+

योगलाई कसरी जीवनशैलीसँग अभ्यस्त बनाउने ?

२०८० माघ  २ गते १४:०८ २०८० माघ २ गते १४:०८
योगलाई कसरी जीवनशैलीसँग अभ्यस्त बनाउने ?

योग विश्वलाई उपहार, कोसेली र आविष्कार हो । वास्तवमा हाम्रा ऋषिमुनिहरु यसको अभ्यासकर्ता र आविष्कारक थिए । उनै योगर्षी ऋषिहरुले आविष्कार गरेकै कारण आज योग विश्वव्यापी रुपमा अबलम्बन भएको छ । कुनै देश, धर्म, जाति, लिङ्गभन्दा पर कुनै विज्ञान छ भने त्यो योग विज्ञान हो ।

विश्वका २०० भन्दा मुलुकमा योग अभ्यास गर्ने गरिन्छ । जसकारण आज हामी भन्न सक्छौं । सदियौंअघि चल्तीमा आएको पुरानो योग विज्ञान आज फेसन जसरी मौलाएको छ । योगले शारीरिक मात्र नभई मानसिक फाइदा दिन्छ । जसको महत्व बुझेर मानिसहरूले यसलाई निरन्तर आफ्नो दिनचर्याको हिस्सा बनाइरहेका छन् । अहिले चिकित्सक समेतले अस्पतालमा आउने बिरामीलाई स्वस्थ रहन योग गर्ने सल्लाह दिन्छन् ।

योग के हो ?

योगको शाब्दिक अर्थ जोड्नु हो । योगको अर्थलाई विस्तारपूर्वक हेर्ने हो भने शरीर र आत्मासँग स्वास्थ्यलाई जोड्नु हो । जसकारण स्वस्थता प्राप्ति, रोग निवारणका लागि योग अस्पताल, घरमा वैद्यखाना, कारागार, स्वस्थ, अस्वस्थ अधिकांशले सर्वत्र गरिन्छ । स्वास्थ्य सम्वर्द्धन स्वास्थ्य रक्षाको माध्यम योग हो ।

जोड्नुको अर्को अर्थ हो, मनसँग एकाग्रता र धारणालाई जोड्नु । आजभोलि हाम्रो मन अनेकौं विकृतिबाट तनावग्रस्त र पीडित छ । मन धेरै कुराले विचलित छ । यस्तो विचलित दिमागलाई एकाग्र बनाउनु र हजारौं विचारलाई धारणाशील बनाउनु मनमा सामर्थ्य प्रदान गर्नु योगको अर्को उद्देश्य हो ।

आत्मामा प्रमात्मा जोड्नु योग हो । आत्मा भनेको सीमित चेतना हो । आत्मालाई चेतनासँग जोड्नु योग हो । जीवनका हरेक पाटाहरुसँग योग जोडिएको छ । व्यावहारिक रुपमा योग भनेको आजभोलि चलनचल्तीमा रहेको व्यायाम, कसरत, वर्क आउट पद्धतिभन्दा पूर्ण वैज्ञानिक, आफ्नै रैथाने विज्ञान र संस्कृति हो । जुन गर्न सहज निःशुल्क छ ।

आजभोलि देखिएका सबैजसो रोगमा अन्तिम औषधि हो । जसकारण योग सर्वश्रेष्ठ औषधि हो । जुन सबैका लागि औषधि हो ।

योगले मन र शरीर जोड्छ

युजसमाधु, युजसंयमने, युजीरयोगे यी तीन संस्कृत शब्दको अर्थ हो, दुई आयाम, दुई इकाई र दुई तत्व जोडिनु योग हो ।

युजसमाधु भन्नाले मनलाई कुनै एउटा लक्ष्य वा उद्देश्यमा टिकाएर त्यसमै ध्यान, अभ्यास, प्राणायाम सब गरेर मनको क्षमतालाई बढाउँदै पूर्ण तन र मनलाई एकाग्र गराउनु योगको लक्ष्य हो । एकाग्र भएपछि आफ्नो भगवान, अल्लाह, जुन प्रतिमामा आस्था छ त्यसमै डुब्नु योग हो ।

