
काठमाडौं । २०८१ साल नेपाली फिल्मको लागि ‘चलायमान वर्ष’ हुने देखिएको छ । उक्त वर्ष ‘कबड्डी ५’ र ‘छक्कापञ्जा ५’ पनि आउनेछन् । यी दुई फिल्मको रिलिजले बक्स अफिसलाई पुनः एकपटक चम्काउने प्रक्षेपण गरिएको छ ।
आउने वर्ष रामबाबु गुरुङको बाँसुरी फिल्म्सले तीन फिल्म ल्याउनेछ । जसमा वैशाख १ गते ‘डिग्री माइला’ रिलिज हुँदैछ । त्यसपछि ‘कबड्डी ५’ र ‘सुन्दरबजार’को लाइनअप छ ।
यसलाई पुष्टि गर्दै निर्देशक तथा निर्माता रामबाबु गुरुङले अनलाइनखबरसँग भने, ‘आउने वर्ष कबड्डी ५ र सुन्दरबजार पनि लाइनअपमा छन् ।’ गुरुङले यसैसाता सोसल-ड्रामा ‘डिग्री माइला’को छायांकन सकेका छन् ।
अर्कोतर्फ, आगामी दशैंमा ‘छक्कापञ्जा ५’ ल्याउने तयारीसहित निर्माता तथा अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला गृहकार्यमा जुटेका छन् । पाँचौं श्रृंखलाको स्क्रिप्टलाई टुंगो लगाउन दीपक-दीपा शुक्रबार पोखरातिर लागेका छन् । पोखरामा कम्तीमा दुई साता बसेर स्क्रिप्टलाई आकार दिने उनीहरुको योजना छ ।
दीपाश्रीले छक्कापञ्जाको पाँचौं श्रृंखला दशैंमा आउने निश्चित भएको बताइन् । यो फिल्मलाई वैशाखदेखि छायांकन गर्ने तयारी छ । ‘कबड्डी’ र ‘छक्कापञ्जा’ सिरिजहरु सर्वाधिक कमाउनेमध्येका फिल्म हुन् ।
प्रतिक्रिया 4