+
+

पृथ्वीराजमार्गको पश्चिमखण्ड विस्तारको काममा मन्त्री ज्वाला असन्तुष्ट

आयोजना प्रमुखसँग मागे दैनिक रिपोर्ट कार्ड

विकास रोकामगर विकास रोकामगर
२०८० माघ ५ गते १९:०४

५ माघ, पोखरा । संघीय सरकारका भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार पृथ्वीराजमार्ग विस्तारको कामलाई निरीक्षण गरेका छन् । मुग्लिनदेखि पोखरा जोड्ने यो सडकखण्डमा अहिले २ भागमा विभाजन गरेर सडक विस्तारको काम भइरहेको छ ।

मन्त्रालयका सचिवसहित यो सडकखण्डको विभिन्न भाग, निर्माणाधीन पुललगायत निरीक्षण गर्दै पोखरा आइपुगेका ज्वालाले पूर्व खण्डको काम सन्तोषजनक भए पनि पश्चिमखण्डको काममा असन्तुष्टि पोखेका छन् ।

पृथ्वी राजमार्ग विस्तारको काम पूर्वीखण्ड (आँबुखैरेनी–जामुने) र पश्चिमखण्ड (जामुने–पृथ्वीचोक) गरी २ खण्डमा बाँडेर सुरु गरिएको थियो । जसमध्ये हालसम्म पूर्वतर्फ ४५ प्रतिशत भौतिक प्रगति भइसकेको छ भने पश्चिमतर्फ जम्मा १४.२ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।

भूगोलको बनावटअनुसार २१ देखि ४५ मिटरसम्म फराकिलो बनाउने गरी एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा राजमार्ग विस्तार भइरहेको छ ।

पूर्वतर्फको काम केही सन्तोषजनक भए पनि पश्चिमतर्फका काममा भने सरकारले कडाइ गर्ने स्थिति आइसकेको मन्त्री ज्वालाले बताए ।

मुग्लिन–पोखरा सडकखण्ड निरीक्षणपछि मन्त्री ज्वालाले शुक्रबार दिउँसो पोखरामा दुवै सडकखण्डका आयोजना प्रमुखलाई समेत सहभागी गराएर पत्रकार सम्मेलन गरे । जहाँ उनले सम्झौता मिति सकिनेबेलासम्म १५ प्रतिशत पनि भौतिक प्रगति नभएको पश्चिमखण्डका आयोजना प्रमुखसँग असन्तुष्टि पोखे ।

मुग्लिन–पोखरा सडकखण्डको पश्चिमतर्फको आयोजना प्रमुख राजेन्द्रप्रसाद पौडेललाई अब दैनिक रिपोर्ट कार्ड सडक विभागमा पठाउन मन्त्री ज्वालाले निर्देशन दिए ।

‘खासगरि यो सेतीपुलसहित पश्चिमतिरको खण्डमा अलिअलि हस्तक्षेप नै गर्नेगरी, प्रेसर नै गर्नेगरी हामी काम अगाडि बढाउँछौं । प्रत्येक दिन आयोजना प्रमुखहरुले विभागमा उपलब्ध गराउनुपर्छ,’ मन्त्री ज्वालाले भने, ‘यही पत्रकार सम्मेलनमार्फत उहाँहरुलाई निर्देशन पनि जारी गर्न चाहन्छु । कडाइका साथ निर्देशन दिन चाहन्छु ।’

सडक विस्तारको काम छिटो नहुँदा स्थानीयबासिन्दासहित यात्रुले पनि सास्ती खेपिरहेका छन् भने सरकारको पनि आलोचना भइरहेको छ । अब आयोजना प्रमुखले दैनिक रिपोर्ट बुझाउने र काम सन्तोषजनक नभए सरकारले अर्को निर्णय लिन बाध्य हुने उनले चेतावनीसमेत दिए ।

‘विभागले पाएको रिर्पोटअनुसार प्रगतिको रेसियो बढ्दै गयो भने यो काम सन्तोषजनक रुपमा अगाडि बढेको भन्ने हुन्छ । त्यसो नभएसम्म यो काम अगाडि बढ्न निकै गाह्रो छ’, मन्त्री ज्वालाले भने, ‘पछिल्लो अक्टोबर र नोभेम्बरमा जुन रेसियोमा काम भइरहेको छ, त्यही रेसियोमा काम बढाउँदै जाने हो ।’

हाल काम गरिरहेको कम्पनीले लामो समयदेखि काम गरिरहेको र उक्त राजमार्ग अन्तर्गत पर्ने स्थानीय तहले पनि केही समय मौका दिन आग्रह गरेकाले आफू सकारात्मक भएको मन्त्री ज्वालाको भनाइ थियो । उनले भने, ‘अब त्यति गर्दा पनि भएन भने हार्मी अर्को विकल्प खोज्छौं ।’

पृथ्वीराजमार्गको पश्चिमखण्ड अर्थात् तनहुँको जामुनेदेखि पोखरासम्म पश्चिम खण्ड चीनको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ०७८ भदौमा ठेक्का पाएको थियो । ४२ महिनाभित्र काम सक्ने गरी राजमार्ग विस्तारको जिम्मा अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको छ । उक्त सडकखण्डको म्याद ०८१ भदौमा सकिँदैछ ।

तर, म्याद सकिने केही महिनामात्रै बाँकी हुँदा पनि कुनैकुनै भागमा सडक विस्तारको प्रक्रियासमेत पूरा भएको छैन । तनहुँको जामुनेदेखि कोत्रेसम्मको भागमा केही काम सुरु भए पनि पोखरातर्फ भने शून्य छ ।

समय ८० प्रतिशत सकियो, १४ प्रतिशत भौतिक र २४ प्रतिशतमात्रै वित्तिय प्रगति

आयोजना प्रमुख राजेन्द्रप्रसाद पौडेलले पनि सम्झौता म्यादअनुसार ८० प्रतिशत समय सकिँदा पनि ठेकेदार कम्पनीको तर्फबाट काम नभएको स्वीकारे ।

उनले वित्तीय प्रगति पनि हालसम्म २४ प्रतिशतमात्रै रहेको बताए । ‘त्यो पनि १५ प्रतिशत कन्ट्रयाक मोबिलाइजेसनअन्तर्गत उपलब्ध गराइएको हो । त्योबाहेक अरु खर्च गर्न सकिएको छैन,’ उनले भने ।

पौडेलले ठेकेदार कम्पनीबाट पर्याप्त जनशक्ति, निर्माण सामग्रीको अभाव अझै रहेको औंल्याए । पश्चिमखण्डमा सबैभन्दा बढी बजार क्षेत्र पर्ने भएकाले पनि सडक विस्तारमा समस्या आइरहेको उनको भनाइ थियो ।

खानेपानी आयोजना, विद्युत लगायतसँग सम्झौता, समन्वय गर्दैै अगाडि बढ्नुपर्ने भएकाले काममा ढिलाइ भइरहेको उनको दाबी थियो । ‘हाम्रो सडकखण्डमा उपभोक्ता समितिले सञ्चालन गरेको प्रोजेक्टमात्रै २६ वटा रहेछ । जोसँग २३ वटा सम्झौता गरेर कार्य अगाडि बढाउनुप¥यो’, उनले भने । यो खण्डमा करिब १९ किलोमिटर क्षेत्रफल पोखरा महानगरपालिकाभित्र पर्दछ ।

सेती पुल बन्न बल्ल सुरु, एउटाको अझै अन्योल !

आयोजना प्रमुख पौडेलका अनुसार यो सडकखण्डमा १२ वटा पुल बनाउने ठेकेदार कम्पनीको जिम्मामा छ । त्यसमध्ये ८ वटा साना हुन् भने ४ वटा ठूला पुल । ४ वटा मुख्य पुलमध्ये सेतीसहित ३ वटा पुल बन्न सुरु भइसक्दा एउटा भने डिजाइन नै फाइनल हुन सकेको छैन ।

ठूला पुलमध्ये पोखरा पृथ्वीचोक नजिकै रहेको सेती ‘सिग्नेचर ब्रिज’ असोजबाट बल्ल बन्न सुरु भएको छ । यही सडकखण्डभित्र पर्ने विजयपुर खोलामाथि बन्ने पुल भने अझै अन्योल छ । विजयपुर खोलामाथि त्यही पुल नै तत्कालीन लेखनाथ र पोखरालाई जोड्ने मुख्य पुल हो ।

तर, त्यही पुलको डिजाइन हालसम्म पनि फाइनल नहुँदा पनि सडक विस्तारको काम अझै लम्बिने प्रष्ट छ । आयोजना प्रमुख पौडेल नयाँ डिजाइनका लागि समय अपर्याप्त रहेकाले पुरानै डिजाइनअनुसार पुल बनाउने तयारी भइरहेको बताउँछन् ।

‘विजयपुर ब्रिजमा अर्को कुनै अल्टरनेटिभ वेमा जाने कि ? आर्मी क्याम्पबाट विजयपुरसम्म ठूलो ६ लेनको बनाउने कि ? भन्ने सोचाइमा पनि थियौं । तर, कन्ट्रयाकमा टाइम सकिन लाग्यो’, पौडेलले भने, ‘यही कन्ट्रयाकबाट त्यसलाई एड्रेस गर्न नसक्ने भएर हामीले डिजाइनअनुसार नै आर्मी ब्यारेकबाटै फोरलेनको पुल बनाऔं भन्ने इन्जिनियरलाई इन्स्ट्रक्चर दिइसकेको अवस्था छ ।’

आउँदो मनसुनसम्म बल्ल एक लेन विस्तार लक्ष्य

ठेकेदार कम्पनीले सन् २०२५ डिसेम्बरसम्म सडक विस्तारको काम सकेर बुझाउने प्रतिबद्धता जनाएको आयोजना प्रमुख पौडेलले सुनाए । त्यसका लागि उनीहरुले हाल आफ्नो ‘टार्गेट’ राखेर काम गरिरहेको उनको भनाइ थियो ।

ठेकेदार कम्पनीले मनसुन अगाडिसम्म एकतर्फ बाटो क्लियर गर्ने लक्ष्य राखेको बताए । ‘फेब्रुअरीसम्म यो दिन्छु, मार्चसम्म यो दिन्छु भनेर उहाँहरुले भन्दै गर्दा मनसुनभन्दा अगाडि १८ किलोमिटर बाटो मिडियमबाट वल्डसाइज २ लेन बनाउने भन्या छ’, उनले भने, ‘त्यसले एउटा साइड रोड पनि बन्ने र अर्को साइट क्लियर पनि हुने हुन्छ ।’

तिहारभन्दा अगाडि कुनै पनि काम नभएको अवस्थामा केही महिनाभित्रै धेरै प्रगति भएको दाबी गर्दै पौडेलले भने, ‘तर, यो नै सन्तोषजनक हो । यही रेटले एकदेढ वर्षमा काम सक्छौं भन्ने होइन ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?