
काठमाडौं । माघ २६ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘दयारानी’को रोचक टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण खुलासा गर्छ ।
शीर्ष भूमिकामा दयाहाङ राई र दीया पुनले अभिनय गरेका छन् । फिल्ममा यी दुईले सन्तान सुखको चाहना राख्ने निःसन्तान दम्पतीको भूमिका निर्वाह गरेका छन् ।
पत्नीको भूमिकामा रहेकी दीया निःसन्तान हुन्छिन् । जुनसुकै उपायबाट पनि सन्तान चाहिने दबाब उनी पतिसामु राख्छिन् । कि सन्तान कि आफू मर्ने धम्की उनको छ । त्यसपछि दयाहाङ साली भेट्न ससुरालीतिर लागेको देखिन्छ । भिनाजुले आफूलाई कान्छी बनाउने रे भन्ने संवादसहित टिजर सकिन्छ ।
सात गुरुङ फिल्म निर्देशन गरेका पाका फिल्ममेकर तथा अभिनेता माओत्से गुरुङको यो नेपालीभाषामा पहिलो डेब्यु फिचर हुनेछ । उनले गुरुङ समुदायको संस्कृति र परम्परालाई दयारानीमा चित्रण गरेको बताए ।
यो मल्टिस्टारर फिल्ममा विजय बराल, प्रमिस गुरुङ, शिरिष कुँवर, नयन गुरुङ, पुष्कर गुरुङ, टीकाराम घले लगायतको अभिनय छ । बाँसुरी फिल्म्सको प्रस्तुति र माओत्से गुरुङ फिल्म्सको निर्माणमा फिल्म प्रदर्शन हुन लागेको हो ।
प्रतिक्रिया 4