+
+

ढल पाइप बीचमा ग्याप हुँदा भासियो बानेश्वर सडक (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०८० माघ १२ गते १४:३३

१२ माघ, काठमाडौं । काठमाडौंको बानेश्वरमा ह्युम (ढल) पाइपबीच अन्तर (ग्याप) हुँदा सडक भासिएको पाइएको छ ।

शुक्रबार बिहान गुडिरहेको बस एक्कासि सडकमा भासिएपछि महानगरपालिका टोलीले डोजर प्रयोग गरेर सडक खनेको थियो । सडक खन्दा बानेश्वर चोकबाट माइतीघर तर्फको सर्भिस लेनतर्फको सडकमुनि राखिएको ह्युम पाइप बीच ग्याप देखिएको हो ।

शुक्रबार रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला एक्कासि भासिएको थियो । सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको थियो ।

यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो ।

आठ लेन फराकिलो उक्त सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र २.५ मिटरकै साइकल लेन छ । दुवैतर्फ चार लेन सडकपछि दुई–दुई मिटरको हरियो बगैंचा निर्माण गरिएको छ ।

त्यतिबेला यो सडकले देशकै फराकिलो र सुन्दर सडकको रुपमा चर्चा पाएको थियो । निर्माण सम्पन्न भएको एक वर्षमै सडकका विभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठेको थियो । अहिले पनि हरेक वर्ष वर्षायाममा नयाँबानेश्वर चोकमै पानी जम्ने गरेको छ ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?