+
+

पछि हटे रामास्वामी, अयोयाको नतिजाले के संकेत गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १८:४४

भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामी राष्ट्रपति उम्मेदवारको दौडबाट पछि हटेका छन् । आन्तरिक निर्वाचनमा अयोया राज्यमा चौथो स्थानमा आएपछि रामास्वामीले उम्मेदवारीको दौड अन्त्य गर्ने घोषणा गरे । उनले आगामी निर्वाचनमा ट्रम्पलाई सघाउने वाचा गरेका छन् ।

समर्थकलाई सम्बोधनका क्रममा रामास्वामीले भनेको कुरा उद्दृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ, ‘मेरा लागि राष्ट्रपतिको उम्मेदवार हुने बाटो अब बन्द भएको छ र यो मुलुकमा म जस्तै पृष्ठभूमिका व्यक्ति उम्मेदवार भएको हेर्न कसैले चाहदैन पनि ।’

सोमबार भएको आन्तरिक चुनावमा ट्रम्पले फराकिलो अन्तरको अग्रता लिए । ट्रम्पलाई फ्लोरिडाका गभर्नर रोन डिसान्तले पछ्याएका थिए भने अर्का आकांक्षी निक्की हेली तेस्रो स्थानमा रहे ।

ट्रम्पलाई सघाउनेबारे रामास्वामीले भनेका छन्, ‘ह्वाइटहाउसमा अमेरिकालाई पहिलो प्राथामिकतामा राख्ने व्यक्ति आउनुपर्छ । अब म पूर्ण रुपमा ट्रम्पलाई सघाउनेछु । मलाई लाग्छ यो नै सही कदम हुनेछ र म विश्वस्त छु अमेरिका पहिले नीतिलाई सबैले सफल बनाउनेछन् ।’

व्यापारिक पृष्ठभूमिका ३८ वर्षीय रामास्वामीले हालसम्म कुनै राजनीतिक जिम्मेवारी पाएका छैनन् । राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनको आन्तरिक दौडका क्रममा उनले सारेका एजेण्डाहरु पनि विवादित थिए ।

उनले जन्मसिद्ध बन्ने अधिकारको अन्त्य गर्ने, शिक्षा मन्त्रालय बन्द गर्ने, संघीय अनुसन्धान निकाय एफबीआई बन्द गर्ने लगायतका एजेण्डा अघि सारेका थिए । आफू राष्ट्रपतिमा निर्वाचित भए ट्रम्पलाई सबै मुद्दामा सफाइ दिने उनको घोषणा थियो ।

अयोयाको निर्वाचनले के संकेत गर्छ ?

रामास्वामी बाहिरिएसँगै अब रिपब्लिनबाट उम्मेदवारको दौडमा डोनाल्ड ट्रम्पसँगै डि सान्तिस र निक्की मात्रै बाँकी रहेका छन् । यस राज्यमा उत्कृष्ट नतिजा निकाल्ने विश्वास राखेका डे सान्तिसले पनि दोस्रोमै चित्त बुझाउनु परेको छ ।

ट्रम्पले ५६ हजार २६० मत ल्याउँदा, डे सान्तिसले २३ हजार ४२० मत र निक्की हेलीले २१ हजार ८५ मत ल्याइन् । सन् २०१६ मा यो राज्यमा टेड क्रुज ट्रम्प भन्दा अघि थिए । यसपटक डि सान्तिसले आफैँ अघि हुने अपेक्षा राखेका थिए ।

उम्मेदवारीको अभियानमा उनले हालसम्म ३५ मिलियन अमेरिकी डलर खर्च गरिसकेका छन् । ट्रम्पले भने हालसम्म १८.३ मिलियन डलर खर्च गरेका छन् । ट्रम्पको तुलनामा करिब दोब्बर खर्च गरेर पनि उनले प्रभावकारी चुनौती दिन सकेनन् । यता निक्की हेलीले पनि ३७ मिलियन डलर खर्च गरिसकेकी छन् ।

निक्कीको चुनावी अभियानमा साथ दिनेमा रिपब्लिकनभन्दा गैररिपब्लिकन बढी थिए । उनलाई सहयोग र समर्थन गर्नेहरुमा स्वतन्त्र र डेमोक्र्याटहरुको संख्या आधा आधा थियो । यद्यपि निक्कीले हार खाइसकेकी छैनन् । २३ जनवरीमा न्यू ह्याम्सपायरको प्राइमरीमा ट्रम्पलाई कडा चुनौती दिने उनको विश्वास छ । अयोयाको नतिजाले रिपब्लिकनभित्र निक्कीको सम्भावनाको खोजी भइरहेको संकेत देखाएको छ ।

