
काठमाडौं । तामाङ समुदायको कथावस्तुमा आधारित नाटक ‘मासिन्या’ बिहीबारदेखि नयाँबानेश्वर थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुँदैछ । बुद्धि तामाङ र सोनाम लामाले निर्देशन गरेको नाटकको बुधबार विशेष मञ्चन गरिएको थियो । उक्त अवसरमा साहित्य, कला, संगीत, राजनीति र सञ्चार क्षेत्रका व्यक्ति उपस्थित थिए ।
राज्यसत्ताबाटै तामाङ समुदायले उत्पीडन भोग्दै आएको विषयलाई नाटकमा प्रस्तुत गरिएको छ । आफ्नै मौलिक कला, संस्कृति र परम्परामा बाँचिरहेको तामाङ समुदाय कसरी राणाकाल र निरंकुश राज्य व्यवस्थाका कारण उत्पीडनको दलदलमा पर्यो भन्ने यथार्थलाई नाटकमार्फत देखाउन खोजेको लेखकहरुको भनाइ छ ।
नाटकलाई लक्ष्मी रुम्बा, राबत र राजु स्याङ्तानले लेखेका हुन् । आफ्नै लयमा बाँचिरहेका तामाङहरु किन गाउँ, बस्ती छोडेर हिंड्न बाध्य छन् ? कसरी चरम उत्पीडनमा परिरहेका छन् ? भन्ने नाटकमा प्रस्तुत गरिएको छ ।
‘मासिन्या’ माघ २८ गतेसम्म मञ्चन हुनेछ । ताम्सालिङ संयुक्त संघर्ष समितिले निर्माण गरेको नाटक समतामूलक समाज निर्माणको लागि एक सिर्जनात्मक विद्रोह भएको जनाएको छ । नाटकमा विष्णु मोक्तान, रोहनी लामा, शीतल थोकर तामाङ, शुलभ पाण्डे, रमिला मोक्तान, अजय लामा, सानुमाया तामाङ लगायत १५ जना कलाकारको अभिनय छ ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4