
२६ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) का अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा २५ पुसको सीबीफीन कार्यसमितिको १५औं बैठकले स्वीकृत गरेको हो ।
एनएमबि बैंकको आसन्न साधारणसभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् ।
निवर्तमान अध्यक्ष गोल्यानकै अगुवाइमा २०७६ सालमा स्थापित सीबीफीनको उनी संस्थापक अध्यक्ष समेत हुन् । गोल्यानले यस संस्थामा चार वर्ष नेतृत्व गरेका छन् ।
गोल्यानको राजीनामासँगै सीबीफीनको अध्यक्ष पद उपेन्द्र पौडेलले सम्हालेका छन् । पौडेल नबिल बैंकका अध्यक्ष समेत हुन् । परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पौडेललाई सीबीफीनको नयाँ नेतृत्व दिने सर्वसम्मत निर्णय गरेको हो ।
अध्यक्षमा सर्वसम्मत भएका पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् ।
सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात उनी नबिल बैंकको सञ्चालक हुँदै अहिले अध्यक्षको जिम्मेवारीमा छन् ।
प्रतिक्रिया 4