
३ माघ, काठमाडौं । भीड तथा दंगा नियन्त्रणमा घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
शान्तिपूर्ण रुपमा हुने प्रदर्शन, भीड र दंगाहरुमा सु्रक्षाकर्मीले घातक हतियार प्रयोग गरी नागरिकको ज्यान गएको भन्दै घातक हतियारमा रोक लगाउन आदेशको माग भएको हो । शान्तिपूर्ण प्रदर्शनमा धातुको गोली(मेटल बुलेट) प्रयोगमा रोक लगाउनुपर्ने माग पनि छ ।
भीड नियन्त्रणमा अत्यधिक बल प्रयोग र घातक हतियारको प्रयोगमा बन्देज लगाउनुपर्ने माग सहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् ।
उनले प्रहरीलाई दिइने भीड नियन्त्रणको तालिमका क्रममा नै अहिंसात्मक तौरतरिका सिकाउनुपर्ने माग गरेका छन् । त्यो विषयलाई अनिवार्य तालिममा समावेश हुनुपर्ने रिट निवेदनमा माग छ ।
‘भीड नियन्त्रणका गैरघातक हतियारको प्रयोग गर्दा पनि मानव अधिकारका आधारभूत मापदण्डको प्रयोग सुनिश्चित गर्नुपर्ने’, निवेदनमा भनिएको छ, ‘निहत्था नागरिकमाथि घातक हतियारको प्रयोग गर्ने एवं जीवन अपहरणमा संलग्नमाथि ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने ।’
प्रहरीसँग आत्मसुरक्षाको साधनको अभाव भएको भन्दै उनले त्यसले गर्दा पनि अत्यधिक बल प्रयोग भएको दावी गरेका छन् । प्रहरीलाई पर्याप्त मात्रामा हेल्मेट, सुरक्षा ज्याकेट, बुलेट प्रुफ साधन उपलब्ध गराउनुपर्ने उनको माग छ । निवेदनमाथि बिहीबार प्रारम्भिक सुनुवाइ हुनेछ ।
प्रतिक्रिया 4