
काठमाडौं । बलिउडको एरियल–एक्सन फिल्म ‘फाइटर’ले भारतीय बक्स अफिसमा २२ करोड नेट भारुको ओपनिङ गरेको छ । शुक्रबार भारतमा गणतन्त्र दिवसको बिदा भएकाले त्यहाँ यसले पहिलो सप्ताहन्त राम्रै कमाइ गर्ने अपेक्षा छ ।
बलिउडको व्यापार ट्रयाक स्याकनिल्कका अनुसार फिल्मले उक्त कमाइ गरेको हो । रिलिजअघि नै एड्भान्स टिकट बिक्रीबाट फिल्मले ७.२१ करोड भारु कमाएको थियो । शुक्रबार, शनिबार र आइतबार भारतीय बक्स अफिसमा कलेक्सनमा अझै वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
‘फाइटर’ भारतीय वायुसेनाका अफिसरको कथा हो, जहाँ ऋतिक रोशन र दीपिका पादुकोणले शीर्ष भूमिकामा अभिनय गरेका छन् । पाकिस्तानी कट्टरपन्थीले केही भारतीय सैनिक पोस्टमा आक्रमण गरी दर्जनौंको ज्यान लिएको घटनाको बदला लिन भारतले पनि एयर–स्ट्राइकमार्फत बदला लिन्छ ।
यसअघि ‘पठान’ र ‘वार’जस्ता एक्सन फिल्म निर्देशन गरेका सिद्धार्थ आनन्दको यो फिल्मले राम्रो समीक्षा प्राप्त गरेको छ । खासगरी एरियल-एक्सन कोरियोग्राफीको प्रशंसा भएको छ ।
तर नेपालमा भने यो फिल्मले कमजोर ओपनिङ गरेको छ । शुक्रबार पनि अपेक्षाकृत अकुपेन्सी देखिएको छैन । ‘वर्ड अफ माउथ’को मद्दतमा फिल्मले पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गर्नुपर्ने हुन्छ ।
‘फाइटर’लाई यूएईबाहेकका खाडी मुलुकहरुले रिलिजमा रोक लगाएका छन् । खासगरी पाकिस्तान र मुस्लिमविरोधी कन्टेन्ट भएकाले पनि ती मुलुकले रोक लगाएको अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया 4