रक्रियामा छन् ।
त्यसबाहेक ९ करोड १७ लाख रुपैयाँ बराबर अन्य वित्तीय सम्पत्ति रहेको कम्पनीले जनाएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई तिर्नुपर्ने दायित्व रकम ३५ करोड ३० लाख रुपैयाँ बराबर छ । कम्पनीको रिजर्भ पनि बलियो बनेको छैन । रिजर्भ जम्मा ७० करोड रुपैयाँ बराबर छ ।
कम्पनीले साउनदेखि असोज मसान्तसम्म जम्मा २ करोड १९ लाख रुपैयाँ बराबर आम्दानी गरेको छ । समग्रमा कम्पनीले सो अवधिमा १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले आफ्नो प्रवन्धपत्रमा भने निकै ठूला उद्देश्य समेटेको छ । ऊर्जा, कृषि तथा पर्यटन उद्योग, स्वास्थ्य शिक्षा शहरी विकास निर्माण, संचार, प्रविधि, वित्तीय क्षेत्र लगायतको विकास स्थापना प्रवद्र्धन तथा लगानी गर्ने । विभिन्न जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा, गोबरग्यास लगायत ऊर्जा क्षेत्रको विकास तथा वितरणमा लगानी गर्ने, पर्यटकीय स्तरका होटल व्यवसाय सञ्चालन तथा खरिदबिक्री गर्ने, सुरुङ मार्ग, रेलमार्ग, राजमार्ग, होटल व्यवसाय, बीमा, सञ्चार, वित्तीय पूर्वाधार विकास आदिमा लगानी गर्ने, जलविद्युत् आयोजना निर्माण गर्नका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने लगायतका काम कम्पनीको प्रवन्ध पत्रमा समेटिएको छ ।
संस्थापक सेयर ८७.५० प्रतिशत
यस कम्पनीमा संस्थापक समूहको सेयर हिस्सा ८७.५० प्रतिशत छ । जुन सेयर ३ वर्षका लागि ‘लकइन’ छ । आईपीओ बाँडफाँट भएको ३ वर्षपछि मात्रै यसको लकइन खुल्दछ । बाँकी १२.५० प्रतिशत मात्रै सर्वसाधारण समूहमा जारी भएको हो ।
कम्पनीका संस्थापक सेयरधनीहरुमा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, नेपाल टेलिकमका सञ्चालक अम्बिकाप्रसाद पौडेल निमिषा इन्भेस्टमेन्ट कम्पनी, कुमार पौडेल, सुमित प्रधान लगायत छन् हुन् । ढकालले मात्रै कुल ३०.१२ प्रतिशत सेयर हिस्सा अर्थात् ६१ लाख ६७ हजार ७४१ कित्ता सेयर होल्ड गरेका छन् भने पौडेलले १७ लाख ८० हजार २०० कित्ता अर्थात् ८.६९ प्रतिशत सेयर होल्ड गरेका छन् ।
पछिल्लो समय कम्पनी खोलेर आईपीओ जारी गर्ने त्यसपछि लकइन खुलेपछि नाफामा सेयर बेचेर संस्थापकहरु बाहिरिने प्रवृत्ति माैलाएको जानकार नेपाल बताउँछन् । यस्तो प्रवृत्ति हटाउन केही कडा नियामकीय व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4