युजसंयमने, मन र मनका उपकरणहरु हुन् । तिनीहरुलाई नियन्त्रण गर्नु योग हो । कुनै एक कुरामा निरन्तर तनमय हुनु, मन त्यसमै डुब्नु, रमाउनु युजीरयोगे अर्थात् समाधि हो ।

जीवनशैलीमा योग

जीवनशैली भनेकै जीवन जिउने तरिका हो । बिहान उठेदेखि राति सुत्नेसम्मको क्रियाकलापसँगै प्रकृतिसँग जीवन कति नजिक छ त्यो जीवनशैली हो । प्रकृतिभन्दा विपरीत जानु, स्वास्थ्यभन्दा विपरीत जानु र स्वस्थ तवर तरिकाबाट विपरीत जानु जीवनशैली बिग्रिनु हो ।

उठेपछि प्रार्थना गर्ने, व्यायाम गर्ने, शौच गर्ने, कामलाई कर्म योग गर्ने, सासलाई प्राण योग बनाउने, खानालाई आहार योग बनाउने र विचारलाई ध्यान योग बनाउने र जे-जस्तो काम र विचार गर्छौं त्यसलाई स्वस्थ र सन्तुलित बनाउनु नै योगलाई जीवनशैलीसँग जोड्नु हो ।

योगलाई दैनिक जीवनमा जोड्यौं भने जीवन सहज हुन्छ । शरीर फूर्तिलो हुन्छ, निरोगी हुन्छ, तनाव घटेर जान्छ । कार्य क्षमता बढेर जान्छ । कार्य क्षमता मात्र नभई शारीरिक क्षमता, मानसिक क्षमता, भावनात्मक क्षमता, आत्मिक र प्राणिक क्षमता, प्राणिक र बोल्ने वाच्छिक क्षमता बढेर आउँछ । किनभने योगामा ध्यान, आसन, प्राणायाम गछौं । आसनले शरीरको क्षमता बढाउँछ । प्राणायामले मनको र सासको क्षमता बढाउँछ । र, ध्यानले सम्पूर्ण मनको चेतनाशक्ति बढाउँछ । जसकारण हामी भन्न सक्छौं कि योगले नछुने शरीरको कुनै त्यस्तो पाटो छैन ।

जीवशैलीको हिस्सा कसरी बनाउने ?

जीवनशैलीको हिस्सा बनाउन योगमा अभ्यस्त हुन आवश्यक छ । अभ्यस्त बनाउन सबैभन्दा ठूलो इच्छाशक्ति र नियमितता चाहिन्छ । अठोट र संकल्प शक्ति चाहिन्छ । किनकि योग छोड्दै र मन लागेको बेलामा गर्ने गर्दा योगबाट पूर्णलाभ लिन सकिंदैन । जीवनशैलीको अंश बनाउन योगको बारेमा विस्तृतमा बुझ्न, मनदेखि गर्छु भन्ने भाव आउन, कसरी गर्ने ज्ञान हुनु आवश्यक छ ।

पताञ्जली ऋषिमुनिले भनेका थिए, ‘शतुदीर्घकाल नैरन्तरैय, सत्कारो सेवितु दृढभूमि ।’

अर्थात्, सधैं उही समयमा निरन्तर श्रद्धापूर्वक गरिसकेपछि समर्पणले गर्दै गएपछि योग परिपक्व भएर आँउछ । यसको पूर्णलाभ लिन सकिन्छ । यसका लागि आफ्नो गुरु आफैं हुने हो । स्वयं नियन्त्रक हुने, आफूलाई आत्मअनुशासित गर्छु भनेर लागेपछि योग पनि खाना दैनिक खाने अभिन्न जीवनशैलीको भाग रहेजस्तै योग पनि दैनिकीको अभिन्न भाग बन्छ । योगलाई पनि नित्यकर्म र खानाजस्तै दैनिक गर्ने हिस्सा बनाउँछु भन्ने प्रतिज्ञा गरेमा जीवनशैलीको भाग बनाउन सम्भव छ ।

