
काठमाडौं । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्म ‘पूजार सार्की’को शीर्ष गीतमा प्रकाश सपुत र शान्तिश्री परियारले स्वर दिएका छन् ।
यी दुई गायकले शनिबार गीत रेकर्ड गरे । निर्देशक दिनेश राउतले प्रकाश र शान्तिश्रीसँगको तस्वीर सेयर गर्दै गीत रेकर्ड भएको जनाएका छन् । लोकशैलीमा तयार हुँदै गरेको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत र हेमन्त कान्छा रसाइलीको एरेन्ज छ ।
फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बू मुख्य अभिनेत्री हुन् । बराइलीले यसअघि ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परीक्षाले ‘जारी’ र ‘छक्कापञ्जा ४’ मा अभिनय गरेकी छन् ।
माघ मध्यबाट छायांकन सुरु हुने यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । संगीतकार समेत रहेका सुवास भुसालले फिल्म निर्माण गर्दैछन् । दर्जन फिल्ममा संगीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् ।
यसैबीच, पछिल्लो समय चलेका गीतहरू ‘तीनपाते’, ‘फूलथुंगे रानी’, लजाएर’, गाला पुक्क’, घुमीघुमी’, मिलेको जीउ छिनेको कम्मर’, बाफ’ लगायतका गायक सुजन चापागाईं फिल्म ‘बलिदान’को संगीतकारमा जोडिएका छन् ।
चापागाईंसँगै उनको सांगीतिक संस्था आर्टमान्डु टिमका सदस्य गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि यसमा आबद्ध छन् । फिल्मको गीत तथा पार्श्वध्वनिमा यो टिमले नेतृत्व गर्ने भएको छ । साउदले गीत रचना गर्नेछन् भने चापागाईले संगीत र ब्याकग्राउण्ड म्युजिक तयारी गर्नेछन् । चौहानले टिम व्यवस्थापन गर्नेछन् ।
पछिल्लो समय नेपाली फिल्ममा सांगीतिक टिमलाई नै संगीतको जिम्मेवारी दिन थालिएको छ । यसअघि सुजनले केही फिल्मका गीतमा आवाज दिइसकेका छन् ।
आसुसेन प्रालि तथा सन्तोष सेनको प्रस्तुति रहने यो फिल्ममा निर्माताको रूपमा पवन बिष्ट, कार्यकारी निर्मातामा चक्रबहादुर चन्द र प्रेम पुरी छन् ।
प्रतिक्रिया 4