
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्वकालको प्रेमकथामा आधारित फिल्म ‘खुश्मा’ निर्माण हुने भएको छ । माघे संक्रान्तिको अवसरमा सोमबार शुभसाइत गर्दै फिल्मको घोषणा गरियो ।
छोटो फिल्म निर्देशन गर्दै अन्तर्राष्ट्रियरुपमा प्रसिद्धि कमाएका अशोक थापा मगरले यसबाट कथानक फिल्ममा डेब्यु गर्न लागेका हुन् । शीर्ष भूमिकामा धीरज मगर र उपासना सिंह ठकुरीले अभिनय गर्नेछन् ।
कास्ट एण्ड क्रिउले कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गर्दै फिल्म बनाउने जानकारी दिए । एम मिडियाको ब्यानरमा बन्ने फिल्मको छायांकन माघ ५ गतेदेखि रुकुमको मैकोट, बागलुङको ढोरपाटन, पोखरा र काठमाडौंमा हुने जनाइएको छ ।
द्वन्द्वकालको प्रेमबारे नयाँपुस्तालाई जानकारी दिन पनि फिल्म बन्न जरुरी रहेको निर्देशक थापाले बताए । ‘यसको कथाले अतीतलाई छुन सक्छ । द्वन्द्वको समयको कालखण्डमा फिल्म बन्नेछ,’ उनले भने ।
कमेडियन खड्गबहादुर पुन, अस्तित्व भट्टचन, अरुण मगर र संगीता थापाको पनि अभिनय हुनेछ ।
दुई चरणमा छायांकन गरिने फिल्मको निर्मातामा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी छन् । सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा एसडी योगीले संगीत दिनेछन् । फिल्मलाई दीपक बज्राचार्यले खिच्नेछन् ।
फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्नेछ । यसअघि रिलिज भएको फिल्म ‘नीरफूल’मा निर्देशक थापा मगरको सहनिर्माण समेत रहेको थियो ।
तस्वीर सौजन्य : अर्जुन गुरागाईं
प्रतिक्रिया 4