
२७ पुस, काठमाडौं । काठमाडौंका तीन र पोखराको एक पुुरानो पाँच तारे होटलले लाइसेन्स नवीकरण नगर्दा नेपालमा दर्ता र नियमित नवीकरण भएका पाँच तारे होटलको संख्या १७ मात्र कायम हुन पुगेको छ । पर्यटन विभागले नेपालमा दर्ता तथा नवीकरण भएका पाँच तारा डिलक्स तथा पाँच तारा होटलको विवरण सार्वजनिक गरेको छ । जसमा काठमाडौंमा सञ्चालित याक एण्ड यती, र्याडिसन, एभरेष्ट र पोखराको द फू लबारी होटलको नाम उल्लेख छैन ।
विभागले पाँच तारा डिलक्स तथा पाँच तारा स्तरमा स्तर वर्गीकरण भई इजाजत पत्र नियमित रुपमा अध्यावधिक होटलको विवरण मात्र सार्वजनिक गरिएको बताएको छ । होटलले हरेक ५/५ वर्षमा इजाजत पत्र नवीकरण गर्नुपर्छ ।
विभागका अनुसार यसअघि पाँच तारे स्तरमा वर्गीकरण भई सञ्चालनमा रहेका ठूला होटलले नै इजाजत पत्र नवीकरण गरेका छैनन् । एकसाथ चार वटा पाँच तारे होटल नवीकरण नहुँदा अहिले देशभर पाँच तारे र पाँच तारा डिलक्स स्तरमा वर्गीकरण भएका होटलको संख्या १७ मात्र कायम भएको विभागले जनाएको छ । नवीकरण नभएपनि यी होटलमध्ये फूलबारीबाहेकका अन्य होटेल सञ्चालनमा छन् ।
होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार यी होटल नवीकरण गर्ने प्रक्रियामा भने छन् । तर, यस प्रक्रियाका दौरान केही प्राविधिक विषयले होटल नवीकरण हुन नसकेको उनले बताए । अहिले होटल नवीकरण गर्न वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य बुझाउनु पर्छ ।
ठूला होटलले यसको प्रक्रिया पूरा गर्दा नै लामो समय लाग्दा समयमै नवीकरण गर्न नसकेको उनले बताए । कुनै होटलमा क्यासिनोको भुक्तानी र कुनै होटलमा श्रमसँग सम्बन्धित विषय समेत रहेका कारण होटलहरु नवीकरण हुन नसकेको उनले जानकारी दिए ।
इजाजत नवीकरण गरेमा सूचीमा समावेश हुन्छ : विभाग
पर्यटन विभागका अनुसार विगतमा पाँच तारा स्तरमा वर्गीकरण भएर इजाजतपत्र लिएका होटलले नवीकरणको प्रक्रिया पूरा गरेपछि भने पुनः सोही स्तरमा वर्गीकरण हुन सक्नेछन् । त्यसपछि ती होटललाई समेत पाँचतारे सूचीमा समावेश गरिने विभागले जनाएको छ । विभागले आफूले प्रक्रिया पूरा गरेको प्रमाण भए पेश गर्न समेत आह्वान गरेको छ । प्रमाण वास्तविक ठहरिए सूचीमा सुधार र परिमार्जन गरिने विभागको भनाइ छ ।
पाँच तारा डिलक्समा एक होटल–१६ होटल पाँच तारे
नेपालमा पाँच तारा डिलक्स स्तरमा वर्गीकरण भएको होटलको संख्या एक मात्र छ । झापाको मेचीनगरस्थित भेगस सिटी इन्टरटेन्मेन्ट (होटल मेची क्राउन)ले मात्र यो स्तरको वर्गीकरण पाएको छ । यसबाहेकका १६ होटल भने पाँच तारा स्तरका रहेका छन् ।
यी हुन् पाँच तारा डिलक्स र पाँच तारामा वर्गीकरण पाएका होटल
- होटल मेची क्राउन, झापा (पाँच तारा डिलक्स)
- सोल्टी होटल लिमिटेड, काठमाडौं
- होटल डेला अन्नपूर्ण, काठमाडौं
- पोखरा ग्राण्ड, पोखरा
- तारागाउँ रिजेन्सी, बौद्ध
- द मल्ल होटल, काठमाडौं
- होटल साङ्ग्रिला, काठमाडौं
- टाइगरवान प्रालि, रुपन्देही
- सोल्टी वेस्टेन्ड प्रिमियम, नेपालगञ्ज
- होटल सेन्ट्रल प्लाजा, कोहलपुर
- होटल मेरियट, काठमाडौं
- होटल द किङ्ग्सबरी, विर्तामोड
- सिटी होटल लिमिटेड, काठमाडौं
- होटल अलफ्ट, काठमाडौं
- इच्छा होटल, बारा
- होटल ल्हासा इन्टरनेसनल, काठमाडौं
- अकामा होटल, काठमाडौं
पाँचतारेमा २३ सय ४६ कोठा
नेपालका पाँच तारे होटलमा कोठा संख्या २३ सय ४६ पुगेको विभागको तथ्यांकमा उल्लेख छ । यसमध्ये सबैभन्दा धेरै कोठा तारागाउँ रिजेन्सी बौद्धमा छन् । यस होटलमा २९० वटा कोठा रहेको विभागले जनाएको छ ।
सोल्टी होटलमा २८२ वटा कोठा छन् । होटल मेरियटमा २१५ वटा कोठा छन् । अन्नपूर्णमा कोठा संख्या १५३ रहेको विभागले जनाएको छ ।
होटल मेची क्राउनमा १०१, पोखरा ग्राण्डमा १४०, द मल्ल र सांग्रिलामा १००/१००, सोल्टी वेस्टेण्ड र होटल सेन्ट्रल प्लाजामा ८०/८० होटल छन् । अलफ्टमा १६७, सिटी होटलमा १५३, इच्छा होटलमा ८९, होटल ल्हासामा १०७ र अकामा होटलमा १०५ वटा कोठा रहेका छन् ।
प्रतिक्रिया 4