
८ माघ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि बाराको विकासले छलाङ मार्ने बताएका छन् ।
सोमबार बाराको महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै अर्थमन्त्री महतले द्रुतमार्ग बनेपछि काठमाडौं र बाराको दुरी ४५ मिनेटमा झर्ने दाबी गरे ।
‘तराईसँग काठमाडौं जोड्ने द्रुतमार्ग पनि निर्माण हुँदैछ । यो मार्ग छिटो सम्पन्न गर्नुपर्छ भनेर सरकारले खबरदारी गरिरहेको छ । यो मार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं–बाराको दुरी ४५ मिनेटमा झार्नेछ,’ मन्त्री डा. महतले भने ।
बारामा अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्ने तयारीमा रहेको र विविध कारणले यो ढिलाइ भएको उनले बताए । यसबारे भारत लगायत अन्य विभिन्न लगानीकर्तासँग कुराकानी भइरहेको उनले दाबी गरे ।
‘द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल बारामा निर्माण भएपछि बाराको आर्थिक विकासले छलाङ मार्छ,’ उनले भने । यसबाट यहाँका जनताको जीवनस्तर माथि उकास्ने उनको भनाइ छ ।
भारतसँग निकासी र पैठारी गर्ने नाका भएन भन्ने बाराबासीको गुनासो रहेको भन्दै उनले यसलाई सम्बोधन गर्न तीनवटा नाका निरीक्षण र अध्ययन गरिएको उनले बताए ।
‘नाका खोल्न हामीले मात्र ल्याउने र दिने भनेर हुँदैन, दुवै देशको सहमति र साझेदार चाहिन्छ । दुवैतिर पूर्वाधार हुनुपर्छ । एउटा ठूलै नाका बारामा होस् भन्ने सरकारको चाहना हो,’ उनले भने ।
प्रतिक्रिया 4