+
+

रुपन्देही व्यापार संघको चुनावमा एमाले निकट व्यवसायीकै दुई प्यानल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १२:५९

३ माघ, बुटवल । रुपन्देही ब्यापार संघको नयाँ नेतृत्वका लागि नेकपा एमाले निकटकै व्यवसायी दुई प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । ५ माघमा सुरु हुने २२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट आगामी २ वर्षका लागि नेतृत्व चयन हुँदैछ ।

नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र द्वितीय उपाध्यक्ष दीपक अधिकारीले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । भण्डारी २०५७ सालमा संघको कार्यसमिति सदस्य भएयता सचिव, महासचिव हुदै वरिष्ठ उपाध्यक्ष भएर काम गरेका छन् । अधिकारी २०६६ सालमा संघले ब्यापार मेला आयोजना गर्दा उपसमिति सदस्य भएर संघमा सक्रिय हुन थालेका हुन् ।

संघमा एमाले निकटकै व्यवसायीको बाहुल्य छ । तर पार्टी निकटकै व्यवसायी दुई प्यानलमा विभाजित भएपछि एमालेको जिल्ला नेतृत्वलाई टाउको दुखाइ बनेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्सुराम पन्तको एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका निर्वाचन समितिका सदस्य लक्ष्मण पौडेलले जानकारी दिए । अध्यक्षका उम्मेदवार भण्डारीका अनुसार निर्विरोध निर्वाचित वरिष्ठ उपाध्यक्ष ढकाल र महासचिव पन्त उनको प्यानलका हुन् ।

प्रथम उपाध्यक्षमा भण्डारीको प्यानलबाट दयानिधि भण्डारी र अधिकारीको प्यानलबाट ऋषिराम पाण्डे उम्मेदवार छन् । पाण्डे एमाले रुपन्देही सचिवालय सदस्य एवं बुटवल इन्चार्ज हुन् । द्वितीय उपाध्यक्षमा भण्डारीको प्यानलबाट नामदेव पाण्डे र अधिकारीको प्यानलबाट प्रेमनाथ पाण्डे, कोषाध्यक्षमा भण्डारीको प्यानलबाट झविन्द्र अधिकारी र अधिकारीको प्यानलबाट मनिराम खनाल उम्मेदवार छन् ।

सचिवमा भण्डारीको प्यानलबाट मनहरी बस्याल र अधिकारीको प्यानलबाट मनिमदिन मिया, सहसचिवमा भण्डारीको प्यानलबाट प्रकाशराज पौडेल तथा अधिकारीको प्यानलबाट मेघनाथ पौडेल तथा सहकोषाध्यक्षमा भण्डारीको प्यानलबाट विनित भट्टराई र अधिकारीको प्यानलबाट अर्जुनप्रसाद भट्टराईको उम्मेदवारी परेको छ ।

२० मध्ये १६ जना कार्यसमिति सदस्यको लागि ३२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । चार जना कार्यसमिति सदस्यहरुमा हरिबहादुर सुनार, पूर्णप्रसाद काफ्ले, तिलक आचार्य र कुलबहादुर बिसी निर्बिरोध भएका छन् । संघमा एक हजार ५०० भन्दा बढी व्यवसायी सदस्य छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा आउँदासम्म निरन्तर योगदान गरेका आधारमा अध्यक्षमा आफ्नो दावी स्वभाविक र न्यायोचित भएको भण्डारीले बताए । अधिकारीले भने व्यवसायिक संघ संस्थाहरू परम्परागत ढंगले नचल्ने हुँदा संघको नेतृत्वमा युवा पक्ति आवश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?