+

लगातार छैटौं जितले पुलिस फाइनल नजिक

२०८० माघ  १२ गते १४:२३ २०८० माघ १२ गते १४:२३
लगातार छैटौं जितले पुलिस फाइनल नजिक

१२ माघ काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६ विकेटले हराउँदै लगातार छैटौं जित हात पारेको छ । यो जितले पुलिस फाइनलमा पुग्न अब एक जित टाढा छ ।

जितको लागि १७२ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

पुलिसको जितमा दीलिप नाथले ६२ बलमा ६ चौका र ४ छक्कासहित ७५ रनमा नट आउट रहे । कुशल भुर्तेल २८ बलमा ३ चौका र ३ छक्कासहित ४३, अमित श्रेष्ठ १ र आरिफ शेख ९ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी २८ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली ४२.५ ओभरमा १७१ रनमा अल आउट भएको थियो । कर्णलीका निश्चल रावलले १०७ बलमा ६ चौकासहित सर्वाधिक ५० रन बनाएपनि जितको लागि पर्याप्त रहेन ।

कप्तान रविन्द्रजंग शाहीले ३५ बलमा ८ चौका र १ छक्कासहित ४० रनमा आउट भए । पुलिसलाई ओपनर रविन्द्र र निश्चलले ११.३ ओभरमा ६३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । रविन्द्रलाई स्पिनर सागर ढकालले एलबीडब्लू आउट गरे ।

त्यसपछि पुलिसका स्पिनरले लगातार विकेट लिदै खेलमा फर्काएका थिए । विपिन शाही ४, हिशान्शु शाही ८, अनुज घर्ती २३, प्रकाश जैसी ५, दीपेन्द्र रावत र दीनेश अधिकारी ३–३ रनमा आउट भए ।

दिवान पुनले ५ बलमा ३ छक्कासहित २० रनमा आउट भए । पुलिसको जितमा सागर ढकालले ९.५ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । ललित भण्डारीले ५ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर २, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए ।

पुलिस ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । कर्णाली ७ खेलमा ३ मा जित र ४ हारसहित ६ अंकका साथ सातौं स्थानमा छ ।

पुलिसले सोमबार गण्डकी, बुधबार लुम्बिनी र बिहीबार सुदूरपश्चिमसँग खेल्नेछ । बाँकी तीन मध्य एक जित फाइनल खेल्न पुलिसलाई पर्याप्त हुनेछ ।

बागमती ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । मधेशको ८ खेलमा १० अंकका साथ तेस्रो स्थानमा छ । आर्मी ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ ।

प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय