+

खोपले शरीरमा कसरी काम गर्छ ?

२०८० माघ  ५ गते १३:३९ २०८० माघ ५ गते १३:३९
खोपले शरीरमा कसरी काम गर्छ ?

जब हामी जन्मिन्छौं, लगत्तै शरीरमा खोप (सुई) लगाइन्छ । त्यसपछि केही हप्तामा अर्को खोप लगाइन्छ । जन्मिएर एक वर्षको उमेर हुँदासम्म हाम्रो शरीरमा एक दर्जन खोप लगाइसकेको हुन्छ ।

आखिर किन यसरी खोप लगाउनुपरेको होला ? खोप लगाएन भने के होला ? यससँगै उठ्ने अर्को प्रश्न हो, विभिन्न रोगव्याधिले सताउँदा किन खोप अनिवार्य लगाउनुपर्ने हुन्छ ?

खासमा खोपले हाम्रो शरीरमा यस्तो प्रतिरक्षा प्रणाली विकास गरिदिन्छ, जसले कतिपय सम्भावित रोग लाग्न दिंदैन । खासमा यो एउटा सूक्ष्म जैविक पदार्थ हो ।

खोपको विकास हुनुअघि बाल मृत्युदरको आँकडा अत्यासलाग्दो थियो । बालबालिकाहरु विभिन्न संक्रामक रोगको सिकार हुन्थे र अकालमै ज्यान गुमाउँथे । यसरी नै विश्वका बालबालिकालाई ‘बिफर’ले त्रस्त बनाएको थियो ।

सन् १७९६ मा बेलायती वैज्ञानिक इडवार्ड जेनरले बिफरबाट बचाउन आधुनिक खोपको इतिहास सुरु गरेका थिए । बिफरविरुद्ध खोप दिने अभियान तीव्र बनाइयो । सन् १९८० मा विश्व स्वास्थ्य संगठनले ‘बिफर विश्वव्यापी रुपमै उन्मूलन भएको’ प्रमाणित गर्‍यो । खोपको कारण संक्रामक रोग उन्मूलन भएको यो पहिलो घटना थियो ।

 

नेपालमा भीमसेन थापाको पालामा बिफरको खोप पहिलो पटक भित्र्याइएको थियो । त्यसो त बिफर भाइरसले १९ औं र २० औं शताब्दीमा बिफरले नेपालीलाई आच्छु–आच्छु बनाएको थियो । त्यसबेला सर्वसाधारणदेखि राजा–रानीसमेत यस महामारीको सिकार भए । सन् १७९९ मा राजा रणबहादुर शाहकी पत्नी कान्तिवती बिफरले ग्रस्त भएपछि राजा रणबहादुरले सिंहासनसमेत त्यागेको इतिहास पाइन्छ ।

नेपालमा खोपको प्रचलन सुरु हुनुअघि मान्छेहरु ‘हे भगवान रोगव्याधि नलागोस्’ भनी पुकारा गर्थे । नेपालमा २०३४ सालदेखि विस्तारित खोप सेवा सुरु भएको हो । खोपकै कारण पोलियो जस्ता रोग उन्मूलन उन्मुख भएको छ । दादुरा, रुबेला नियन्त्रणको अवस्थामा छ ।

खोप किन लगाइन्छ ?

कुनै पनि रोगबाट शरीरलाई सुरक्षित राख्न खोप लगाइन्छ । साथै कतिपय रोग नियन्त्रण र उन्मूलनका लागि पनि खोप लगाइन्छ । यसले शरीरभित्र ब्याक्टेरिया वा भाइरसले विकास गर्ने विषाक्त पदार्थलाई कमजोर बनाउँछ ।

शरीरलाई रोगप्रतिरोधी बनाउन र कतिपय रोगको जोखिमबाट बचाउन खोप लगाइन्छ । यसरी खोपले जीवनको रक्षा गर्छ ।

नेपाल सरकारले बालबालिकालाई १३ वटा रोगविरुद्धको खोप उपलब्ध गराएको छ । यो खोप शिशु जन्मिएलगत्तै सुरु हुन्छ र १५ महिनाको हुँदासम्म लगाउनुपर्छ । बालबालिकाका लागि उपलब्ध हुने खोप पायक पर्ने स्वास्थ्य चौकी वा खोप केन्द्रमा उपलब्ध हुन्छ ।

शिशु मात्र होइन, गर्भवतीलाई पनि खोप लगाउनुपर्छ । उनीहरुलाई दुईवटा टीडी खोप लगाइन्छ । गर्भवती भएलगत्तै पहिलो मात्रा र एक महिनापछि अन्तरालमा दोस्रो मात्रा खोप लगाइन्छ । यस खोपले गर्भवतीलाई धनुष्टंकार र भ्यागुते रोगविरुद्ध सुरक्षा दिन्छ । साथै गर्भभित्रका शिशुलाई ती रोगसँग लड्ने क्षमता विकास गर्छ ।

भर्खरै मात्र सरकारले किशोरीहरुलाई एचपीभी खोप उपलब्ध गराएको थियो । यसले उनीहरुमा पाठेघरको मुखको क्यान्सर हुने जोखिमबाट बचाउँछ । त्यस्तै कहिले संक्रामक रोगको महामारीबाट बच्न त कहिले आकस्मिक दुर्घटना (कुकुर, बिरालोको टोकाइ)बाट शरीरलाई बचाइराख्न खोप लगाउनुपर्ने हुन्छ ।

खोप लगाइएन भने के हुन्छ ?

