+
+

स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा एक लाखबाट बढाइने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १५:५७

२६ पुस, काठमाडौं । सरकारले स्वास्थ्य बीमाबाट हुने उपचारको दायारा एक लाखबाट बढाउने भएको छ ।

हालै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष बनेका डा. गुणराज लोहनीले योगदान रकममा पुनरावलोकन गर्ने गरी सुविधाको दायारा बढाउने तयारी बढाएको जानकारी दिए ।

बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ । प्रति पाँच जनाको परिवारले वार्षिक ३५०० रुपैयाँ तिनुपर्ने हुन्छ । परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रति सदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।

पछिल्लो समय स्वास्थ्य सेवा आएको महंगीका कारणले नागरिकले पाउने सुविधा कम हुँदै जाँदा त्यसलाई परिमार्जन गर्नुपर्ने अवस्था आएको डा. लोहनी बताउँछन् ।

बोर्डले उपचारका दायारा कुन मोडलमा बढाउने भन्ने विषयमा बोर्डका सदस्यलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न र विज्ञसँग राय लिने काम गरिरहेको छ ।

‘कस्ता–कस्ता खालका प्याकेज ल्याउँदा सहज हुन्छ भनेर हामीले सुझाव पनि मागेका छौं । प्रतिक्रिया आइरहेको छ । दुई महिनाभित्रमा यसले पूर्णता पाउँछ,’ डा. लोहनीले भने ।

पछिल्लो समय मुटु, क्यान्सर, मिर्गौला जस्ता नसर्ने रोगका कारण नागरिकले उपचारको क्रममा घरखेत नै बेच्नुपर्ने अवस्था छ ।

डा. लोहनीका अनुसार नागरिकलाई उपचारमा बढि भार परेको रोगलाई लक्षित प्याकेज राखेर पनि दायारा बढाउने योजना छ ।

‘धेरै आवश्यक भएका रोगमा बीमाको दायरा बढ्छ । जस्तै, मुटु, क्यान्सर लगायतमा छुट्टै प्रिमियम राख्ने कि ? एक लाखको दायरा पाँच लाख पुर्याउने कि ?३५०० बाट प्रिमियमबाट ५ हजार पुर्याउने जस्ता विषयमा होमवर्क गरिरहेका छौं । बीमा बोर्डले अहिलेको अवस्थामा बढाउन सक्ने जति दायरा विस्तार गर्छ,’ डा. लोहनीले भने ।

यस्तै, सुविधा थैली औषधीको पुनरावलोकन गरेर एक महिनामा लागु गर्ने, सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम एकीकृत गरी स्वास्थ्य बिमामार्फत व्यवस्थापन गर्ने तयारी पनि बोर्डको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?