
४ माघ, बुटवल । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाबीच बिहीबार भेटवार्ता भएको छ ।
लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका बिषयमा छलफल भएको छ । भेटमा जापानी वास्तुविद् केञ्जे टांगेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनी भ्रमणमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवर्द्धनमा सहकार्यका बिषयमा छलफल भएको उपाध्यक्ष डा. लामाले बताए ।
राजदूत सोङ्गले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले पूर्णता दिने तयारीमा जुटेको बताएका थिए ।लुम्बिनीको गुरूयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरूयोजना बनाउने योजनामा रहेको समेत उपाध्यक्ष डा. लामाले बताए ।
चिनियाँ नयाँ बर्षको अवसर पारी बिहीबार नै चिनियाँ विहारमा प्रसाद वितरण कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले हजारौं चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आतुर रहेको बताए ।
राजदूत र भिक्षु गुरुलाई धन्यवाद दिदै उपाध्यक्ष लामाले भने ‘प्रत्येक दिन, प्रत्येक महिना हजारौं चिनियाँहरुलाई लुम्बिनीमा स्वागत गर्न पाउ, त्यो दिनको पखाईमा छौं ।’
कार्यक्रममा राजदूत सोङले १५ सय बर्षअघि चिनियाँ यात्रीहरु गरेको पैदल यात्रा र त्यही यात्रा वितान्तले लुम्बिनी पत्ता लगाउने सहयोग गरेको स्मरण गर्दै बुद्धजन्मस्थल जस्तो पवित्र स्थलमा आएर प्रसाद वितरण गर्न पाउदा निकै खुशी लागेको बताए ।
उनले नेपाल र चीनबीचको सम्बन्ध हजारौं बर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको बताए । उनले विश्वमा अशान्ति भइरहेकाले बुद्धको शान्ति र अहिंसाको सन्देश सबैले ग्रहण गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4