योग आजको आवश्यकता

अहिले तनाव बढ्नुको कारण मनमा सहिष्णुता र सहनशीलताको क्षमता कमी भएर हो । नकारात्मक दृष्टिकोण र नकरात्मक क्षमता बढ्नु पनि एक कारण मान्न सकिन्छ । मनमा, स्नायुप्रणालीमा, शरीरको कोषकोषमा तनाव सहने क्षमता कम हुँदै गएको छ । जसकारण स-साना कुरामा तनाव लिने गरिन्छ ।

फलस्वरुप भागदौडको थकान, कलह, रिस, आवेग र कुविचारले व्यक्तिलाई घेर्छ । यस्तोमा सकारात्मक भावना ल्याउन र तनाव कम गर्न योग आवश्यक खुराक हो ।

योग सुरु हुन्छ, यम र नियमबाट । यम मानिसको सामाजिक आचरण हो भने नियम भनेको भित्री आचरण हुन । व्यक्तिले जब यम र नियमबारे बुझ्छ, उसको सोचाइ, लेनदेन, दैनिक जीवनशैली र व्यवहारको तरिका सुधारिएर आउँछ । जसले तनाव र थकान कम हुन्छ । कुनै पनि कुराको छिटो रुष्ट प्रतिक्रिया गर्ने बानी कम हुन्छ । रिस कम हुँदै जान्छ । यी सबैमा प्रमुख भूमिका प्राणायामको हुन्छ । जब व्यक्ति बसेर अनुलोम विलम, भास्त्रिका, भ्रामरी, शीतली र शीतकारी प्राणायाम गर्छ । शरीरको रगत र प्राण शुद्ध भएर आउँछ । चेतना शुद्ध र बाधारहित भएर आउँछ । बिस्तारै तनाव कम हुँदै आउँछ । शरीरको तन्तुदेखि कोषिकासम्मको प्राण क्षमता बढेर आउँछ ।

युवामा योगप्रति आकर्षण बढ्दै

युवापुसतामा योगप्रतिको आकर्षण बढ्दै गएको देखिन्छ । योग, व्यायाम, जिम, विभिन्न कसरत, मार्सलआर्ट, वर्कआउट अनेक छन्, जसले शरीर स्फूर्त गराउँछ । यी सबैमध्ये पटक्कै साइड-इफेक्ट नभएको, कम लगानीमा शरीरको भित्र पस्दैपस्दै मन र चेतनासम्म सम्बोधन गर्ने भएर युवामा योगको निकै आकर्षण देखिएको छ ।

नेपालमा त बढेको छ नै । विदेशमा पनि युवामा योगको आकर्षण देखिन्छ । अमेरिका, चीन, भारत, अस्ट्रेलिया र क्यानडामा योगको प्रभाव बढ्दो छ । विश्वमा सबैभन्दा बढी क्यानडामा योगाभ्यास हु्न्छ । भनिन्छ, त्यहाँको ४० प्रतिशत जनसंख्या योगमा अभ्यस्त छ ।

यता, चीनको कुरा गर्ने हो भने आफ्नै व्यायाम पद्धति हुँदाहुँदै त्यहाँको जनमानस योग गरिरहेका छन् । भारतमा पनि फेसनको रुपमा योग मौलाएको देखिन्छ । त्यहाँ स्कुल, कलेजमा योग सिकाउन थालिएको छ । अमेरिकामा कलेज, स्कुल र अस्पतालमा योग केन्द्र राखिएको छ । जसले गर्दा अधिकांशमा योगको आकर्षण बढ्दो छ । शरीर फिट राख्न र तन्दुरुस्तीको लागि पनि युवामा योग फेसन जसरी मौलाइरहेको देख्न सकिन्छ ।

