
१० माघ, पोखरा । मंगलबार ११ बजे बोलाएर १ बजे सुरु भएको नेपाली कांग्रेसको कास्की जिल्ला सम्मेलन दिनभर पट्यारलाग्दो र राति ठिट लाग्दो अवस्थामा पुगेर सकिएको छ ।
करिब २२ सय प्रतिनिधि चयन भए पनि सम्मेलन सकिने बेलामा राति ७ बजेतिर जम्मा ५० जना पनि उपस्थित थिएनन् । सम्मेलनमा क्षेत्रीय सभापति दिनेश आचार्यदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्म २२ जनाले भाषण सक्दा बेलुका ६ बजिसकेको थियो ।
सभापति किशोरदत्त बरालले राजनीतिक प्रतिवेदन, सचिव देवेन्द्र रानाभाटले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष माइकल कर्माचार्यका तर्फबाट शंकर ढुंगानाले आर्थिक प्रतिवेदन उद्घाटन सत्रमै प्रस्तुत गरेका थिए । बन्द सत्रमा ती प्रतिवेदनमाथि छलफल गर्ने भनिएको थियो ।
तर उद्घाटन सत्र सकिएपछि राति ७ बजे सुरु भएको बन्द सत्रमा ५० जना प्रतिनिधि पनि उपस्थित थिएनन् । त्यही बन्द सत्रमा पनि सभापति किशोरदत्त बरालकै राजीनामाको माग भयो ।
६ महिनादेखि कोरम नपुगेर जिल्ला समितिको बैठक बस्न नसकेको र सभापतिले स्वेच्छाचारी हुँदै मनगणन्ते राजनीतिक प्रतिवेदन ल्याएको भन्दै जिल्ला कार्यसमिति सदस्य खेम गुरुङले बरालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे ।
‘६ महिनादेखि बैठक बस्न सकेको छैन, बैठकले पारित गरेर मात्र प्रतिवेदन सम्मेलनमा राख्ने हो । ५० जना प्रतिनिधि सहभागी नहुँदा पनि बन्द सत्र हुन्छ’, गुरुङले भने, ‘सभापतिले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’
सम्मेलन एक दिनमै सक्छु भनेर प्रतिनिधि बोलाएको र दिनभर नेताको पट्यारलाग्दो भाषण सनाउँदा धेरै प्रतिनिधि घरतिर फर्केको गुरुङले बताए । उपस्थित अधिकांशले प्रतिनिधि फर्किसकेकाले अर्को दिन बन्द सत्र राख्न माग राख्दा सभापति बरालले केही प्रतिनिधिलाई बोल्न दिएर टुंग्याइदिएको गुरुङको भनाइ छ ।
प्रतिनिधिहरु खेम गुरुङ, गोविन्द नेपाली, राजबहादुर गुरुङ, सरोज केसीलगायतले बन्दसत्र अर्को दिनलाई सार्न माग गरेका थिए ।
तर रित्ता कुर्चीहरुकै माझ उद्घाटन सत्रकै ब्यानरमा बन्द सत्र सकिएको घोषणा गरिएको थियो ।
जिल्ला सभापति किशोरदत्त बरालले प्रतिवेदनहरु पुनर्लेखन गर्ने गरी बन्द सत्र सकिएको बताए । उद्घाटन सत्रमा उपस्थित भएका प्रतिनिधिलाई आधिकारिक मानिने भएकाले सम्मेलनमा बैधानिकताको प्रश्न नउठ्ने जिकिर गरे । ‘उद्घाटन सत्रका प्रतिनिधिलाई आधिकारिक मान्ने हो । आउने–जाने चलिरहेको थियो’, बरालले भने, ‘प्रतिवेदन पुनर्लेखन गर्ने गरी बन्द सत्र सकिएको छ ।’
सम्मेलनको भद्रगोल व्यवस्थापनबारे सभापति बरालले भने, ‘विरोध हुन्छ, छलफल हुन्छ, मासबेस पार्टी हो, यस्तो त भइहाल्छ नि ।’
सचिव देवेन्द्र रानाभाटले भने चिसो मौसम र धेरै ढिला भएकाले प्रतिवेदन पारित गरी बन्द सत्र सकिएको बताए । ‘जिल्लादेखि प्रदेशका सांसद, केन्द्रीय सदस्यसम्मलाई बोल्न दिनैपर्यो । सबैले लामो लामो भाषण गर्दा कार्यक्रम पट्यार लाग्दो भएर प्रतिनिधि हिँडेको पक्कै हो’, उनले भने ।
