
२४ पुस,काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा दुई दिनदेखि ताला लागेको छ । नगरपालिकाकी उपप्रमुख रिता देवीसहित कार्यपालिका सदस्यहरुले सोमबार लगाएको ताला आज पनि नखुलेको हो ।
‘हिजो नगरपालिकाबाट भएको विभिन्न शीर्षकको खर्चको विषयमा कागजातसहित कार्यपालिका बैठक बस्ने निर्णय भएको थियो ।तर मेयर र प्रमुख प्रशासकीय अधिकृत नै भागेर हिँडेपछि हामीले ताला लगाएका हौं,’ उपप्रमुख देवीले अनलाइनखबरसँग भनिन् ।
उपप्रमुख रिता देवीले नगरपालिकाकाले खरिद गरेको औषधिसहित अन्य खरिदमा अनियमितता भएको आशंका रहेको भन्दै कागजात मागेको बताइन् ।
‘औषधि कहाँबाट कति रकम ल्यायो भन्ने नै छैन, भुक्तानी मात्रै छ । जिन्सी सामानमा कति खर्च भयो, तेलमा कति खर्च भइरहेको छ, केहि जानकारी नै छैन । कार्यापालिकामा खर्च विवरण देखाउ भन्दा मोबाइल अफ गरेर भागिरहेको छ, ‘उनले भनिन् ।
उपप्रमुख देवीले स्थायी सरकारी कर्मचारीभन्दा करारका कर्मचारीलाई तलबमा धेरै खर्च भएको सुनाइन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंहले जनप्रतिनिधिहरुको विवादको कारण कार्यपालिका वैठकमा नगएको भन्दै थप नबोल्ने बताए ।
मेयर अजय प्रकाशले व्यक्तिगत स्वार्थको कारण उपप्रमुखले द्वन्द्व बढाउन खोजेको बताए । ‘उहाँ र वडाध्यक्षहरुले आफ्ना लागि बजेट माग्न आउँदा नगरपालिकाले दिन सक्दैन भनेर भनेपछि ताला लगाउनु भएको हो । उहाँहरुले पाएकै बजेट प्रभावकारी रुपमा सञ्चालन गर्न सक्नु भएको छैन । व्यक्तिगत इगोले नगरपालिका बन्द गरेर बसेका छन्,’ अजय प्रकाशले भने ।
उनले कार्यपालिका वैठकमा बस्न नभ्याउने जानकारी दिएर हिँडेपनि अनावश्यक रुपमा विवाद निकालेको बताए । नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवी दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
प्रतिक्रिया 4