+
+
२६ औं भूकम्प सुरक्षा दिवस :

२०७२ को भूकम्पदेखि अचेत छन् कृष्णहरि

प्रकाश सिंह प्रकाश सिंह
२०८० माघ २ गते २०:०८

२ माघ, काठमाडौं । नुवाकोट बेलकोटगढी नगरपालिका– ३ का ३४ वर्षका कृष्णहरि पुडासैनी ८ वर्षदेखि अचेत छन् । २०७२ वैशाख १२ को भूकम्पमा परेर घाइते उनको अहिलेसम्म होस छैन । उनका आँखा खुल्ला भए पनि मान्छे चिन्दैनन् । कसैले बोलाउँदा कुनै प्रतिक्रिया दिन सक्दैनन् ।

पर्यटक गाइड उनी त्यस दिन १३ जना इजरायली पर्यटक लिएर रसुवाको लाङटाङ जाँदै थिए । भूकम्पपछि खसेको पहिरोमा पुरिएका उनको चार दिनपछि उद्धार भएको थियो ।

बुबा लीलानाथका अनुसार कृष्णहरिको खुट्टामा घाउ भएको थियो । उनी सुरुमा अलि अलि बोल्न र आफैं खाना खान सक्थे । तर उपचारकै क्रममा अस्पतालमा २०७२ असार १२ गते उनी एक्कासी बेहोस भए ।

त्यसपछि बालाजुको जनमैत्री अस्पतालमा ५० दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि होस नआएपछि राष्ट्रिय ट्रमा सेन्टरमा सारिएको थियो । ट्रमा सेन्टरमा ९ महिना १४ दिन उपचार गर्दा पनि होस नआएपछि चिकित्सकहरुले घर लैजान भनेको लीलानाथ बताउँछन् ।

छोरा होसमा आउने आशामा लीलानाथले विभिन्न सहयोगीसँग हारगुहार गरे । धेरै प्रयासपछि काठमाडौंमा रहेको मेडिकल पुनर्स्थापना संस्थाले कृष्णहरिलाई राखेको थियो । उक्त संस्थामा कृष्ण ८ वर्ष बसे ।

८ वर्षसम्म पनि होसमा नआएपछि पुडासैनीलाई पुनर्स्थापना संस्थाले घरमै लगिदिएको छ । ‘हामीले ८ वर्षसम्म उपचारदेखि खान बस्ने सहयोग गरेका थियौं’, संस्थाका अध्यक्ष सम्राट सिंह बस्नेतले भने, ‘तर उनको होस नै नआएपछि हामीले घरमा लगिदिएका हौं ।’

८ वर्षदेखि कृष्णहरिलाई नाकबाट पाइप जोडेर तरल खानेकुरा खुवाउने गरिएको छ । छोराको उपचारमा ५० लाख रुपैयाँ खर्च भएको र औषधिमा मासिक १६ हजार रुपैयाँ खर्च हुने बाबु लीलानाथ बताउँछन् । तर सरकारबाट ५० हजार रुपैयाँ सहयोग पाएको उनको भनाइ छ ।

कृष्णहरि २०७१ चैतमा आमा राधालाई ६ महिनापछि आउँछु भनेर घरबाट निस्किएका थिए । आमाले ट्रेकिङ जान लागेको छोरालाई हिमालमा जादा हिउँ पहिरो आउँछ, बाटोमा हिँड्दा विचार गरेर जानू, बचेर काम गर्नू, चाँडै फर्केर आउनू भनेकी थिइन् ।

राधाले जुन आँगनबाट कृष्णहरिलाई बिदा गरेकी थिइन्, त्यही आँगनमा गत मंसिरमा कृष्णहरि अचेत अवस्थामा फर्किए ।

कृष्णहरिले ट्रेकिङबाट फर्केपछि मंसिरसम्ममा बिहे गरौंला भनेका थिए । छोराको बिहे गर्ने चाहना अधुरै भएको बताउँदै राधा भन्छिन्, ‘दैवको लिला भनौं कि मेरो भाग्य, मैले धर्ती बिसाउने बेलामा छोराको यो हालत भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?