+
+

हिउँदमा सुक्खा बागमतीलाई मेलम्ची झर्दा राहत

अमृत चिमरिया अमृत चिमरिया
२०८० माघ ७ गते १४:२५
फाइल तस्वीर

७ माघ, काठमाडौं । गएको बिहीबार कोटेश्वरकी शारदा कुँइकेलले ट्यांकीमा मेलम्ची पानी भरिइसक्दा पनि पानी आइरहेपछि खाली इनारमा भरिन् ।

साताको २ हजार रुपैयाँ खर्च गरेर ट्यांकरको पानी किन्दा कन्जुस्याइँ गरी पानी चलाउनुपरेको शारदालाई बिहीबार भने बढी भयो ।

‘मंसिरमै मोटरले तानेपछि इनारमा पानी सकिइसकेको थियो । एक फिट जति पिँधमा पानी भए पनि तान्न मिल्ने थिएन,’ उनी भन्छिन्, ‘अहिले मेलम्ची आएपछि खाली भएको इनार पनि भर्‍यौं ।’

साढे चार तलाको उनको घर तीन तला भाडामा छ । मेलम्ची आएपछि ट्यांकरले लिने पैसाहाराहारी खर्च नहुने भन्दै भाडावालले छ्यालब्याल पानी चलाए ।

‘पानी जति पनि आएपछि रोक्ने कुरै हुँदैन, अहिले ढुक्क छ, जति चलाउँदा पनि केही भन्दैनौं,’ शारदा खुसी हुँदै भन्छिन् ।

१ माघदेखि मेलम्ची पानी अहिले काठमाडौं आइरहेको छ । उनले भनेजस्तै अहिले काठमाडौंमा पानी पर्याप्तसँगै प्रयोग पनि बढिरहेको छ ।

‘पानी आउने भएपछि खाली पोखरी, सुक्खा बारी, करेसामा पनि मानिसले पानी हाल्न थालेका छन्,’ बुद्धनगरकी स्थानीय हिरादेवी पोखरेल भन्छिन् ।

उनले किनेर पानी हाल्नुपर्ने भएपछि फुङ्ग उडेका फूलका गमला, कम्पाउन्डमा रहेका बुट्यानमा पनि मानिसले पानी हाल्न थालेको बताइन् ।

फाइल तस्वीर

बागमतीमा बढ्यो पानी

सहरमा पानी खपत बढेसँगै बागमतीको बहाव पुसभन्दा बढेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड उपप्रबन्धक उमेशबाबु मरहट्टा दैनिक १७ करोड लिटर पानी आउँदा बागमतीमा धेरै बग्ने बताउँछन् ।

‘दैनिक खपत हुने पानीमध्ये ८० प्रतिशत प्रयोगपछि कुनै न कुनै माध्यमबाट बागमतीमा जाने गर्छ,’ उनी भन्छन् ।

मेलम्ची पानीबाट मात्रै दैनिक करिब १३ करोड लिटर पानी कुनै न कुनै माध्यमबाट बागमतीमा जाने मरहट्टाले जानकारी दिए ।

मेलम्ची पानी नियमित आउँदा उपभोक्ता मात्रै होइन, बागमती र पर्यावरणमा पनि फाइदा देखिएको छ ।

‘मेलम्ची पानी नियमित आएपछि अहिले जमिनबाट पानी तान्न नै कम हुन्छ । इनार, ट्युबवेल नचल्दा पानी सञ्चिति राम्रो हुन्छ,’ मरहट्टा भन्छन्, ‘पानी पर्याप्तता धेरै भएपछि खाली पोखरी, इनार भरिन्छ जसले जमिनमा रिचार्ज हुन्छ ।’

उनका अनुसार शिवपुरीसहित खानेपानीका अन्य स्रोत प्रयोग नगर्दा ती स्रोतका पानी विभिन्न खोला, खोल्सीबाट बागमतीमै मिसिन्छ । यसले स्वतः बागमतीको बहाब बढाउने छ ।

मरहट्टाले भनेजस्तै हिउँदमा सुक्खा बन्ने काठमाडौं र सुकेर सानो बन्ने बागमतीको बहाब मेलम्ची पानीले केही बढेको छ ।

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति प्रवक्ता वीरेन्द्र थपलिया मेलम्ची पानीले रित्तो खोला चलायमान बनाएको बताउँछन् ।

‘सफा पानी नआए पनि खोलामा पानी थपिँदा हिउँदमा बागमती अलि चलायमान हुन्छ,’ थपलिया भन्छन्, ‘फेरि, जमिनमुनिको पानी सञ्चिति भयो भने बागमतीका मुहान रसिला हुन्छन् । यसले सफा पानी बागमतीमा आउन योगदान दिन्छ ।’

बागमतीलाई पुनर्जीवन दिन काम गरिरहेको भन्दै थपलियाले काठमाडौंका बासिन्दाले मेलम्ची पानी आएका बेला जमिन रिचार्ज गर्न काम गर्नुपर्ने बताए ।

बागमतीलाई मिल्यो राहत

मेलम्ची पानी आएपछि बागमतीमा थोरै भए पनि गति देखिएको नेपाल नदी संरक्षण संस्था अध्यक्ष मेघ आले बताउँछन् ।

पानी उपभोक्ताले गतिविधि बढाउँदा र जमिन रिचार्ज हुँदा बागमती नदीलाई राहत हुने उनको तर्क छ ।

‘ढलको लेदो बगिरहेको बागमतीमा अब पानी देखिन्छ । यसले बिस्तारै बागमतीमा पानी बढ्दा हुने अन्य जैविक विविधतामा योगदान दिन्छ,’ आलेले भने ।

बागमतीको मुख्य स्रोत शिवपुरीबाट वर्षौंदेखि पानी ट्यांकीमा जम्मा गरेर पाइपबाट घर–घर आउँदा बागमतीमा ढल मात्रै देखिएको उनको भनाइ छ ।

अब सिधै मुहानबाट नै बागमतीमा पानी बग्न सक्दा धेरै सुधार हुने उनी बताउँछन् ।

‘मेलम्ची पानीले भूगर्भमा रहेको सञ्चिति दोहन रोक्छ र केही न केही रिचार्ज गर्छ,’ आले भन्छन्, ‘यसले बन्द भएका ढुंगेधारा, इनारमा पानी पनि आउने देखिन्छ, तर मेलम्ची पानी नियमित आउनुपर्छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?