
२९ पुस, काठमाडौं । भारतीय कांग्रेसले नेता राहुल गान्धीको नेतृत्वमा थालेको भारत जोडो अभियानको दोस्रो चरण आजदेखि सुरु गरेको छ । दोस्रो चरणको यो अभियानलाई ‘भारत जोडो न्याय यात्रा’ नाम दिइएको छ ।
मणिपुरको थौबल जिल्लाबाट दोस्रो चरणको अभियान सुरु भएको छ । मणिपुरमा आठ महिना अगाडि भड्किएको जातीय हिंसाबाट थौबल पनि प्रभावित भएको थियो ।
थौबलको खोंगजोम युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि गान्धीले अभियान सुरु गर्नेछन् । सन् १८९१ मा अंग्रेज-मणिपुर युद्धमा मारिएकाहरुको सम्झनामा खोंगजोममा युद्ध स्मारक बनाइएको हो ।
१४ जनवरीदेखि २० मार्चसम्म चल्ने दोस्रो चरणको अभियान यात्रा पूर्वमा मणिपुरदेखि पश्चिममा मुम्बईसम्म चल्ने छ । यस क्रममा राहुल गान्धी १४ राज्यका ८५ जिल्लामा पुग्ने छन् ।
यसअघि भारतीय कांग्रेसले पहिलो चरणको भारत जोडो अभियान सन् २०२२ को सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि सुरु गरेको थियो । यो यात्रा १३६ दिनपछि जम्मु कश्मिर पुगेर समापन भएको थियो ।
मूल्यवृद्धि, बेरोजगारी र भाजपाको विभाजनकारी राजनीतिविरुद्धसबैलाई एकजुट बनाउने उद्देश्यले कांग्रेसले ‘भारत जोडो’ अभियान सुरु गरेको थियो ।
एक नेताले त्यागे कांग्रेस
यसैबीच आज दोस्रो चरणको अभियान सुरु गर्दैगर्दा भारतीय कांग्रेसका एक नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
महाराष्ट्रका कांग्रेसका युवा नेता मिलिन्द देवराले साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आज मेरो राजनीतिक यात्राको अहम अध्याय समाप्त भएको छ । मैले कांग्रेसको साधारण सदस्यबाट राजनीनामा दिएको छु । यससँगै यो पार्टीसँगको मेरो परिवारको ५५ वर्ष पुरानो सम्बन्ध समाप्त भएको छ ।’
मिलिन्द देवरा कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्रीसमेत रहिसकेका मुरली देवराका छोरा हुन् ।
प्रतिक्रिया 4