
काठमाडौं । २०२८ सालमा झापामा भएको ‘हत्याकाण्ड’ अर्थात् चर्चित ‘झापा विद्रोह’को नालीबेली समेटिएको उपन्यास ‘२८ साल’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित समारोहमा कुमार भट्टराईले लेखेको यो उपन्यासलाई झापा विद्रोहकै एक पात्र ठूलो दुर्गा अधिकारी, पत्रकार तथा प्राध्यापक पुरुषोत्तम दाहाल र लेखक भट्टराईले लोकार्पण गरे ।
उपन्यासकार भट्टराईले यो पुस्तक झापा विद्रोहसँग जोडिएका र पीडितका परिवारको भनाइका आधारमा लेखिएको बताए । ‘यो पुस्तक झापा विद्रोहसँग जोडिएका ३५-३६ जना पात्रहरु हुनुहुन्छ, उहाँहरुकै हो । मैले त लेखेको मात्र हुँ,’ उनले भने । सम्बन्धित व्यक्तिले आफ्ना कथा आफैं भनेकाले यो पुस्तकले झापा विद्रोहका सवालमा फैल्याइएका भ्रमहरुलाई समेत चिर्ने काम गर्ने उनको विश्वास छ । लीला लेखनअन्तर्गत रहेर लेखिएको यो आख्यानमा रहेका पात्रले आफ्ना कथा आफैं भनेका छन् ।
यसैगरी, झापा विद्रोहकै एक पात्र ठूलो दुर्गा अधिकारीले आफूले यस पुस्तकका लागि त्यस समयमा जे-जे भएको थियो तिनै कुरा इमान्दार भएर राखेको बताए । ‘हामीले के सपना देखेर त्यो विद्रोह गरेका थियौं, आज त्यो उपलब्धि हासिल भएको म मान्दिनँ । हामी जलेमा पर्दा पढ्न, बोल्न, लेख्न पाइँदैन थियो, अहिले त्यो अधिकार छ,’ उनले भने, ‘तर यति मात्र उपलब्धि झापा विद्रोहको सपना थिएन । त्यही विद्रोहका नेताहरुले नै त्यसलाई उपलब्धिविहीन बनाइदिए ।’
कार्यक्रममा पुस्तकमाथि आफ्नो धारणा राख्दै पत्रकार एवं प्राध्यापक पुरुषोत्तम दाहालले झापा काण्डको क्रूरतम विवरण यो पुस्तकमा पढ्न पाइने बताए । ‘रोचक कुरा के छ भने त्यो हत्या काण्डको विवरण लेखकले लेखेका होइनन्, हत्याकाण्डमा सामेल भएका व्यक्तिले नै भनेका हुन् ।’ पात्र स्वयंले आफ्ना कथा भनेकाले यसलाई झापा विद्रोहको आधिकारिक दस्तावेज पनि मान्न सकिने उनको भनाइ थियो । यो पुस्तकबाट झापा विद्रोहको अध्योपान्त बुझ्न सकिने दाहालले बताए ।
२०२८ सालमा राधाकृष्ण मैनाली, सीपी मैनाली, केपी शर्मा ओली लगायत तत्कालीन कम्युनिस्ट नेताहरुको अभियानमा चलाइएको झापा विद्रोहमा आठ जनाको हत्या भएको थियो । त्यसमा संलग्न विद्रोही पक्षका पाँच जनालाई सरकार पक्षले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो ।
सांग्रिला मिडिया ग्रुपले प्रकाशन गरेको उपन्यान ‘२८ साल’ को मूल्य ७७७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4