+
+
बरथवा घटना :

हवल्दारले सेन्ट्रीको राइफल लिएर गोली चलाएको भेटिएपछि बर्खास्तीको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १८:०४
सर्लाहीको बरहथवामा भएको प्रदर्शन ।

८ माघ, काठमाडौं । सर्लाहीको बरथवा नगरपालिका–५ मा प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको घटनामा गोली चलाउने प्रहरी अधिकारी बर्खास्तीमा पर्ने भएका छन् ।

छानबिनमा क्रममा अनावश्यक बल प्रयोग गरेको पाइएपछि इलाका प्रहरी कार्यालय, बरथवाका वरिष्ठ हवल्दार सोनेलाल यादवलाई बर्खास्त गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको समितिले पनि उनलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । २० पुसमा अस्पताल स्थापनाको विषयमा विवाद हुँदा बरथवा नगरपालिका–६ का जयशंकर साह मारिएका थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार, घटनालगत्तै हवल्दार यादवलाई निलम्बन गरेर छानबिन गर्न भनिएको थियो । यद्यपि, उनलाई जिल्ला प्रहरी कार्यालयमा तानेर राखिएको थियो ।

भिड नियन्त्रणमा खट्ने प्रहरीको मनोबल गिर्ने भन्दै कारबाही गर्न प्रहरी हच्किएको थियो । तर, सहसचिव गौतम नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनका क्रममा समेत अनावश्यक रुपमा वरिष्ठ हवल्दार यादवले बल प्रयोग गरेको भेटिएपछि बर्खास्तीका लागि सिफारिस गरिएको हो ।

छानबिन समितिका एक सदस्यका अनुसार, जुन ठाउँमा गोली लागेर साहको मृत्यु भएको छ, त्यहाँ गोली चलाउनुपर्ने स्थिति नै देखिएको छैन । अझ साह इलाका प्रहरी कार्यालय वरथवामा हवल्दार मेजरको रुपमा कार्यरत थिए, जसको जिम्मेवारी हवल्दार र जवानहरुलाई अह्रनखटन गर्नु हुन्थ्यो ।

तर, घटना भएका दिन इलाका प्रहरी कार्यालय, बरथवामा रहेका साह कार्यालयबाहिर गेटमा सुरक्षार्थ खटिएका सेन्ट्रीको एसएलआर (सेल्फ लोडेड राइफल) लिएर बाटोमा निस्किएको पाइएको छानबिन समितिका एक सदस्य बताउँछन् ।

हवल्दार साहले भने आफ्नो हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको स्पष्टीकरण दिएका थिए । तर, छानबिन समितिले संकलन गरेको त्यसदिनको भिडियो फुटेजहरुमा त्यस्तो परिस्थिति नदेखिएको छानबिनमा संलग्न अधिकृतहरु बताउँछन् ।

समिति स्रोतका अनुसार, त्यसक्रममा धेरै मान्छे नभएको स्थानमा साहलाई गोली लागेको देखिएको छ । हवल्दार साहले चलाएको गोली उनको टाउकोमा लागेको मेडिकल जाँचबाट देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी प्रविण धितालले मृतक साहलाई एउटा गोली लागेको देखिएको अनलाइनखबरलाई बताएका छन् ।

वडा नम्बर ६ का वडाध्यक्ष मोहम्मद अफताब आलमले बताएअनुसार, जयशंकर प्रदर्शनमा सहभागी समेत थिएनन् । महसुल तिर्न मोटरसाइकल चढेर विद्युत कार्यालय नजिकै पुगेका थिए, त्यही बेला प्रहरीले चलाएको गोली लागेर उनी सडकमै ढलेका थिए ।

सर्लाही प्रहरी प्रमुख एसपी धितालले छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालय, नक्सालबाट आउने पत्रअनुसार कारबाही यसमा संलग्नमाथि कारबाही हुने बताए ।

‘अहिलेसम्म पत्र आइसकेको छैन, पत्र आएपछि त्यही अनुसार कार्यान्वयन गर्छौं’, उनले भने । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले त्यसबारे घटनामा गोली चलाउन आदेश नदिएको दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?