+
+

सहुलियत दिँदा पनि बिकेन कम्पोस्ट बिन, महानगरले फेरि निकाल्यो सूचना

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १८:५९

८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर वर्गीकरणका लागि भन्दै सहुलियतमा बाँडिरहेको कम्पोस्ट बिन खरिदमा महानगरका स्थानीय अनिच्छुक देखिएका छन्  ।

४ हजार रुपैयाँ पर्ने कम्पोस्ट बिन १ हजार ५ सय रुपैयाँमा बिक्री गर्न खोज्दा पनि अपेक्षित बिक्री नभएको महानगरले जनाएको छ ।

२२ साउनमा महानगरपालिकाले कुहिने फोहोरलाई घरमै मल बनाउन मिल्ने कम्पोस्ट बिन बाँड्ने जनाएको थियो । वातावरण विभाग टेकुबाट बाँड्ने भन्दै महानगरले ५ हजार थान कम्पोस्ट बिन किनेको थियो ।

विभागीय प्रमुख रवीनमान श्रेष्ठले ५ हजारमध्ये करिब १ हजारको संख्यामा मात्रै बिक्री भएको सुनाए । ‘धेरै जनालाई जानकारी पनि नभएर हुन सक्छ, सोचे अनुसार बिक्री भएन,’ उनले भने ।

महानगरले दिने छुट र कम्पोस्ट बिन प्रयोग गर्दा हुने फोहोर वर्गीकरणबारेमा फेरि सूचना जारी गरिएको उनले बताए ।

फेरि निकाल्यो सूचना

कम्पोस्ट बिनको बिक्री राम्रो नभएपछि काठमाडौं महानगरपालिको सोमबार पुनः सूचना निकालेको छ ।

कुहिने फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी घरमा कम्पोष्ट मल बनाइ फोहोर न्यूनीकरण गर्ने भन्दै सहुलियत दरमा बिन किन्न महानगरबासीलाई आग्रह गरेको छ । महानगरले टेकुस्थित वातावारण विभागबाट बिन बाँडिरहेको छ ।

वर्गीकरणमा असफल

काठमाडौं महानगरपालिकाले १ साउन २०७९ मा पनि फोहोर वर्गीकरणबारे सूचना निकालेको थियो । तर, ४ महिनासम्म फोहोर वर्गीकरण गर्न सकेको थिएन ।

स्रोतमै फोहोर वर्गीकरण योजना असफल भएपछि महानगरले पर्याप्त तयारी नपुगेको स्वीकार गरेको थियो ।

त्यसपछि कुहिने फोहोरलाई ल्यान्डफिल्ड साइट बञ्चरेडाँडा नलैजाने भन्दै फोहोर वर्गीकरण गरेर कम्पोस्ट मल बनाउने योजना बनाएको थियो ।

उक्त योजना अनुसार नै महानगरले बिन बाँड्ने प्रचार गरेको थियो तर, महानगरवासीले नकिनिदिँदा उक्त योजना सफल हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?