शिशुलाई डेढ वर्षको उमेरभित्र १३ वटा खोप अनिवार्य गरिएको छ । यी खोप लगाउन छुटेमा विभिन्न रोगको जोखिम रहन्छ । जस्तो भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस बीबाट हुने मेनिन्जाइटिस र निमोनिया । यसैगरी समयमै खोप दिइएन भने पोलियोमाइलाइटिस, रोटा भाइरसबाट हुने पखाला, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस जस्ता रोगहरुले कुनै पनि बेला सताउन सक्छ ।

कुन खोप, कहिले ?

बीसीजी खोप

यो खोप शिशु जन्मिने बित्तिकै लगाइन्छ । यसले क्षयरोगविरुद्ध लड्ने काम गर्छ । यो एक मात्रा लगाए पुग्छ । अस्पतालमा जन्मिएका बालबालिकालाई यो खोप त्यहीं लगाइन्छ । तर शिशु घरमा जन्मिएको अवस्थामा अस्पताल, स्वास्थ्य केन्द्र र खोप केन्द्रमा गएर लगाइदिनुपर्छ ।

डीपीटी, हेप बी खोप

यी खोप शिशुलाई ६, १० र १४ हप्ता गरी तीन पटक लगाइन्छ । डीपीटीले भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकारबाट बचाउँछ भने हेप बी खोपले हेपाटाइटिस बी र हेमाफिलस बी खोपले हेमोफिलस बीबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउने काम गर्छ ।

पोलियो थोपा

पोलियोको खोप पनि ६, १० र १४ हप्ताको उमेरमा मुखबाट ख्वाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमालाइटिस अर्थात् पक्षघात हुनबाट जोगाउँछ ।

एफआपीभी

यो खोप पोलियोविरुद्ध सुइद्वारा दिइने खोप हो । यो शिशुलाई जन्मेको ९ हप्ता र १४ हप्ताको उमेरमा दुईपटक दिनुपर्छ ।

रोटा खोप

बालबालिकामा रोटा भाइरसका कारण बढ्ता झाडापखाला लाग्छ । रोटा भाइरसबाट हुने झाडापखाला रोक्नका लागि शिशु जन्मेको ६ हप्ता र १० हप्तामा रोटा खोप दिइन्छ ।

पीसीभी खोप

यो खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ । यो तीन पटक दिइन्छ । यसले न्युमोकोकसबाट हुने मेनिन्जाइटिस, कान पाक्ने समस्या र निमोनियाबाट बचाउँछ ।

दादुरारुबेला खोप

यो खोप ९ महिना र १५ महिनाको उमेरमा दादुरा–रुबेलाविरुद्धको दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।

टाइफाइडको खोप

यो खोप टाइफाइड रोगविरुद्ध दिइन्छ । यो शिशु जन्मेको १५ महिनामा एकपटक दिइन्छ ।

जेई खोप

यो खोप १२ महिनाको उमेरमा दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।

कुनकुन माध्यमबाट खोप लगाइन्छ ?

पोलियो र रोटा खुवाइन्छ । अन्य खोप सुईको माध्यमबाट बीसीजी, पीसीभी, एफआईपीभी, डीपीटी, दादुरा र रुबेला, जापानिज इन्सेफलाइटिस दिइन्छ । बीसीजी, एफआईपीभी, दादुरा र रुबेला खोप पाखुरामा सुईद्वारा लगाइन्छ भने बाँकी खोप तिघ्रामा लगाइन्छ ।

खोप लगाउन ढिलो भएमा के हुन्छ ?

तोकिएको समय अर्थात् १५ महिनाभित्रै खोप लगाउनु प्रभावकारी हुन्छ । तर कुनै कारणले खोप लगाउन छुट्न वा ढिलो हुनसक्छ । तर ढिलो भयो भन्दैमा खोप नलगाई बस्नु हुँदैन । ढिलै भएपनि खोप अनिवार्य लगाउनुपर्छ । साथै नेपाल सरकारले ‘डिले खोप’ अर्थात् खोप लगाउन छुटेका वा ढिलो भएकालाई पाँच वर्षसम्म पनि दिने गरेको छ ।

तस्वीर, भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

खोप बालबालिका
डा. झलक गौतम
लेखक
डा. झलक गौतम
जनस्वास्थ्यविद्

डा. गौतम स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा राष्ट्रिय खोप कार्यक्रमका पूर्वप्रमुख हुन् । उनले जनस्वास्थ विषयमा स्नातकोत्तर गरेका छन् । उनको नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर १३९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?