छालाको क्यान्सरबाट हुने तीनमध्ये एक जनाको मृत्यु सूर्यको प्रकाशको कारणले हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकले यही भन्छ ।
डब्लुएचओका अनुसार सूर्यबाट आउने परावैजनी किरणमा छालामा क्यान्सर गराउन सक्ने तत्व हुन्छ । त्यही किरणको निरन्तर सम्पर्कमा रहेपछि छालाको तन्तुमा रहने कोषिकाहरु असामान्य रुपमा बढ्न थाल्छन् । यसले नयाँ कोष बन्ने र मर्ने प्रक्रियामा बाधा पुर्याउँछ । फलत: त्यो क्यान्सरको रुपमा परिणत हुन्छ ।
सूर्यको किरणमा के हुन्छ ?
सूर्यको प्रकाशमा आँखाले देख्न सकिने र नसकिने परावैजनी किरण हुन्छ, जुन तीन भागमा बाँडिन्छ । यूभीसी, यूभीए र यूभीबी । यीमध्ये सबैभन्दा छालाको लागि खतरनाक हो, यूभीसी । यसको किरण जमिनसम्म पुग्नुअघि नै हावाको तहमा अवशोषित भइसकेको हुन्छ । जसकारण छालामा कुनै प्रभाव पार्न पाउँदैन ।
यूभीए किरण छालालाई डढाउने, चाउरीपन ल्याउने, सुक्खा पार्ने र क्यान्सर समेत गराउन सक्छ । यता यूभीबी एक मात्र यस्तो किरण हो जसले भिटामिन डी उत्तेजित गरी शरीरलाई फाइदा पुर्याउँछ ।
यूभीए किरणले कसरी क्यान्सर गराउँछ ?
धेरै समय घाममा रहँदा यूभीए किरणले छालाको कोषिकामा रहने डीएनएलाई क्षति गर्छ । जसकारण डीएनएले काम गर्न सक्दैन । र, अनियन्त्रित रुपमा असामान्य किसिमको कोषहरु बढ्न थाल्छन् । ती असामान्य किसिमको कोषहरु तीव्र रुपमा विभाजन हुँदै स्वरुप परिवर्तन गर्छन् । अनि क्यान्सरको कोषमा परिणत हुन्छन् । यो नै छाला क्यान्सर गराउने पहिलो र मुख्य कारण हो ।
कसलाई बढी जोखिम ?
वंशाणुगत कारणले पनि छालाको क्यान्सर गराउन सक्छ । यदि परिवारमा कसैलाई पहिले नै छालाको क्यान्सर भएको इतिहास छ भने तिनीहरू एकछिन घाममा बस्ने गर्दा पनि क्यान्सरको जोखिम बढ्छ ।
आफैंलाई वा परिवारमा कसैलाई छालाको क्यान्सर भइसकेको छ भने फेरि पनि त्यही ठाउँमा क्यान्सर हुने सम्भावना हुने हुँदा बेला बेखत छालारोग विशेषज्ञलाई देखाउनुपर्छ ।
साथै, छालामा हानि गर्ने केमिकलको प्रयोग दिनहुँजसो भएमा पनि छालाको क्यान्सरको जोखिम बढी हुन्छ ।
त्यसो भए कुन समय घाम ताप्ने ?
घाम मान्छेको लागि महत्वपूर्ण छ । जब घामको प्रकाशले मानिसको छालामा स्पर्श गर्छ, तब शरीरले भिटामिन डी प्राप्त गर्छ । भिटामिन डीले हड्डीलाई स्वस्थ राखी यसको विकासमा पनि मद्दत गर्छ । साथै कतिपय हार्मोन सन्तुलन राख्न पनि घामको किरण जरुरी हुन्छ ।
सूर्यको किरणमध्येबाट निस्किने ‘यूभीबी’ प्राप्तिका लागि बिहान र साँझको समय उपयुक्त हुन्छ । यो समय मधुर घाम हुन्छ । त्यसकारण बिहानपख (९ बजेअघि)को घाम र सूर्यास्त हुँदै गर्दा (४ बजेपछि)को घाम ताप्न सकिन्छ । तर घाममा कति समय बस्ने भन्ने कुरा यसै भन्न सकिन्न । किनकि व्यक्तिको छाला फरक-फरक हुन्छ ।
कुन अवस्थामा घाम हानिकारक ?
