
२४ पुस, दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले स्थायी केन्द्र टुंगो लगाएको छ । स्थानीय सरकार बनेको साढे ६ वर्षसम्म टुंगो लगाउन नसकेको केन्द्र गाउँपालिकाले आज वडा नम्बर ३ जफेको मानेडाँडालाई बहुमतबाट केन्द्र तोकेको हो ।
गाउँपालिकाकी उपप्रमुख सिर्जना खड्का सुवेदीका अनुसार दोस्रो गाउँसभाको चौथो अधिवेशनबाट मतदान प्रक्रिया मार्फत स्थायी केन्द्र टुङ्गो लगाएको हो ।
वडा नम्बर ३ का वडाध्यक्ष रामप्रसाद काफ्ले प्रस्तावक तथा ३ नम्बर वडा सदस्य प्रचण्डदीप कार्की समर्थक रहेर मानेडाँडालाई केन्द्र बनाउनु पर्ने पक्षमा कुल खसेको ३८ मत मध्ये २९ मत परेको थियो । यस्तै मानेडाँडाको विपक्षमा ५ परेको थियो भने दुई मत रद्द र दुई मत तटस्थ रहेको थियो ।
स्थायी केन्द्र तोक्न नसक्दा गाउँपालिका भवन समेत बनाउन नसकेको तामाकोशीले अब भने स्थायी संरचना बनाउने उपाध्यक्ष खड्काले बताइन् ।
‘पालिकाको स्थायी संरचनासँगै अब सेवा प्रवाहमा पनि धेरै सुधार हुन्छ । लामो समयको प्रयास पछि आज केन्द्र टुंगो लागेको छ,’ अनलाइनखबरसँगको छोटो कुराकानीमा उनले भनिन् ।
प्रतिक्रिया 4