
७ माघ, विराटनगर । कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न कोशी सरकारले गठन गरेको वार्ता समितिका संयोजक कमलप्रसाद जबेगुले पहिचान पक्षधरको माग पूरा गर्न कठिन रहेको बताएका छन् ।
आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जबेगुले पहिचान पक्षधरले राखेका मागमध्ये संविधानसम्मत मागहरु मात्र पूरा गर्न सकिने बताएका हुन् ।
‘पहिचान पक्षधरको माग पूरा गर्न अप्ठेरो पर्छ, त्यसलाई सरकारले कतिसम्म लचकता दिन सकिन्छ हेर्छौं’, उनले भने ।
गत फागुनमा प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी राखेको थियो । तर उक्त नामको विपक्षमा रहेका विभिन्न राजनीतिक दल जातीय संघसंस्थाहरुले पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जबेगुले पहिचान पक्षधरको मागलाई केही न केही हदमा पूरा गर्ने कोशिस गर्ने बताए । ‘उहाँहरुको माग कतिसम्म पूरा गर्न सकिन्छ त्यसलाई प्रदेश सरकारको तर्फबाट कत्ति पनि कन्जुस्याइँ नगरी शान्तिपूर्ण अवतरण गराउन पहल गर्छौं’ जबेगुले भने ।
पहिचान पक्षधरसँग वार्ता गर्नुअघि कोशी सरकार र प्रदेशसभामा रहेका दलहरुसँग छलफल गर्ने पनि उनले बताए ।
कोशी सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न शनिबार वार्ता समिति गठन गरेको थियो । वार्ता समितिको केही दिनमा बैठक बस्ने र आन्दोलनरत पक्षलाई आधिकारिक रुपमा वार्तामा बोलाउने उनले बताए ।
प्रतिक्रिया 4