बिहानको १० देखि दिउँसो ४ बजेसम्मको घाममा हानिकारक मानिन्छ । यो समयमा घाममा अत्यधिक मात्रामा परावैजनी किरण हुन्छ, जसले गर्दा घाममा छाला देखिने गरी नबस्नु नै उपयुक्त हुन्छ । विशेषगरी बच्चाहरुको छाला कलिलो हुने हुँदा दिउँसोको चर्को घाममा राख्नहुँदैन ।
छाला क्यान्सर पनि विभिन्न प्रकारका छन् । यसको प्रकार अनुसार लक्षण फरक-फरक हुन सक्छन् ।
बेसल सेल क्यान्सर
छालाको क्यान्सरमध्ये सबैभन्दा बढी देखिने बेसल सेल क्यान्सर हो । यो नेपालमा सबैभन्दा धेरै देखिने छाला क्यान्सर हो । यसमा घामका हानिकारक किरण धेरै पर्ने स्थानहरु जस्तै- अनुहार, कान, हात, पाखुरा, र छातीमा असर गर्छ ।
छुट्टी मनाउन घाममा समुन्द्री तट जस्ता क्षेत्रमा लामो समयसम्म रहँदा यो क्यान्सरको जोखिम हुने भएकाले यसलाई ‘होलिडे एक्सपोजर क्यान्सर’ पनि भनिन्छ । किनकि धेरैजसो मानिस समुन्द्री तटको भ्रमणपछि छालामा परिवर्तन आएको समस्या लिएर अस्पताल धाउने गर्छन् ।
लक्षण
घामका हानिकारक किरण धेरै पर्ने स्थानमा रातो, कालो रङको गिर्खा वा मोती जस्तै चम्किलो, रगतको नली भएको ठाउँमा गिर्खा आउने, घाउ भइराख्ने, रगत बग्ने, दाग बस्ने, कत्ला निस्किराख्ने र आकार बढ्दै जाने हुन्छ । उपचार गर्दा पनि ती गिर्खा, घाउ र दागहरु ठीक हुँदैनन् । यो क्यान्सर बिस्तारै बढ्छ र अन्य भागमा फैलिन्छ ।
स्क्वेमस सेल क्यान्सर
यो क्यान्सर छालाको माथिल्लो तहको कोषिकामा हुन्छ । यो पनि घाममा बस्नेलाई बढी हुन्छ । त्यति मात्र होइन, गोरो छाला हुनेहरु यसको जोखिममा धेरै पर्छन् । गोरो छाला बढी संवेदनशील हुने र तिनीहरूमा सूर्यको प्रभाव बढी हुँदा कोष प्रभावित हुनसक्छ । यो क्यान्सर अन्य प्रकार भन्दा गम्भीर हुन्छ ।
लक्षण
घामका हानिकारक किरण पर्ने स्थानहरु जस्तै अनुहार, ओठ, कान, हात तथा खुट्टामा सुरुवाती लक्षणमा बिमिरा आउने गर्छ । बिमिरा बिस्तारै कत्ला र पाप्रा भएका घाउमा परिणत हुने, मुसा जस्ता खस्रो गिर्खा आई बढेर त्यस अंगलाई खराब पार्दै लैजान्छ । घाउ (अल्सर) फैलिंदै जानु, चिलाउनु, पोल्नु, हड्डी, मासु र नसाहरुमा पुग्नु, अनुहार विरुप बनाउनु र छालामा लामो समयसम्म घाउ भएका ठाउँमा खाल्डो भई निको नहुने ठूलो घाउमा परिणत हुन्छन् ।
मेलानोमा
मेलोनासाइट (छालामा हुने कोष)ले मेलानिन उत्पादन गर्छ । जसले छालालाई रङ दिने र सूर्यको हानिकारक किरणबाट बचाउँछ । मेलोनासाइट कोषमा सूर्यको परावैजनी किरण वा वंशाणुगत कारणले मेलानोसाइट कोष अनियन्त्रित रुपमा वृद्धि भई क्यान्सर हुनसक्छ ।
मेलानोमा शरीरको कुनै पनि भागमा आउनसक्छ । र, माथि उल्लेखित घामका विकिरण नपर्ने ठाउँमा पनि मेलानोमा आउनसक्ने हुँदा र यो क्यान्सर धेरै फैलिएर मस्तिष्कमा, आँखामा र फोक्सोमा पुग्यो भने ज्यान नै जोखिममा हुनसक्छ ।