उनको सम्भावनाको बलियो मापन भने दक्षिण क्यारोलिनामा हुनेछ । त्यहाँ २४ फेब्रुअरीमा मतदान हुँदैछ । ककस अगावै रिपब्लिकनभित्र ट्रम्पको बलियो उपस्थितिको संकेत देखिएको थियो ।

उम्मेदवारीको दौडमा आकांक्षा राख्ने डोउज बग्रम, माइक ली र मार्को रूबियोले ट्रम्पलाई नै अनुमोदन गरे । ट्रम्पलाई चुनौती दिइरहेका डे सान्तिस र हेली आर्थिक र राजनीतिक रुपमा निकै अनभुवी प्रतिद्वन्द्वी हुन् ।

कसैले भन्न सकेका छैनन् कि प्रतिद्वन्द्वीद्वयमाथिको जितले ट्रम्पका लागि अर्थ राख्नेछैन । ट्रम्प विरोधी मत विभाजित भएको थियो वा उम्मेदवारको मैदान कमजोर थियो भन्नेमा कसैले यकिन गर्न सकेका छैनन् ।

तर एउटा कुरा यकिन के भएको छ भने डि सान्तिस र निक्की हेली कमजोर प्रतिद्वन्द्वी थिएनन् र उनीहरु भन्दा बलिया प्रतिद्वन्द्वी अयोयामा उभिएका भएपनि ट्रम्पलाई कसैले हल्लाउन सक्ने थिएनन् ।

ट्रम्पले आफूविरुद्ध लागेका सबै मुद्दा राजनीतिक प्रतिशोध रहेको भन्दै चुनावी अभियान जारी राखेका थिए । अयोयाको नतिजाले ट्रम्पको अभिव्यक्तिमा पार्टीभित्र धेरै विश्वास रहेको देखाउँछ भने यसले रिपब्लिकनमा ट्रम्पको बलियो पकड रहेको सन्देश पनि दिन्छ ।

रिपब्लिकनका रणनीतिकार स्कट जेनिसले सीएनएनसँग भनेका छन्, ‘यो दोस्रो दौड होइन । यो दौड सान्दर्भिकताको दौड हो । ट्रम्पको सान्दर्भिकता अझै रहेको यसले प्रमाणित गरेको छ ।

ट्रम्पविरुद्धका सबै विषय गलत सावितका लागि एकपटक फेरि उनैलाई मौका दिनुपर्ने पक्षमा बहुमत रहेको प्रतिविम्ब पनि हो।’

अयोयाको परिणामले राजनीतिक प्रतिद्वन्द्वीमाथि बदला लिने अठोट, आप्रवासीमाथिको अमानवीय टिप्पणी र १९३० ताकाको झैँ तानाशाही चरित्र वर्तमान अमेरिकाको राष्ट्रपति बन्नका निम्ति बाधक नहुने सन्देश दिएको छ ।

सत्तामा रहनका निम्ति लोकतन्त्रमाथिको हमलालाई जायज ठहराउँदै ह्वाइटहाउसमा अमेरिका पहिलेको मन्त्र जप्ने ट्रम्पलाई विराजमान गराउन रिपब्लिकन पार्टी आतुर रहेको जनाउ दिएको छ ।

अमेरिकामा अब पुरानै अनुहारबीच प्रतिस्पर्धा

आधुनिक र सचेत अमेरिकी राजनीतिमा ट्रम्पले अयोयामा पाएको जितलाई अनपेक्षित रुपमा पनि लिइएको छ । राष्ट्रपतीय निर्वाचनको परिणाम अस्वीकार गर्दै संसदमा दंगा भड्काउन उक्साउने ट्रम्पमाथि दुई ठूला फौजदारी अभियोग समेत लागेको थियो । ट्रम्पले आफूलाई जो बाइडेन प्रशासनले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै आएका छन् ।

अयोयाको नतिजापछि ट्रम्प रिपब्लिकनबाट उम्मेदवार बन्न केही कदम मात्रै पछाडि रहेको देखिन्छ । यता, डेमोक्र्याटभित्र राष्ट्रपतीय उम्मेदवारको दौडमा जो बाइडेन, डियन फिलिप्स र मेरियन विलम्सन छन् । उनीहरुले बाइडेनलाई कडा टक्कर दिन सकेका छैनन् ।

डेमोक्र्याटभित्रका दुई तिहाइ मतदाता बुढा बाइडेनले चुनाव लड्न नहुने मत राख्दै आएका थिए ।

यद्यपि वर्तमान अवस्थामा उनको सट्टा अर्को उपयुक्त उम्मेदवार हुन नसक्ने मतसहित बाइडेनलाई नै मैदानमा उतार्दैछन् । यता रिपब्लिकनबाट ट्रम्प राष्ट्रपतीय उम्मेदवारमा चयन हुने बलियो संकेत देखिएसँगै नोभेम्बरको चुनावमा पुरानै अनुहारबीच भीडन्त हुने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?