
२४ पुस, पोखरा । बाहिरी जिल्लाबाट पोखरामा दुध ल्याएर स्थानीय भन्दै बिक्रिवितरण भइरहेको भन्दै नेपाल डेरी फामर्स संघ र राष्ट्रिय पशुपालन तथा दुध उत्पादक कृषक संघले आपत्ति जनाएको छ ।
डेरी फार्मस् र दुध उत्पादक संघले मंगलबार पोखरामा संयुक्त पत्रकार सम्मेलन गरी पोखरामा बाहिरी जिल्लाबाट ल्याएर यहाँको स्थानीय भन्दै बिक्रिवितरण गर्दा आफूहरु मर्कामा परेको बताएका हुन् ।
डेरी फार्मसका अध्यक्ष दीपक तिमिल्सिनाले पछिल्लो समय तराईबाट दुध पोखरा ल्याउने र गुणस्तर मापन नगरी बेच्दा किसानहरु मर्कामा परेको बताए । ‘उहाँहरुले दुध ल्याएर बेच्दा हाम्रो आपत्ति होइन । तर, हाम्रो टाउको देखाएर बाहिरको दुध किन बेच्नुपर्यो ?’ उनले भने, ‘यो कार्य सम्बन्धित निकायले बन्द गरिदिनुपर्छ ।’
तिमिल्सिनाले जिल्ला बाहिरबाट दुध ल्याएर बिक्रिवितरण गर्दा कास्कीका ५० प्रतिशतभन्दा बढी व्यवसायिक फर्म विस्थापन भइसकेको दाबी गरे ।
‘केही किसानले ६ वटा भैंसी पालेर दैनिक सय लिटर दुध बेचिरहेको पाइएको छ । ५ वटा भैंसीले सय लिटर दुध कहाँ दिन्छ ?’ उनले प्रश्न गरे ।
बाहिरको गुणस्तरहीन दुध ल्याएर पोखरामा बिक्रि गर्दा स्थानीय किसानको उत्पादनमा गुणस्तरीयतामाथि प्रश्न चिन्ह खडा भएको र उपभोक्ता पनि ठगी भइरहेको दाबी संघको छ ।
तिमिल्सिनाका अनुसार पोखरामा दैनिक ४१ हजार लिटर दुध माग हुँदै आएको छ । त्यसमध्ये पोखरामा व्यवसायिक रुपमा खोलेका दुग्ध फार्मबाट ३४ हजार लिटर दुध उत्पादन हुँदै आएको छ ।
पोखरा महानगरको पशु सेवा विभाग अधिकृत नवराज अधिकारीले पोखरामा व्यक्तिगत तथा व्यावसायिक फार्म गरी दैनिक ८० हजार लिटर दुध उत्पादन हुँदै आएको जानकारी दिए । महानगरको तथ्यांकअनुसार हाल ९ सय ३४ किसानले दुध उत्पादन गर्दै आएका छन् ।
‘५ वटाभन्दा बढी पशुपालन गरेर दुध उत्पादन गर्नेलाई महानगरले परिचयपत्र दिँदै आएको छ । त्यो परिचयपत्रका आधारमा पहिलेभन्दा अहिले कृषकको संख्या घटेकोचाहिँ हो’, अधिकारीले भने ।
अधिकारीले प्रशोधित दुधभन्दा स्थानीय दुध गुणस्तरीय हुने जनमानसमा परेको हुनाले बजारमा स्थानीय दुधको नाममा दुध बिक्रिवितरण बढेको हुन सक्ने बताए । ‘स्थानीय मार्केटको ट्रेडमार्क क्याचअप गर्न पनि बाहिरको दुध पनि स्थानीय दुध भनेर बेच्न खोजिएको देखिन्छ,’ उनले भने ।
बाहिरबाट आउने दुध गुणस्तरहीन छैनः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले व्यवसायीले भनेजस्तो बाहिरबाट ल्याइएको दुध परीक्षणका क्रममा गुणस्तरहीन नभएको बताएको छ । विभागका अधिकृतका अनुसार नमुनाका रुपमा गरिएका परीक्षणमा कुनै पनि दुधमा समस्या नदेखिएको बताए ।
‘पोखरामा उत्पादन हुने २० र बाहिरबाट ल्याउने दुधसहित गरेर ४० वटामा नमुना परीक्षण गरेका थियौं’, बरालले भने, ‘तर, फ्याट्टी न्युट्रलाइजर हालेको देखिएन । त्यसमा समस्या छैन ।’
विभाग प्रमुख नवराज दाहालले आफूहरुले औद्योगिक क्षेत्रको मात्रै गुणस्तर हेर्ने जिम्मामात्रै भएको बताए । ‘उद्योगले गुणस्तर कायम गरेका छन् कि छैनन् भन्ने हेर्नेमात्रै हाम्रो काम हो । बजारमा कसले ल्याउने, नल्याउने नियमन गर्ने जिम्मा स्थानीय तहको हो,’ उनले भने ।
प्रतिक्रिया 4