
९ माघ, काठमाडौं । सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश घुम्न जाँदा बिचौलियालाई अतिरिक्त शुल्क नर्तिन आग्रह गरेको छ ।
आफन्तलाई भेट्ने वा पर्यटकको रुपमा घुम्ने उद्देश्य लिई विदेश जाने नेपालीहरुका लागि यात्रा परामर्श सम्बन्धी सूचना जारी गर्दै सरकारले यस्तो आग्रह गरेको हो ।
सरकारले जारी गरेको यात्रा परामपर्श सम्बन्धी सूचनामा आफन्तलाई भेट्न जाने प्रयोजनका लागि विदेश जाँदा सेटिङका नाममा बिचौलियाहरुलाई थप शुल्क वा दस्तुर नबुझाउन भनिएको छ ।
त्यस्तै भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य भएको बताउँदै उक्त भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्न समेत आग्रह गरिएको छ ।
भिजिट वा पर्यटक भिसामा नक्कली कागजात पेश गर्ने, झुट्टा विवरण तयार गर्ने, एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरुसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा भर्ना गर्ने जस्ता गतिविधिहरु गराउने कार्य बढेको भन्दै सजक हुन यात्रा परामर्श सम्बन्धी सूचनामा भनिएको छ ।
त्यस्तै कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराइन जस्ता देशहरुमा बिचौलियाहरुको प्रभावमा पारेर महिलाहरुलाई भिजिट वा पर्यटक भिसामा पुर्याोएर वर्किङ भिसामा परिणत गराउने कार्य गैर कानुन भएको भन्दै त्यसतर्फ सचेत हुन भनिएको छ ।
महिलाहरुलाई विभिन्न प्रलोभनमा देखाएर ठगी गर्ने, असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएकोभन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने जस्ता जोखिम बढेको, सामाजिक सुरक्षाबाट बञ्चित हुनुपर्ने जस्ता सम्भावना रहेकोले भिजिट भिसामा नजान परामर्श पत्रमार्फत सरकारले आग्रह गरेको हो ।
यस्तो छ परामर्श पत्र :
प्रतिक्रिया 4