+
+

‘धुलो देखेर आफन्त नै घर आउन मान्दैनन्’

धुलोले हाम्रो जिन्दगी बिथोलिदियो । अरू त अरू धुलो र फोहोर देखेर आफन्त पनि टाढिए । धुलो खानुपर्ला भनेर उनीहरू हाम्रा घरमा आउनै मन गर्दैनन् । आइहाले धेरैबेर बस्दैनन् । सडकले त हाम्रो खुसी नै खोसिदियो ।

लालकुमारी गौतम (७०) देवचुली, नवलपरासी लालकुमारी गौतम (७०) देवचुली, नवलपरासी
२०८० पुष २७ गते १८:५५

१४ वर्षदेखि राजमार्ग छेउमै बसिरहेकी छु । पहिले–पहिले सडक राम्रो थियो, गाडीहरू पनि उति थिएनन् । धुलो–धुवाँ त्यति हुँदैनथ्यो ।

पाँच वर्षअघि नारायणघाट–बुटवल सडक विस्तार गर्ने काम सुरु भयो । बनाउन भनेर धमाधम सडक खन्न थालियो । ठूलो बनाउन भनेर भएको सडक पनि भत्काइयो । सडकको दुवै भाग खनियो, छोडियो । सडक खन्ने र भत्काउने काम भयो ।

सुरुमा कामको गति देख्दा भएको बाटो छिट्टै बन्छ होला भनेर खुसी भएका थियौं । केही समयको दुःख त हो, त्यसपछि बाटो बन्छ भन्ने सोच्यौं । तर कहाँ हुनु ? बाटो खन्ने र भत्काउने काम चाहिं भयो तर बनाउने कामै भएन । सडक भत्काएर अलपत्र बनाएर छोडे । सुरु–सुरुमा सडकमा देखिने ठेकेदार पनि पछि–पछि देखिनै छोडे ।

सडक पनि नबनाउने, बाटो पनि भत्काएर छोड्दा दुःख चाहिं हामीले भोगिरहेका छौं । अहिले पाँच वर्ष भयो होला सडक खनेर यतिकै छोडिएको । तीन वर्षमा बन्नुपर्ने सडक पाँच वर्षमा पनि बनेको छैन । पहिला जहाँ बाटो खनेर छोडियो, अहिले पनि त्यही छ ।

अब त बिर्सियो होला भन्ने बेलामा चाहिं ठेकेदार आएर फेरि बाटो कोतर्न थाल्छ । सडकमा माटो थुपार्छ । डोजर लगाएर सडकमा खाल्डा खन्छ । त्यसपछि सडक यत्तिकै छोडिदिन्छ ।

अनि यो सडकमा हरेक दिन हजारभन्दा बढी गाडीहरू गुड्छन् । पश्चिमदेखि आएका गाडीहरू यही बाटो काठमाडौं जान्छन् । भत्किएको यही सडकमा गाडीहरू धुलो उडाउँदै हिंड्छन् । धुलोको मुस्लोले दिउँसै रात परे जस्तो हुन्छ । यस्तो बिहानदेखि सुरु भएर रातिसम्म हुन्छ । यहाँ धुलो नउडेको कुनै क्षण हुँदैन, २४ सै घण्टा धुलो उडिरहन्छ ।

पाँच वर्षदेखि हामी धुलो खाइरहेका छौं । सडकमा उड्ने धुलोले पूरै घर ढाकिन्छ । धुलो यति उड्छ कि बिहान–दिउँसो घाम ताप्न पनि बाहिर निस्कन सकिंदैन । एकछिन बाहिर निस्कियो कि धुलोले मान्छे नै नचिनिने बनाउँछ । धुलोले घरअघि माटोको थुप्रो लागेको छ ।

सडकमा उडेको धुलो कोठाभित्रसम्म आइपुग्छ । विस्तरादेखि भान्सासम्म धुलोले कोठा भरिएको हुन्छ । धुलो जति भाँडाकुँडा, लुगामा आएर टाँसिन्छ । केहीबेर अघि धोएर राखेको लुगा–कपडा, भाँडा एकछिनमै फोहोर भइसक्छन् । पटक–पटक धोइराख्नुपर्छ ।

वर्षामा पनि हिलोले हैरान गराउँछ । धुलो नउडे पनि घर अघि हिलोले हिंड्नै नसकिने हुन्छ । सडकको हिलो घरसम्म आइपुग्छ ।

त्यसमाथि म आफैं दमकी बिरामी छु । तीन वर्षदेखि दमको औषधि खाइरहेकी छु । डाक्टरले धुलो–धुवाँबाट जोगिनु भन्छन्, तर यहाँ धुलो नखाएको दिन हुँदैन । धुलोले गर्दा होला दम बल्झेको बल्झेकै गर्छ । अब त दम मात्रै हैन, धुलोको एलर्जीले बाह्रै महिना रुघा लाग्छ ।

अहिले त म हरेक दिन बिरामी भए जस्ती हुन्छु । खाना खाँदा, सास फेर्दा पनि धुलोसँगै खानुपर्छ । धुलोले कहीं गए पनि छोड्दैन । अलिअलि बचेको सास पनि यही बाटोको धुलोले लैजाला जस्तो भइसक्यो ।

धुलोले हाम्रो जिन्दगी नै बिथोलिदिएको छ । अरू त अरू धुलो र फोहोर देखेर आफन्त पनि टाढिएका छन् । धुलो खानुपर्छ भनेर उनीहरू हाम्रा घरमा आउनै मन गर्दैनन् । आइहाले पनि धेरैबेर बस्न मन गर्दैनन् । सडकले त हाम्रो खुसी नै खोसिदियो ।

धुलोले जनता निसास्सिएर मरिरहेका छन् । तैपनि सडक बन्ने अझै संकेत देखिन्न । यो देशमा सरकार छ कि छैन ? छ भने हाम्रो दुःख किन देख्दैन ? हामी नागरिक हो कि होइनौं ? यदि हौं भने आफ्नो नागरिकलाई यसरी छोड्न मिल्छ सरकारले ?

सडक बनाउन भनेर हामीले कति पटक भन्यौं । थुप्रै पटक आन्दोलन पनि ग¥यौं । तर हाम्रो कुरा कसले सुन्ने ? कसलाई भन्ने ? सडक नबनेसम्म हामी यहाँ निसास्सिएर मर्नु बाहेक कुनै उपाय देख्दिनँ ।

(नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ की ७० वर्षीया गौतमसँग अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

राजमार्गको दुर्दशा-१४

राजमार्गको दुर्दशा-१३

राजमार्गको दुर्दशा-१२

राजमार्गको दुर्दशा-११

राजमार्गको दुर्दशा-१०

राजमार्गको दुर्दशा-९

राजमार्गको दुर्दशा-८

राजमार्गको दुर्दशा–७

राजमार्गको दुर्दशा-६

राजमार्गको दुर्दशा-५

राजमार्गको दुर्दशा-४

राजमार्गको दुर्दशा-३

राजमार्गको दुर्दशा-२ 

राजमार्गको दुर्दशा-१ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?