
३ माघ, काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले विधेयक संसदमा लैजान स्वीकृति दिएको हो । गृह मन्त्रालयका अधिकारीहरुका अनुसार विधयेकमा कुनै संशोधन गरिएको छैन ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २ भदौ २०७८ दल विभाजनलाई सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो ।
केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत जुटाएर नयाँ दल दर्ता हुने गरी ल्याएको अध्यादेशअनुसार नेकपा एमाले फुट्यो र एकीकृत समाजवादी बन्यो । जनता समाजवादी पार्टीको बैधानिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन भएका महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका थिए ।
११ असोज २०७८ मा देउवा सरकारले नै अध्यादेश खारेजीका लागि सिफारिस गरेको थियो । त्यसअनुसार राष्ट्रपतिले अध्यादेश खारेज गरेपछि राजनीतिक दलसम्बन्धी ऐन ब्यूँताइएको थिएन । अहिले त्यसकै लागि संशोधन विधेयक आएको गृह स्रोतले बताएको छ ।
प्रतिक्रिया 4