लक्षण
प्रभावित भागको छाला सामान्य छालाको रङसँग नमिल्ने, छालाको रङ थरीथरीको देखिने, चिलाउने, सुक्खा भइराख्ने, कोठी जस्ता देखिने दागहरुका आकारप्रकार परिवर्तन हुने, एउटै कोठीको रङमा पनि भिन्नता देखा पर्ने, कोठी बढ्दै जाने, कोठीबाट रगत बग्ने, चिलाउने, पोल्ने र दुख्ने हुन्छ । त्यसो भएमा चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।
छालामा क्यान्सरको लक्षण हेरेर पत्ता लगाउन सकिन्छ । यसको तीन विधि छन् ।
-आफ्नो शरीरलाई तलदेखि माथिसम्म, अगाडि–पछाडि, दायाँ–बायाँ सबैतिर, ठूलो ऐनामा हेर्नुपर्छ । यसरी हेर्दा शरीरमा शंकास्पद दागहरु पाइएमा जाँच गर्नुपर्छ ।
-आफ्नो खुट्टाको पछाडि भागमा, पैतालामा, औंलाको बीचमा आफैंले बेला बेलामा हेर्ने र लामो समयसम्म घाउ भइराखेमा, कालो दाग आएमा, दाग बढ्दै चिलाउने र रगत बग्ने भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।
-ऐना हेरी आफ्नो घाँटीको पछाडिपट्टिको भाग, तालु र ढाडमा बेलाबेला आफैंले छाम्ने, आकारप्रकार याद गरिराख्ने र समयसँगै घाउ, दागको आकार परिवर्तन हुने भएमा पनि जोखिम मान्नुपर्छ ।
चिकित्सकले लक्षणको आधारमा बायोस्पी गरेर क्यान्सर पत्ता लगाउँछन् ।
छिटो पत्ता लागे निको हुन्छ
छालाका क्यान्सरलाई सकेसम्म छिटो पत्ता लगाई फैलिन नदिई उपचार गरेमा क्यान्सरलाई निर्मूल पार्न सकिन्छ । तर, मेलानोमा र स्क्वेमस सेल क्यान्सर अन्य अंगमा फैलिएको छ भने अवस्था जटिल बन्न सक्छ ।
उपचार कसरी हुन्छ ?
-क्यान्सर भएको छालालाई यथेष्ट किनारासहित निकालेर फालिन्छ । प्रभावित छालामा चिसोबाट सेकाउने विधि, लेजर अथवा विकिरणले सेकाएर हटाउन सकिन्छ ।
-प्रभावित छालालाई बायोप्सीको लागि पठाउनुपर्छ ।
-क्यान्सरका निम्ति बनाएका एन्टिक्यान्सर औषधि खान र लगाउन सकिन्छ ।
-यतिले पनि क्यान्सर ठीक नभए किमोथेरापीका साथै रेडियोथेरापी पनि आवश्यक पर्न सक्छ ।
छाला क्यान्सरको जोखिम कसरी कम गर्ने ?
-सकेसम्म १० देखि ५ बजेको घाममा बस्नु हुँदैन ।
-घाममा जानैपर्ने अवस्थामा तीन ग्राम (एक चिया चम्चा) सनस्क्रिनिङ छाला देखिने अनुहार गर्दन र हातखुट्टामा लगाउनुपर्छ ।
-घाम होस् वा नहोस् सनस्क्रिनिङ लगाएर मात्र बाहिर निस्कनुपर्छ ।
-परावैजनी किरणबाट बच्न चस्मा र सल लगाएर मात्र बाहिर हिंड्नुपर्छ ।
-औषधिहरुको साइड इफेक्टले पनि भविष्यमा क्यान्सरको जोखिम गराउन सक्ने हुँदा चिकित्सकको परामर्शबिना औषधि खानु हुँदैन ।
-शंकास्पद जस्ता देखिने दागहरुका लागि छालारोग विशेषज्ञको परामर्श लिनुपर्छ ।
प्रतिक्रिया 4