
काठमाडौं । चर्चित अमेरिकी ट्याटु कलाकार डिलन फोर्ट ट्याटु चित्र बनाउन नेपाल आउने भएका छन् । अप्रिल ५ देखि ७ सम्म काठमाडौंमा आयोजना हुने ११ औं अन्तर्राष्ट्रिय नेपाल ट्याटु सम्मेलनमा उनको सहभागिता हुने भएको छ ।
ट्याटु कलाकार र उद्यमी समेत रहेका फोर्टले २०२४ को सुरुवातका लागि आफ्नो पहिलो दुई सम्मेलनमा उपस्थितिको घोषणा गरेका छन् । जसमा नेपालमा समेत उनको ‘लाइनअप’ छ । उनको यस वर्षको पहिलो कार्यक्रम नेपालमा हुनेछ ।
काठमाडौंमा हुने यो ट्याटु सम्मेलनलाई दक्षिण एसियाकै ठूलोमध्येको ट्याटु जमघट मानिन्छ । सम्मेलनको आयोजक नेपाल ट्याटु प्रालिले पनि ११ औं संस्करणको कार्यक्रम रुपरेखा सार्वजनिक गरेको छ ।
ट्याटु बनाउने कलालाई बढावा दिन, प्रतिभाशाली कलाकारलाई प्रवर्द्धन गर्न र सिर्जनाकर्ता, संकलनकर्ताबीच सौहार्द्धता बढाउन यो सम्मेलन प्रभावकारी हुने बताइएको छ । उक्त सम्मेलनमा फोर्टसँगै अन्य अन्तर्राष्ट्रिय ट्याटु कलाकारको समेत सहभागिता हुने जनाइएको छ ।
‘यो सम्मेलनमा ट्याटु चित्र कोर्न, पुराना र नयाँ साथीलाई देख्ने अवसर पाउँदा म निकै उत्साहित छु । मलाई पहिलोपटक ट्याटु खोप्ने मौका दिन लाग्नुभएकोमा सबै भगवानका सन्तानहरुलाई धन्यवाद,’ फोर्टले नेपाल कार्यक्रमबारे भनेका छन्, ‘मसीको विश्वव्यापी भाषा मनाउने क्रममा यी विविध संस्कृतिमा आफूलाई मुग्ध तुल्याउने विचार अपार आनन्द र अन्तरदृष्टिको स्रोत हो । यस्ता सम्मेलनले संसारका प्रतिभाशाली कलाकारसँग जोड्ने, विचार र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्छ ।’
फोर्ट यसअघि नेपाल घुम्नका लागि तीनपटक आइसकेका छन् । ‘नेपालको ऊर्जा र वातावरणले आफूलाई थप रचनात्मक र आध्यात्मिक बन्ने प्रेरणा दिन्छ,’ गत वर्ष अनलाइनखबरको अंग्रेजी संस्करणसँगको अन्तर्वार्तामा उनले भनेका थिए । फोर्टले यसअघि हलिउड स्टार क्रिस हेम्सवर्थ र गायक असरलाई ट्याटु खोपिसकेका छन् ।
सन् २०२४ मा नेपालबाहेक उनको अर्को कार्यक्रम जर्मनीमा तय भएको छ ।
प्रतिक्रिया 4