‘मनको कुरालाई बाँधी नराख
गाँठो परी जाला, चट्ट सुनाइदेऊ’
डेनी डेन्जोङ्पाले गाएको यो गीतले मानसिक स्वास्थ्यको महत्वपूर्ण पाटो उजागर गर्छ । मनमा कुरा गुम्साएर राख्ने जुन प्रवृत्ति हो, त्यसले राम्रो नतिजा दिंदैन ।
हाम्रो मनमा असंख्य कुरा तँछाडमछाड आउने गर्छ । कहिले राम्रो कुरा आउँछ, कहिले नराम्रो । कति कुराले दुःखी बनाउँछ, कतिले उत्साहित पनि । मनमा आउने यस्ता कुराहरुले हामीलाई भावनात्मक रुपमा उथलपुथल बनाइराख्छ । यस्तो सबैमा हुन्छ र यसलाई त्यति असामान्य मान्न सकिंदैन ।
तर कहिलेकाहीं मनमा नकारात्मक कुरा मात्र खेल्न थाल्छ । आफू समस्या वा पीडामा मात्र भएको महसुस भइरहन्छ । यस्तो हुनुमा कतिपय परिस्थिति पनि जिम्मेवार हुन्छ । रोगको कारण, ऋणको कारण, पारिवारिक विचलनको कारण, झगडाको कारण, आफन्त वियोगको कारण ।
त्यससँगै कति यस्ता कुरा हुन्छन्, जो बाहिर देखिंदैन । तर त्यसले हामीलाई भित्रभित्रै पिरोलिरहेको हुन्छ । जस्तो, अपमानको कारण, असफलताको कारण, धोकाको कारण, प्रेम वियोगको कारण, धम्की वा अत्याचारको कारण । यसबेला हाम्रो हाम्रो मनमा अनेक कुरा खेल्न थाल्छन् ।
यी कुराहरु जतिजति मनभित्रै गुम्साएर राख्छौं, उत्ति नै त्यो गाँठो पर्दै जान्छ । जब मनको कुरा गाँठो पर्न थाल्छ, एन्जाइटी–डिप्रेसन जस्ता समस्याले घेरा हाल्न थाल्छ । के गरौं, कसौं गरौं भन्ने छटपटी हुन्छ । खानामा अरुचि, अनिद्रा हुन्छ । रमाइलो-मनोरञ्जनमा पनि मन रमाउँदैन । यसरी हामी उदास, दुःखी र कमजोर हुँदै जान्छौं । यसले हाम्रो दैनिक जीवनमै असर गर्न थाल्छ ।
किनभने मनमा जति कुरा गुम्साउँछौं, त्यसले हामीलाई समस्यामाथि समस्या थोपर्न थाल्छ । त्यसबाट कसरी बाहिर आउने, कसरी उम्किने भनेर निकास पाउन सक्दैनौं । नतिजा, कहिलेकाहीं आवेगमा अप्रिय निर्णयसम्म लिन पुग्छौं ।
त्यसैले मनका कुरा साझेदार गर्नुपर्छ ।
चाहे त्यो कुरा राम्रो होस् वा नराम्रो, खुलेर व्यक्त गरेको राम्रो हो । यसरी मनको कुरा अरुलाई सुनाएपछि हामीलाई हल्का अनुभव हुन्छ ।
आफूलाई व्यक्त गर्ने र नगर्ने मान्छेको प्रवृत्ति पनि हो । हुन त कतिपय मान्छेले अन्तर्मुखी हुन्छन् । उनीहरु प्राय: आफ्नो कुरा खोल्दैनन् । जतिसुकै दुःख, पीडा भएपनि लुकाएर बस्छन् । जतिसुकै समस्या भएपनि अरुलाई सुनाउँदैनन् । उनीहरुमा मानसिक तनाव बढी हुन्छ ।
कतिपय मान्छे चाहिं आफूलाई सहजै व्यक्त गर्छन् । दुःखको कुरा होस् वा सुखको, उनीहरु दोस्रो व्यक्तिलाई सुनाइहाल्छन् । यसरी मनको कुरालाई सहज रुपमा व्यक्त गर्नेहरु मानसिक रुपमा त्यति पिरोलिएका हुँदैनन् ।
मनको कुरा गाँठो परेपछि
मनमा कुरा गुम्साइरहँदा तनाव हुन्छ, तनावले एन्जाइटी । तब हामीलाई उकुसमुकुस लाग्न थाल्छ । काम गर्न जाँगर चल्दैन । केही गर्न र सोच्न सक्दैनौं । शरीर नै थाकेको महसुस हुन्छ । हीनताभाव वा ग्लानि पैदा हुन्छ ।
यो क्रम बढ्दै जाँदा शारीरिक रुपमा पनि हामी कमजोर हुन थाल्छौं । मुटु काँप्ने, शरीर वा हातखुट्टा झमझमाउने, टाउको दुख्ने, झर्को लाग्ने हुन्छ । दैनिक जीवनमा हामीले अनेक समस्या, सास्ती झेल्नुपर्छ । कतिपय भय, तनावले पनि हामीलाई घेरिरहेको हुन्छ । यस्तो अवस्थामा मनमा अनेक शंका, उपशंका पैदा हुनु स्वभाविक हो । तर यसलाई मनमा नै सीमित राख्नु हुँदैन । अरुलाई व्यक्त गर्नुपर्छ ।
आफ्नो कुरा परिवारका सदस्य, आमाबुवा, श्रीमान् वा श्रीमती, दाजुभाइ–दिदीबहिनी, साथीभाइ, इष्टमित्रमध्ये जो अनुकूल हुन्छ, उनीहरुसँग साझेदार गर्नु उपयुक्त हुन्छ । यसले गर्दा मन हल्का हुन्छ, पीडाको अवस्था कम हुन्छ र कतिपय समस्याको समाधान निस्कन्छ ।
त्यसैले बोलौं, बातचित गरौं । भेटघाट, रमाइलो गरौं । आफूलाई खुलेर प्रस्तुत गरौं । मनमा कुरा गुम्साएर नराखौं । मानसिक स्वास्थ्यका लागि अति महत्वपूर्ण कुरा हो, बातचित गर्नु ।
आफन्त, साथीभाइ, परिवारजनसँग बोल्ने, आफ्नो कुरा भन्ने, अरुको कुरा सुन्ने बानी गरौं । यसले हामीलाई मानसिक रुपमा बलियो बनाउँछ ।
प्रतिक्रिया 4