
२९ पुस, काठमाडौं । पछिल्लो समय सवारी दुर्घटनामा भइरहेको बढोत्तरीलाई मध्यनजर गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्सीय कार्यदल गठन गरेको छ ।
सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रृटिहरु पत्ता लगाउन कार्यदल गठन गरेका हुन् ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रृबहाक बस शुक्रबार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए । यस्तै शनिबार दिउँसो चन्द्रागिरि नगरपालिका-४ स्थित हिमचुली सेतोपहरामा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो भने शनिबार नै बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो ।
सवारी दुर्घटनाबाट दुई दिनभित्रमा १९ जनाको ज्यान गएपछि मन्त्रालयले भौतिक तथा प्राविधिक त्रृटि पत्ता लगाउन कार्यदल गठन गरेको मन्त्रालयका सहसचिव रघुराम विष्टले जानकारी दिए ।
सडक दुर्घटनाका त्रृटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा कार्यदल गठन भएको उनले बताए ।
संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका श्यामबहादुर खड्का, सवारी अनुगमण मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यलय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश श्रेष्ठ सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको उनले बताए ।
कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्न गरी जिम्मेवारी दिइएको छ ।
सडक दुर्घटना न्यूनीकरणका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरु सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको सहसचिव विष्टले बताए ।
आइतबार बसेको सडक सुरक्षा परिषद्को बैठकले पनि चार वटा निर्णय गरेको छ । मन्त्रालयका सचिव केशव शर्माको अध्यक्षतामा बसेको बैठकले सवारी दुर्घटनाको अध्ययन समिति बनाउने, सडक सुरक्षा विज्ञहरुको सूची तयार गर्ने, तालिम र जनचेतनामा तत्काल काम थाल्ने र सडक सुरक्षा सम्बन्धमा बनेको विधेयक उपर समितिमा पठाउने निर्णय गरेको छ ।
प्रतिक्रिया 4