योग गर्ने र नगर्नेमा भिन्नता

योग गर्ने योगी, निरोगी र उपयोगी हुँदै जान्छन् । नगर्ने भोगी र रोगी हुँदै जान्छन् । मानिसमा केही न केही तनाव, चिन्ता र दु:ख हुन्छ त्यो स्वभाविक हो । तर  योगाभ्यास नगर्नेले आफ्नो चिन्ता, उदासी, तनावमा जीवन काट्छ । उनीहरुमा धैर्यता हुँदैन । १० मिनेट मात्र पर्खनुपर्‍यो भने रिसले आगो हुन्छन् । बढी भौतिकमुखी र परिमाणमुखी हुन्छन् । जे कामको पनि नतिजा छिटो र आफू अनुकल खोज्ने हुन्छन् ।

यता, योग अभ्यासकर्ता भने व्यक्तिको पखाईमा पनि रमाउँछ । त्यो समय ध्यान गरी सदुपयोग गर्छ । जस्तो अवस्थामा पनि समायोजित हुनसक्छ । आवेग कम हुन्छ । शोक, चिन्ता र तनाव काबुमा राख्न सक्छ । र, त्यस्ता कठिन परिस्थितिलाई पनि सकरात्मक ऊर्जामा परिवर्तन गर्न सक्छ । योगले जीवनदर्शन सिकाउँछ । नतिजा कुर्ने धर्य शक्ति सिकाउँछ । वर्तमान मात्र जीवन होइन, भूतकाल र भविष्य पनि छ । र, यी तीनकालकै आफू उपज हो भन्ने भान योगले गराउँछ ।

स्वास्थ्य र योग

पैसाले खानेकुरा किनेर भोक मेटाउन सकिन्छ । तर पैसा भोक मेटाउने साधन मात्र हो भन्दा पैसाको पूर्ण परिभाषा आउँदैन । पैसा समृद्धिको साधन हो । त्यसैगरी योग रोगको उपचार मात्र होइन । योगले शरीरलाई स्वस्थ बनाउँदै लैजान्छ । भएका रोगसँग लड्न मद्दत गर्छ । अनि मनलाई स्पर्श गर्छ । अनि मनको क्षमता बढाँउछ । मनबाट आत्मचेतनासम्म पुग्छ । योग शरीर प्रवेश गरी आत्मचेतना बढाउने पहिलो खुडकिलो हो । त्यसैले मनसम्म पुग्न स्वस्थ तनको आवश्यक हुन्छ । त्यसैले योगले पहिला भएको रोग निको पार्न सघाउ पुर्‍याउँछ ।

जस्तो, आजभोलि दीर्घरोग जस्तै, मधुमेह, उच्च रक्तचाप, क्यान्सर, कोलेस्टेरोल, डिप्रेसन, माइग्रेनबाट धेरैजसो ग्रसित छन् । हरेक घरमा दीर्घरोगी छन् । यस्ता समस्यामा औषधिले अल्पकालीन ठीक गर्छ । तर योगले दीर्घकालीन रुपमा समस्याको समाधान गर्छ । किन ?

योगले कारणमा गई उपचार गर्छ । रोग मानसिक र शारीरिक कारणले लाग्छ । प्रायजसो रोग साइको समाट्रिक डिसअर्डर हुन् । मनमा पहिला रोग उब्जियो र त्यसको लक्षण शरीरमा देखा पर्छ । यस्तोमा शरीरको लक्षण मात्र दबाउने औषधी खाएर रोग निको हुँदैन । रोग निको पार्न रोगको जडसम्म पुग्नुपर्छ । जुन योग, ध्यान, मुद्रा, योग आहार, प्राणायामबाट सम्भव छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

जीवनशैली डा. राजु अधिकारी योग स्वास्थ्य
डा. राजु अधिकारी
लेखक
डा. राजु अधिकारी
आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक

अध्ययन : मानव चेतना एवं योग विज्ञानमा स्नातकोत्तर र पीएचडी अखिल विश्व गायत्री परिवार, नेपालका स्वयंसेवक, विभिन्न स्कुल, बैंक तथा कलेजहरुमा जीवनशैली र योग प्रशिक्षकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?