
२४ पुस, काठमाडौं । मंसिर मसान्तसम्ममा काठमाडौं महानगरपालिकाका एक लाख १९ हजारभन्दा बढी करदाताले कर तिरेका छतन् ।
महानगरका अनुसार मंसिर मसान्तसम्ममा १ लाख १९ हजार ४५९ जना करदाताले कर तिरेका छन् । यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको छ । यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता रहेका छन् ।
यो वर्ष करदाताको संख्या ३ लाख ४३ हजार ६४० रहेको महानगरले जनाएको छ । गत आर्थिक बर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक बर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ ।
सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गरेका थिए ।
गत आर्थिक वर्ष (आव) मा २०७९÷०८० मा ३ लाख २४ हजार १२० जना करदाता रहेका थिए । गत आवमा १ लाख ९१ हजार ८८६ जनाले कर तिरेका थिए । १ लाख ३२ हजार २३४ कर नतिर्ने करदाताको संख्या हो ।
काफ्लेको प्रतिवेदन अनुसार सोमबारसम्म ३ करोड ९४ लाख ५१ हजार राजस्व संकलन भएको थियो । चालु आर्थिक बर्षको यस अवधिमा आन्तरिक आय, वाँडफाँटबाट प्राप्त राजस्व र समानीकरण, सशर्तजस्ता आन्तरिक अनुदानबाट प्राप्त गरी ४ अर्व ५१ करोड ५२ लाख ८१ हजार ९४७ रुपैयाँ जम्मा भएको छ । यो लक्ष्यको ४१.७८ प्रतिशत हो ।
प्रतिक्रिया 4