क्षेत्रीय प्रतिनिधि राजबहादुर गुरुङले दिनभरको पट्यारलाग्दो कार्यक्रम राति टिठ लाग्दो भएर सकिएको बताए । ‘कास्कीमा २० हजारभन्दा बढी क्रियाशील सदस्य छन् । जसमा २१५७ जना प्रतिनिधि छौं । सम्मेलनमा आधिकारिक मान्छे हामी हौं । ५१ प्रतिशत प्रतिनिधिले सभापति, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गर्नुपर्छ’, सम्मेलनका प्रतिनिधि सरोज केसीले भने, ‘उद्घाटन सत्रमै बहुमत पुग्दैनथो । त्यो बन्द सत्र नै भएन ।’
सभापति बरालको राजनीतिक प्रस्ताव व्यवस्था विरोधी भन्दै विरोध भएको थियो । सम्मेलन उद्घाटन सत्रको सुरुमै राजनीतिक प्रतिवेदन पेश गरेका सभापति बरालले क्रियाशील सदस्यता खारेज गर्नेदेखि संघीयताको औचित्यमाथि प्रश्न गरेका थिए । बरालले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने, हिन्दु धर्मलाई समृद्धिसँग जोड्नुपर्नेसम्म प्रस्ताव राखेका थिए ।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि हिन्दु सनातन राष्ट्र बनाउनुपर्ने, संघीयताबारे पुनर्विचार गर्नुपर्ने धारणा सम्मेलनमा राखेका थिए ।
सहमहामन्त्री जीवन परियारले राजनीतिक प्रतिवेदनले समावेसी, समानुपातिक प्रणाली खारेज गर्ने प्रस्ताव राखेकामा असन्तुष्टि जनाएका थिए ।
कार्यक्रममा जिल्लादेखि केन्द्रसम्मका नेताहरु भाषण गर्ने र कार्यक्रमबाट हिँड्ने गरिरहेका थिए ।
राष्ट्रिय सभा र गण्डकी प्रदेशको मन्त्रिपरिषदमा कास्कीका नेताहरु छुटाइएको, गुटबन्दीले कास्की कांग्रेस भद्रगोल बनेको जस्ता विषयहरु वक्ताहरुले राखेका थिए । जिल्ला उपसभापति युवराज कुँवर, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल, गोविन्द भट्टराई, सहमहामन्त्री जीवन परियार लगायतले नेतृत्वमाथि प्रश्न उठाउँदै चर्को गुटबन्दीले इमान्दार कार्यकर्तालाई अन्याय भएको बताए ।
उनीहरुले चुनावमा पार्टीले गठबन्धन गर्नु गल्ती भएको बताउँदा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्य अर्जुन जोशी, तरुण दल सभापति विद्वान गुरुङ, प्रदेशसभा सदस्य विन्दुकुमार थापा, सरस्वती गुरुङलगायतले सभापति देउवाको बचाउ गरे ।
सभापति देउवा भने दिनभर नेताहरुको भाषण सुनिरहे । नेताहरु भाषण गर्दै हिँड्दै गरे पनि देउवाले भने भाषण सुन्दै ठट्टा गरिरहेका थिए । संविधान संशोधनकै राजनीतिक प्रतिवेदन, नेताहरुकै संघीयता, समावेशिताविरोधी आवाज उठे पनि देउवा भने सहनशील र स्पष्ट देखिए । संघीयता, समावेशीता, समानुपातिक प्रणालीका विषयमा देउवाले प्रष्ट विचार राखे ।
देउवाले यो देश सबैको भएको बताउँदै समावेशी, समानुपातिक संविधान उपयुक्त भएको बताए । पालिकामा पनि समावेशी गराउनकै लागि अध्यक्ष वा उपाध्यक्ष, मेयर वा उपमेयर हुनैपर्ने व्यवस्था राखिएको र संसारमा कहीँ पनि यस्तो नभएको देउवाको भनाइ थियो ।
धेरै नेताहरु गठबन्धनको विपक्षमा देखिँदा अहिलेको संविधानअनुसार बहुमत कसैको नआउने भएकाले गठबन्धन गर्नैपर्ने देउवाले दाबी गरे । पार्टीलाई गठबन्धन गर्नै नपर्ने गरी बलियो बनाउन देउवाले कार्यकर्तालाई निर्देशन दिए ।
धेरै नेताहरुका भाषण सुनेपछि देउवाले बोलेर कोही पनि बाठो नहुने र जनताको मन जित्नुपर्ने बताएका थिए ।
देउवाले भाषण सकेर हिँडेसँगै अधिकांश प्रतिनिधि पनि हिँडेका थिए । दिनभर कार्यक्रम गरेर जनताको समय खर्च गराएर प्रतिनिधिलाई निराश बनाएर फर्काइएको प्रतिनिधि अरुण कायस्थले बताए ।
प्रतिक्रिया 4