
२५ पुस, काठमाडौं । प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुलाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ)मा बुधबारदेखि आवेदन खुलेको छ । उद्योग रहेको क्षेत्रका प्रभावित, खानी रहेको क्षेत्रका प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुले माघ १० गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
सो अवधिसम्म पूरा आवेदन नपरेमा केही दिन थप हुन सक्ने बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । प्रभावित स्थानीयले पाएको सेयर सर्वसाधारणलाई बाँडफाँट भएको तीन वर्षपछि मात्रै बिक्री गर्न पाउने छन् ।
क्यापिटलका अनुसार न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । उद्योग, खानी उत्खनन प्रभावित क्षेत्रका लागि ९ लाख ३० हजार कित्ता सेयर र वैदेशिक रोजगारमा रहेकाहरुका लागि २ लाख ६७ हजार कित्ता सेयर बाँडफाँट हुनेछ । दरखास्तका साथ प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले भुक्तानी गर्नुपर्नेछ ।
उद्योग क्षेत्र नवलपरासीको सुनवल नगरपालिकाका वडा नम्बरहरु ३,४,५,६,११ र १३ का स्थानीयले आईपीओमा आवेदन दिन पाउने छन् । त्यस्तै खानी क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका १ र २ नम्बर वडाका स्थानीयले आवेदन दिन सक्छन् ।
पाल्पा रिब्दिकोट गाउँपालिकाका २,३,४ र ६ नम्बर वडाका स्थानीय, तिनाउँ गाउँपालिकाका १, २ र ३ तथा निस्दी गाउँपालिका ७ नम्बर वडाका बासिन्दाले आईपीओमा आवेदन दिन सक्नेछन् । बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भइ सर्वोत्तमको आईपीओ खुलेको हो । प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई आईपीओ बाँडफाँटपछि मात्रै सर्वसाधारणलाई खुल्नेछ ।
आवेदन केन्द्रहरु
वैदेशिक रोजगारमा रहेकाले सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । उनीहरुले यसअघि पनि यसै प्रणालीबाट आवेदन दिइरहेका छन् ।
प्रभावित स्थानीयले भने विभिन्न वाणिज्य तथा विकास बैंकका शाखामा गई त्यहीं फारम भरेर आवेदन दिनुपर्नेछ । यसका लागि शाखाहरु तोकिएका छन् । ग्लोबल आईएमई बैंकको नवलपरासी भुमही शाखा, पाल्पाको छहरा र तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।
त्यस्तै लक्ष्मी बैंकको नवलपरासीस्थित सुनवल शाखा तथा पाल्पाका दोभान र निस्दी शाखाबाट आवेदन दिन सकिनेछ । साइन रेसुङ्गा विकास बैंकको नवलपरासीस्थित सुनवल शाखा, गरिमा विकास बैंकको सुनवल शाखा, मुक्तिनाथ विकास बैंकको भुमही शाखाबाट आवेदन दिन सकिनेछ । पाल्पास्थित नेपाल इन्भेस्टमेन्ट बैंकको माथागढी शाखा र कृषि विकास बैंकको पालुङ मैनादी शाखाबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
कम्पनीको वित्तीय स्थिति
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३६ पैसा छ । त्यस्तै वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ २८ पैसा छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ छ । साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहने प्रक्षेपण गरिएको छ । कम्पनीले इक्रा नेपालबाट बीबीबी रेटिङ प्राप्त गरेको छ । यो रेटिङले कम्पनी वित्तीय दायित्व वहन गर्न सक्षम रहेको जनाउँछ ।
प्रतिक्रिया 4